अवैध सुन कारोबारको आरोपमा न्यूरोडबाट सुन व्यापारी पक्राउ
नेपाल प्रहरीले काठमाडौंको न्यूरोडबाट एक जना सुन व्यापारीलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडमा अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा पदम पाण्डेलाई पक्राउ गरेको हो। कैलाली घर भएका पाण्डे काठमाडौंको नागार्जुनमा बस्दै आएका छन्।
प्रहरीले न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुन सहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए। पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको प्रवक्ता रेग्मीले जानकारी दिए।
सुन कति बरामद भएको भन्नेबारे प्रहरीले खुलाएको छैन। बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले बताए।
अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।