संग्रहालयमा सजिएका थारू समुदायको संस्कृति
संग्रहालय थारू समुदायको मौलिक कला, संस्कृतिको अध्ययन, अनुसन्धान र उनीहरूबारे सहजै जानकारी लिन सक्ने एउटा माध्यम बनेको छ।
दाङको तुलसीपुर बजारबाट करीब ११ किलोमिटर पश्चिम दंगीशरण गाउँपालिका-३, चखौरामा दुई-तीन वटा भुइँतले घर छन्। यी घर थारू सांस्कृतिक संग्रहालय हुन्।
संग्रहालयका भित्तामा थारू समुदायको विभिन्न नाचको तस्वीर बनाइएको छ भने भित्र नाचमा प्रयोग गरिने मादल, झ्याली लगायत वाद्यवादन राखिएका छन्।
यस्तै, आजभन्दा करीब हजार वर्षअघि थारू समुदायले प्रयोग गर्दै आएको परम्परागत गरगहनादेखि लुगा राख्ने भौका, खेतीपातीमा प्रयोग हुने हलो, जुवा, ह्याङगा, माछा मार्ने जाल, हेल्का, डेल्या, खोङग्या, खटिया, खटौली, गोल्द्रा, गुन्द्री बुन्ने विभिन्न सामग्री यहाँ सजाएर राखिएका छन्।
संग्रहालयमा बिहेका वेला बेहुलीले बेहुलाको घरसम्म पुर्याउने परम्परागत डोली, ड्वाला, चाँदी लगायत माटाले बनाएका विभिन्न मौलिक गरहगहना, पुर्खादेखि लगाउँदै आएको परम्परागत वेशभूषा, खुट्टामा लगाउने काठको चप्पल (पौवा), खाना पकाउन प्रयोग गरिएका माटाका भाँडा, काठका भाँडा, पूजापाठमा प्रयोग गरिने माटाका देवीदेवता पनि छन्।
दाङ आउने पर्यटकका लागि संग्रहालय थारू समुदायको मौलिक कला, संस्कृतिको अध्ययन, अनुसन्धान र उनीहरूबारे सहजै जानकारी लिन सक्ने एउटा माध्यम बनेको थारू संस्कृतिविद् अशोक थारू बताउँछन्।
२०७५ सालमा खुलेको संग्रहालयमा हालसम्म आठ करोड लगानी भइसकेको संग्रहालयका बजार व्यवस्थापक नरेन्द्र चौधरी बताउँछन्। उनका अनुसार संग्रहालय अवलोकन गर्न दैनिक डेढ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।