हेनरी किसिन्जरप्रति जनताको अबिच्युअरी
दशकौंसम्म एक चम्किलो रातो घेरा जस्तै गुज्रिएको किसिन्जरको करिअरले आज हामी हिंडिरहेको मार्गमा ल्याएको हो। त्यो यात्रा भियतनाम र कम्बोडियाको जंगल अनि पर्सियाली खाडीबाट युक्रेनको गतिरोध र गाजाको नैतिक पतनसम्म पुगेको छ।
सन् १९२३ मा जर्मनीको वेइमरमा जन्मिएका हेनरी किसिन्जर अब रहेनन्। किसिन्जर १०० वर्ष बाँचे। जीवनका पछिल्ला वर्षहरूमा थुप्रै राजनीतिज्ञ, लेखक र सेलिब्रेटीले उनलाई अमेरिकी शताब्दीका पर्यायका रूपमा प्रशंसा पनि गरे। धेरै हदसम्म उनी थिए पनि।
अलि पहिला, पेचिला क्षणहरूमा उनलाई प्रशस्तै गलत कार्यको आरोप लगाइएको थियो। अब उनी छैनन्। उनीमाथिको आलोचनाबारे पनि पुनर्विचार हुने अवसर सिर्जना भएको छ। जस्तै- पूर्व विदेशमन्त्रीका हिसाबले युद्ध अपराधीका रूपमा अभियोजन गर्नुपर्ने माग राख्ने क्रिस्टोफर हिचेन्सले पनि बितिसकेका छन्।
उनीमाथि लगाइएको आरोपका साक्षीको सूची लामो छ, जसमा पत्रकार, इतिहासकार र वकीलहरू छन्। कोलम्बिया, लाओस, भियतनाम, इस्ट टिमोर, बाङ्लादेश, कुर्द विरुद्ध तथा चिली, अर्जेन्टिना, उरुग्वे, साइप्रस र अन्य स्थानमा किसिन्जरको भूमिकाबारे बताउन उनीहरू इच्छुक छन्।
हुन त बितेका वर्षमा धेरै जनाले किसिन्जरको जीवनी लेखेका छन् तर सिमोर हर्शको सन् १९८३ मा प्रकाशित द प्राइस अफ पावर भविष्यका जीवनीकारका लागि पनि ठूलै चुनौती हो। हर्शले उनलाई आफ्नो करिअर विकास गर्न निर्दयीपन र चाप्लुसीको बीचबाट गुज्रिरहेको एक ‘युद्ध पागल’ का रूपमा चिनाएका छन्। घमन्ड कम भए पनि आफ्ना उद्देश्यमा प्रतिबद्ध किसिन्जर हर्शको नजरमा शेक्सपियरका नाटकका पात्रभन्दा बढी थिएनन्, जो विश्व रंगमञ्चका एक पात्र थिए, जसको नियति महागाथाका परिणतिहरूले निर्माण गर्छन्।
किसिन्जरका प्रशस्तै प्रशंसक छन्। निःसन्देह रूपमा उनीबारे लेखिएका प्रशस्तै अबिच्युअरी सन्तुलित बनाउन खोजिएको छ। तिनका लेखकको तर्क छ, किसिन्जरको मिचाहा भूमिकालाई उनले हासिल गरेका उपलब्धिसँग तुलना गर्नुपर्छ। ती उपलब्धि हुन्– सोभियत संघसँग देतेन्ते र सैन्य सन्धि, कम्युनिस्ट चीनसँग अमेरिकाको सम्बन्ध स्थापना र मध्यपूर्व (पश्चिम एशिया)मा गतिशील कूटनीति। यी विषयलाई ध्यान दिंदा किसिन्जरका नीतिहरू ‘विरोधाभासपूर्ण’ भनेर परिभाषित हुन सक्छन्। त्यो तथ्यमा भन्दा पनि विश्लेषणमा आधारित हुनेछ। केही टिप्पणीकारले हालै टिप्पणी गरेका छन्, डोनल्ड ट्रम्पको उदयसँगै सिंगो विश्व नयाँ द्वन्द्व सामना गरिरहँदा किसिन्जरको ‘शान्त’ शासनकलाको सबैभन्दा बढी आवश्यकता थियो।
