आंशिक अपांगता भएका व्यक्तिलाई स्थानीय सरकारको साथ
मकवानपुरको मनहरी गाउँपालिकाले आंशिक अपांगता भएका व्यक्तिलाई पनि भत्ता प्रदान गरेको छ।
संघीय सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत क र ख वर्गमा रहेका अपांगता भएका व्यक्तिले भत्ता पाउँदै आएका छन्। अन्य वर्गलाई अपांगता परिचयपत्र दिलाएर अपांगता भएको व्यक्ति हो भन्ने पहिचान दिए पनि जीवन निर्वाहका लागि सहायता गर्दैन।
मनहरी गाउँपालिकाले यस्ता व्यक्तिको जीवन निर्वाहमा सहायता प्रदान गर्दै भत्ता दिएको हो। गाउँपालिकाले आंशिक अपांगता भएका १३४ जनालाई परिचयपत्र र निर्वाह भत्ता रकम उपलब्ध गराएको हो।
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा गाउँपालिकाभित्र रहेका १३४ जना ग वर्ग (पहेंलो कार्ड)का अपांगता भएका व्यक्तिलाई रकम प्रदान गरिएको छ। उनीहरूलाई प्रतिव्यक्ति पाँच हजार ४०० रुपियाँ सहित ग वर्गको अपांगता परिचयपत्र पनि वितरण गरिएको छ।
संघीय सरकारले पूर्ण अपांगता (क र ख वर्ग) भएका व्यक्तिलाई भत्ता वितरण गर्दै आएको तर आंशिक अपांगता भएका व्यक्ति त्यसमा नसमेटिएकाले स्थानीय सरकारले जिम्मेवारी वहन गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए। जीवन निर्वाह गर्न सजिलो होस् भनेर गाउँपालिकाले भत्ता वितरण गरेको उनले बताए।
गाउँपालिकाबाट आंशिक अपांगता भएका व्यक्तिले पनि परिचयपत्र र भत्ता प्राप्त गरेकोमा अपांगता क्षेत्रमा क्रियाशील संघसंस्था र व्यक्ति खुशी भएको अपांग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोले बताए।
नेपाल सरकारले क वर्गमा वर्गीकृत अपांगता भएका व्यक्तिलाई मासिक चार हजार र ख वर्गमा वर्गीकृत अपांगता भएका व्यक्तिलाई मासिक दुई हजार १२८ रुपैयाँँ भत्ता उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, मकवानपुरकै राक्सिराङ गाउँपालिकाले भने अपांगता भएका व्यक्तिको निःशुल्क बीमा गराउने भएको छ। विश्व अपांगता दिवसका अवसरमा राक्सिराङ गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा अध्यक्ष राजकुमार मल्लले अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गराइने बताए।