पूर्व सैनिक नै नेपाली युवालाई रूसी सेनामा पठाउन सक्रिय
गैरकानूनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने पूर्व सैनिक सहित १२ जना पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।
रूस-युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा प्रहरीले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरेको छ।
उनीहरूमध्ये विश्वकर्मा, दाहाल र अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको प्रहरीको भनाइ छ।
उनले त्योभन्दा बढी व्यक्तिलाई पठाएको हुन सक्ने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए। एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हुन्। उनले आफू पूर्व हुद्दा भएको बताएका छन्।
दाहालले भने कन्सल्टेन्सी खोलेरै युवालाई रूस पठाउने गरेकी थिइन्। उनको समूहमा पाँच जना रहेको प्रहरीले जनाएको छ।
रूसी सेनामा पूर्व सुरक्षाकर्मीको अधिक माग रहेको र कतिपय सुरक्षाकर्मी समेत जागीर छाडेर जाने तयारीमा रहेको पाइएको प्रहरीले जनाएको छ।
एसएसपी खत्री गैरकानूनी रूपमा रूस पठाउनेहरू पक्राउ पर्ने क्रम शुरू मात्रै भएको बताउँछन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो प्रारम्भिक चरण मात्रै हो, ‘बिगर पिक्चर’ आउन बाँकी नै छ।”
सुजाता दाहालको कार्यालयबाट रुस पठाउने भनेर विभिन्न व्यक्तिबाट संकलन गरिएको १४ लाख १८ हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ। त्यस्तै, रुस पठाउने भनेर संकलन गरेका विभिन्न व्यक्तिका २७ वटा राहदानी पनि प्रहरीले निर्णन्त्रणमा लिएको छ।
त्यस्तै, इश्वरी अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। उनको कार्यालयमा १६ जनाको राहदानी पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।