किसिन्जरको जीवनलाई रंगीन तरीकाले हेर्नेहरूका लागि उनी हास्यरस भएका, मीठो खाना र सुन्दर महिलाका पारखीका रूपमा स्मरणीय हुनेछन्। अभिनेत्रीहरू जील सेन्ट जोन र मार्लो थोमसका कुनै समयका प्रेमी, अर्की अभिनेत्री एवं लेखक शिर्ले म्याकलेनका साथी र वेस्ट विंग (ह्वाइट हाउसको दक्षिणी पाखो)का प्लेब्वायका रूपमा पनि उनी सम्झनामा रहनेछन्। किसिन्जर प्रतिभाशाली र मिजासिला मानिस थिए। उनी कमजोर थिए, जसले नै उनलाई क्रोधी बनाएको थियो।
अमेरिकाका ३७औं राष्ट्रपति रिचर्ड निक्सनसँगको उनको सम्बन्ध पत्रकार इभान थोमसले भने जस्तै ‘एकदमै अनौठो’ थियो। निक्सन र उनी जति मित्र थिए, त्यति नै दुश्मन पनि। सामुन्नेमा उनी निक्सनको प्रशंसा गर्थे, ढाड पछाडि भने उनको कुरा काट्थे। ‘मासुको डल्लो’, निक्सनको फोन राखेपछि उनी भन्थे, ‘जँड्याहा।’ रूसी मूलका बेलायती राजनीतिशास्त्री आइजेया बर्लिन दुवैलाई ‘निक्संगर’ भन्थे।
जर्मनीको फर्थमा जन्मिएका किसिन्जर सन् १९३८ मा नाजी दमन सहन नसकेर परिवारसँगै भागेर अमेरिका आइपुगेका थिए। निक्सनले उनलाई ‘यहुदी केटा’ भन्ने गर्थे। किसिन्जर लोकतन्त्र र मानव अधिकारभन्दा बढी स्थिरता र राष्ट्रिय हितको विस्तारलाई जोड दिन्थे। त्यसैले उनको यो विश्वदृष्टिकोण अमेरिकाको ‘अपवाद राष्ट्र’ को छविसँग बाझिन्छ भनेर टिप्पणी पनि गरिन्छ।
किसिन्जरको जीवनी लेखेका वाल्टर आइज्याकसन लेख्छन्, “बौद्धिक रूपमा उनको मस्तिष्कले यूरोपेली शैली कायम नै राखेको छ।” त्यस्तै, अर्का लेखकका अनुसार किसिन्जरको त्यस्तो विश्वदृष्टिकोण थियो, जुन ‘जन्मजात अमेरिकीको हुन सक्दैन।’ उनको उमेरसँगै ‘जर्मनी उच्चारण’ को अंग्रेजी पनि बढ्दै गयो।
तर किसिन्जरलाई अमेरिकी शैलीको अपवादको सापेक्षमा पराईका रूपमा विश्लेषण गर्दा उनको विशेषता नै हराउन पुग्छ। वास्तवमा उनी सर्वोत्कृष्ट अमेरिकी हुन्, जसको विचार आफ्नो समय र स्थान अनुरूपको थियो।
युवा अवस्थामा किसिन्जरले आमअमेरिकी मान्यता नै पछ्याए। त्यो थियो, हरेक मानिसले आफूले आफैंलाई बनाउने हो, इतिहासको भारले थिच्न सक्छ तर सम्भावना कायमै हुन्छन्। यी मान्यतालाई किसिन्जरले अमेरिकी शैलीमा प्रस्तुत गरेनन्। बरु उनको दर्शन जर्मन तत्त्वमीमांसाका गहिरा कथ्यहरूमा आधारित थिए। यद्यपि तिनले अभिव्यक्त गर्ने विचार उस्तै थियो। सन् १९५० मा उनले लेखेका थिए, ‘आवश्यकताले विगतलाई व्याख्या गर्छ तर स्वतन्त्रताले भविष्यलाई शासन गर्छ।’
यो पंक्ति किसिन्जरले हार्वर्ड विश्वविद्यालयमा प्रस्तुत गरेको शोधपत्रमा लेखिएको छ। प्रशस्त यूरोपेली दार्शनिकको कृतिबाट गुज्रिएर झन्डै ४०० पृष्ठ लामो त्यो शोधपत्र तयार भएको छ। ‘द मिनिङ अफ हिस्ट्री’ (इतिहासको अर्थ) शीर्षकको त्यो शोधपत्र यति गहन र विस्तृत छ, कुनै एक युवाको रचना भनेर स्वीकार्नै गाह्रो हुन्छ। किसिन्जरले जीवनका अन्तिम क्षणसम्म पनि यही शोधपत्रका थुप्रै अवधारणा र मान्यता विभिन्न तरीकाले दोहोर्याइरहे।
