जसले नवराज विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाए
जिल्ला अदालत, रुकुम पश्चिमले नवराज विक सहित ६ जनाको हत्या घटनामा दोषी ठहर भएकामध्ये २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
तीन वर्ष पहिले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा पुगेका नवराज र उनका पाँच जना साथीहरूको सामूहिक हत्या भएको अदालतको ठहर छ।जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार २४ जनालाई जन्मकैद र दुई जनालाई जातीय छुवाछूतमा सजाय गर्ने फैसला गरेको हो।
त्यस्तै, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ भने जातीय छुवाछूत सम्बन्धी कसूरमा मात्रै दोषी ठहर भएको अदालतले जनाएको छ। आरोपीमध्ये आठ जनाले भने सफाइ पाएका छन्।
जन्मकैद
१. डम्बरबहादुर मल्ल
२. डिल्ली मल्ल ठकुरी
३. प्रेमबहादुर ठकुरी
४. सन्तोष मल्ल
५. मोहन पुन मगर
६. मानबहादुर मल्ल
७. टोपबहादुर मल्ल
८. सविन पुन
९. तिलक चन्द
१०. इर्द (इन्द्र)बहादुर ठकुरी
११. लिपेन्दकुमार मल्ल
१२. हर्कबहादुर मल्ल
१३. विनोद मल्ल
१४. नेत्रबहादुर मल्ल
१५. रेशमबहादुर मल्ल
१६. धनाराज राना
१७. नवीनकुमार घर्ती मगर
१८. विराज पुन मगर
१९. भीमबहादुर पुन
२०. रमित पुन मगर
२१. विष्णु मल्ल
२२. परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१
२३. परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३
२४. परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९)
सफाइ
१. तुलाराम घर्ती
२. डिल्ली घर्ती
३. लोकेन्द्र (क्यापे) घर्ती
४. सौरभ पुन
५. भीमबहादुर बुढा
६. इन्द्रबहादुर मल्ल
७. तु्लबहादुर मल्ल
८. दीपेन्द्र चन्द
यसरी भएको थियो सोतीमा सामूहिक हत्या
१० जेठ २०७७ मा जाजरकोट जिल्ला, भेरी नगरपालिका-४, राना गाउँका नवराज विक सहित १८ जना युवा रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका-८, सोती गाउँमा पुगेका थिए। वडाध्यक्ष डम्बरबहादुर मल्ल सहितको ठूलो समूहले लखेट्दै भेरी नदीको किनारमा पुर्याई कुटपिट तथा आक्रमण गरेर नवराज सहित ६ जनाको हत्या भएको अदालतले जनाएको छ।
नवराज र सोतीकी एक युवतीबीच २०७५ सालमा जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भेट भएको थियो। त्यसयता उनीहरूबीच नियमित सम्पर्क थियो।
घटना भएको दिन साँझ साढे पाँच बजेतिर नवराज आफ्नो गाउँबाट करीब दुई घण्टा ४५ मिनेट (पैदल) हिंडेर सोती गाउँ पुगेका थिए। युवतीकी आमाले नवराजलाई चिनेपछि गाली गर्न थालेकी थिइन्। त्यसपछि नवराज सहितका युवाहरू युवतीको घर नजिकबाट फर्किएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार उनीहरूले बाटोमा पर्ने बालकुमारी विश्वकर्माको घरको धारामा पानी खाए। सोही क्रममा सोतीका नाम थाहा नभएका स्थानीयले ‘कहाँबाट आयौ बाबु हो काफल खाएर जाओ’ भनी अलमल्यााएका थिए। उक्त अनुरोध बेवास्ता गरी उनीहरू सरासर बन्चरे भन्ने ठाउँमा पुगी मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा बसिरहेका वेला ५०-६० जनाको समूहमा घरेलु हतियार सहित आएका स्थानीयले नवराज र उनका साथीहरूलाई घेरा हाली एक्कासि आक्रमण गरेका थिए।
सोती गाउँका स्थानीयको आक्रमणबाट ६ जनाको ज्यान गयो। उनीहरूको शव भेरी नदीमा भेटिएको थियो। घटनाको करीब आधा घन्टापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, चौरजहारीको टोलीले १२ जना युवालाई घाइते अवस्थामा उद्धार गरेको थियो। उनीहरूमध्ये सुदीप खड्काको टाउको र छातीमा तथा अन्य सबैको शरीरका विभिन्न भागमा चोटपटक देखिन्थ्यो। पीडित पक्षले २०७७ जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दिएको थियो।
जसको हत्या भयो
१. नवराज विक, भेरी नगरपालिका-४, जाजरकोट
२. टीकाराम सुनाम, चौरजहारी नपा-१, पश्चिम रुकुम
३. सन्जु विक, भेरी नगरपालिका-४, जाजरकोट
४. गणेश विक, भेरी नगरपालिका-४, जाजरकोट
५. लोकेन्द्र सुनार, भेरी नगरपालिका-११, जाजरकोट
६. गोविन्द शाही, भेरी नगरपालिका-११, जाजरकोट