संकटापन्न गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट जन्मायो बच्चा
विश्वका विभिन्न देशबाट लोप हुँदै एउटा टापुमा सीमित भएको संकटापन्न सुमात्रा गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट केटो (बच्चा) जन्माएको छ।
यो गैंडा संसारका अन्य देशमा नासिएर इन्डोनेशियाको सुमात्रा टापुमा सीमित भएको छ। यसको संख्या ५० भन्दा कम रहेको अनुमान छ। यही सुमात्रा गैंडाले यस वर्ष पाएको यो दोस्रो केटो हो। यससँगै इन्डोनेशियाली संरक्षणकर्मी उत्साहित छन्।
इन्डोनेशियाको लापुङ प्रान्तस्थित वे कम्बास राष्ट्रिय निकुञ्जमा रहेको डेलिला नामक पोथी गैंडाले करीब ५५ पाउन्डको केटो जन्माएको हो। केटाका बाउ हारापन नामक गैंडा हो, जसको जन्म सिन्सिनाटी चिडियाघरमा सन् २००६ मा भएको थियो।
यो सुमात्रा गैंडाको एक मात्र जीवित भाले हो। यसलाई अमेरिकाको ओहायो राज्यको सिन्सिनाटीमा रहेको चिडियाघरबाट इन्डोनेशिया फिर्ता ल्याइएको थियो। त्यसयता जन्मिएका सबै गैंडा इन्डोनेशियामै छन्।
त्यसमध्ये धेरै गैंडा सुुमात्रामा निकुञ्जमा राखिएका छन्। गैंडा बस्ने वनको विनाश तीव्र भएसँगै सुमात्रा जोखिममा छन्। चोरी शिकारी गर्नेहरूले खागका लागि मार्ने भएकाले पनि गैंडा जोगाउन गाह्रो हुँदै गएको छ।
खागबाट हस्तकलाका सामग्री बनाउने गरिन्छ। त्यस्तै, सुमात्रा गैंडाको खाग चिनियाँ परम्परागत औषधिमा उपयोगी हुने अन्धविश्वासका कारण पनि चोरी शिकारीबाट जोगाउन गाह्रो छ।
“यस वर्ष जन्मिएको यो दोस्रो सुमात्रा गैंडाको केटो हो। यसले इन्डोनेशियाली सरकारले सुमात्रा गैंडाको संरक्षणमा गरेको विशेष प्रतिबद्धता पुष्टि भएको छ,” इन्डोनेशियाली वन तथा वातावरणमन्त्री सिती नुर्बाया बाकरले भनिन्। यो सहित कृत्रिम गर्भाधान प्रक्रियाबाट वे कम्बास राष्ट्रिय निकुञ्जमा पाँच वटा गैंडाका केटो जन्मिएको पनि उनले बताइन्।
निकुञ्जका एक सुरक्षाकर्मीले गत शनिबार बिहान डेलिलासँगै नवजात केटो देखेका थिए। डेलिलाले बच्चा पाउने अनुमानित समयभन्दा १० दिनअघि नै केटो जन्माएको जनाइएको छ।
केटो र आमाको स्वास्थ्य अवस्था राम्रो छ। नवजात केटो उठेर हिंड्न सक्ने भइसकेको छ। केटो पाएको केही समयमा नै डेलिलाले उठेरै दूध खुवाएको निकुञ्जका संरक्षणकर्मीलाई उद्धृत गर्दै एपीले समाचार लेखेको छ।
इन्डोनेशियाले गैंडाको संरक्षणलाई विशेष प्राथमिकता दिंदै आएको छ। संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संघ आईयूसीएन रेड सूचीले सुमात्रा गैंडालाई ‘अति संकटापन्न’ मा समावेश गरेको छ। यस प्रजातिको वयस्क गैंडाको कुल संख्या ३० मात्र रहेको छ। जसले गर्दा यसको संख्या बढाउन धेरै गाह्रो हुने अनुमान गरिंदै आएको छ।
सात वर्षको पोथी डेलिलाको जन्म इन्डोनेशियाको निकुञ्जमा सन् २०१६ मा भएको थियो। डेलिलाकी आमा रातु गैंडाले सन् २०१२ मा अन्दातु नामको भाले गैंडालाई पनि जन्म दिएको थियो।
इन्डोनेशियाको चिडियाघरमा जन्मिएको रातु गैंडा १२४ वर्षको इतिहासमा कैद अवस्थामा जन्मिएको पहिलो गैंडा हो। रातुको बाउ अन्डालासको जन्म भने सिन्सिनाटीको चिडियाघरमा सन् २००१ मा भएको थियो।
गत सेप्टेम्बरमा इन्डोनेशियाको लापुङ प्रान्तमा रहेको वे कम्बास राष्ट्रिय निकुञ्जमा २३ वर्षको रातु गैंडाले एउटी केटीलाई पनि जन्म दिएको थियो। सुमात्रा गैंडाको अनुमानित आयु ३५ देखि ४० वर्ष छ।