हार्वर्डमा आउँदा उनले युद्धमा गुज्रिरहेको यथार्थ जगत्को अनुभव गरिसकेका थिए। साथै, सूचना र ज्ञानबीचको सम्बन्ध, भौतिक जगत् र चेतनाबीचको सम्बन्ध तथा विगतले वर्तमानलाई पार्ने प्रभाव आदिबारे उनको मस्तिष्कभरि प्रश्न थिए। किसिन्जर आफू त यहुदीको नरसंहार (होलोकस्ट)बाट भाग्न सफल भए तर उनको परिवारका १२ सदस्य मारिए।
सन् १९४३ मा यो शोधपत्र तयार पार्नुअघि उनले एक वर्ष जर्मनीमा अमेरिकी सेनाका रूपमा बिताएका थिए। सैन्य अधिकारीका रूपमा उनी राइन नदी किनारको शहर क्रेफेल्डमा थिए, जहाँ उनले हिटलरका सैन्य अधिकारीहरूको बयान लिए। तीमध्ये कतिपयलाई गोप्य सूचनादाता बनाए र ‘ब्रोन्ज स्टार’ पदक पनि जिते।
अर्को शब्दमा भन्दा आफ्नो शोधपत्रको मुख्य विषय, तथ्य र सत्यबीचको सम्बन्ध किसिन्जरका लागि अमूर्त प्रश्न थिएन। यो त जीवन र मृत्युको सवाल थियो। किसिन्जरका हार्वर्डका सहपाठीले लेखे जस्तै त्यसपछिको उनको कूटनीति ‘विचारको जगत्देखि शक्तिको जगत्मा रूपान्तरण थियो।’
किसिन्जरको सिद्धान्तमा उदासी र उल्लासले बराबर हिस्सा ओगटेका छन्। अनुभव र जीवन स्वयं अन्ततः अर्थहीन छ र इतिहास त्रासदीपूर्ण भन्ने उनको कथनमा उदासी अभिव्यक्त हुन्छ। ‘अनुभव सधैं विशिष्ट र एक्लो हुन्छ,’ उनले सन् १९५० मा लेखेका थिए। उनी इतिहासलाई ‘त्रासदीपूर्ण तत्त्व’ का रूपमा लिन्छन्। लेखेका छन्, ‘बुन्चेनवाल्ड र साइबेरियाको श्रम शिविर भोगेको पुस्ताले आफ्ना पितापुर्खाले जस्तै आशावादी भएर कुरा गर्न सक्दैन।’
त्यो अर्थहीनता र त्रासदीको स्वीकारोक्तिले उल्लास सिर्जना गर्छ। साथै, कुनै पनि व्यक्तिका कर्महरू ऐतिहासिक रूपमा टार्नै नसकिने खालका हुँदैनन् न त ती उच्च नैतिक प्राधिकारसम्पन्न हुन्छन् भन्ने बोधले पनि उल्लास जन्माउँछ। किसिन्जरको अवधारणामा मानिसले गर्न सक्ने कामको सीमा हुन्छ किनभने हामी अरू पनि भएको संसारमा बाँच्छौं। तर हरेक व्यक्तिको आफ्नो इच्छा, सहजबोध र अन्तर्ज्ञान हुन्छ। स्वतन्त्रता विस्तार गर्न यी गुण प्रयोग गर्न सकिन्छ।
किसिन्जरलाई ‘यथार्थवादी’ भन्न सकिन्छ। मानव स्वभावबारे नकारात्मक दृष्टिकोण राख्ने र अराजक सामाजिक सम्बन्धलाई व्यवस्थित गराउन शक्ति चाहिन्छ भन्ने अर्थमा यथार्थवादलाई परिभाषित गर्ने हो भने उनलाई ‘यथार्थवादी’ भन्नु सटीक हुन्छ।
