एनसेल प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बन्ने
सत्ता गठबन्धन दलको बैठकले एनसेलको शेयर खरीदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त शेयर खरीदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन्।
सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरीदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिंदै मन्त्री शर्माले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरूले समर्थन गरेको बताइन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत लगायत सहभागी थिए। -रासस