तर तथ्यहरूको अवलोकनबाट ती तथ्यहरूको ‘सत्य’ उजागर हुन्छ भन्ने अर्थमा यथार्थवादलाई लिने हो भने किसिन्जर पक्कै पनि यथार्थवादी होइनन्। वास्तवमा अहिले दक्षिणपन्थीहरूले भन्ने गरेको अति सापेक्षतावादको पक्षमा किसिन्जरले उभ्याएका। उनले भनेका थिए, ‘निरपेक्ष सत्य भन्ने केही पनि हुँदैन, कोही कसैको दृष्टिकोणबाट जे निस्कन्छ, त्यस बाहेक अरू सत्य हुँदैन।’
‘अर्थले कुनै पनि व्यक्तिको सैद्धान्तिक पृष्ठभूमिलाई अभिव्यक्त गर्छ,’ उनले लेखेका थिए, ‘हरेक मानिसले संसारबारे आफ्नै खालको तस्वीर बनाएको हुन्छ।’ किसिन्जर भन्थे- सत्य तथ्यमा होइन, बरु हामीले ती सत्यबारे कस्ता प्रश्न गर्छौं भन्नेमा निर्भर हुन्छ। इतिहासको अर्थ ‘हाम्रो जिज्ञासाको चरित्रमा निर्भर रहन्छ।’
वास्तवमा दोस्रो विश्वयुद्धपछिको बौद्धिक जगत्मा यस्तै खालको आत्मपरकतावाद (सब्जेक्टिभिज्म) हावी थियो। आफ्ना शुरूआती लेखनमा किसिन्जर जाँ पाल सार्त्रभन्दा खासै फरक सुनिंदैनन्। अस्तित्ववादबारे सार्त्रको प्रभावशाली मन्तव्य सन् १९४७ मा अंग्रेजीमा प्रकाशित भएको थियो (किसिन्जरले आफ्नो शोधपत्रमा यसलाई उद्धृत गरेका छन्)।
व्यक्तिहरूसँग अरूप्रतिको ‘जिम्मेवारी’ सहितको कर्मको ‘छनोट’ रहन्छ भन्दै गर्दा किसिन्जर पूर्णतया सार्त्र जस्तै सुनिन्छन्। किनभने सार्त्र भन्थे- नैतिकता बाहिरबाट थोपरिने नभई भित्रैबाट आउने चीज हो, हरेक व्यक्ति ‘संसारप्रति जिम्मेवार हुन्छ।’ यद्यपि किसिन्जर सार्त्र र अन्य विद्रोही बुद्धिजीवीभन्दा फरक बाटो हिंडे, जसले उनको अस्तित्ववादलाई अपवाद बनायो। उनले यसलाई युद्धको विरोध गर्न नभई समर्थन गर्न प्रयोग गरे।
मानव ‘त्रासदी’ को चर्चा गर्ने र विश्व व्यवस्था तथा नियमको स्थापना गर्न सकिन्छ भन्ने आशा राख्ने विश्वयुद्ध पछिका नीतिज्ञमध्ये किसिन्जर एक्ला थिएनन्। अनुदारवादी जर्ज केनन र उदारवादी आर्थर स्लासिन्जर दुवैले मानव प्रवृत्तिको ‘अँध्यारो र जटिल पाटाहरू’ ले बलियो सैन्य संरचनालाई पुष्टि गर्ने धारणा राख्थे। संसारलाई नियममा बाँध्नुपर्छ भन्ने उनीहरू ठान्थे। तर ती दुवै चिन्तक (साथै रेनहोल्ड नेइबुर र हान्स मर्गेन्थाउ जस्ता त्रासदीको भावना व्यक्त गर्ने अरू पनि) अन्ततः अमेरिकी शक्तिको आलोचक भए।
सन् १९५७ देखि केननले अमेरिका शीतयुद्धबाट ‘अलग्गिनुपर्ने’ धारणा राख्न थालेका थिए भने सन् १९८२ देखि उनले रेगन प्रशासनलाई ‘अज्ञानी, अबौद्धिक, आत्मसन्तुष्ट र अहंकारी’ भनेर आलोचना गर्न थालेका थिए। त्यस्तै, भियतनाम युद्धका कारण स्लासिन्जरले संसद्सँग सरकारलाई लगाम लगाउन सक्ने शक्ति हुनुपर्ने वकालत गर्न थाले। सन् १९७३ मा त उनले अमेरिकी राष्ट्रपति प्रणालीलाई ‘शाही राष्ट्रपति प्रणाली’ भनेका थिए। किसिन्जर यी सबै विचारबाट टाढा थिए।
विश्वयुद्धपछि अमेरिकाका हरेक मोडमा जब जब अमेरिकी शक्तिबारे असल मानिसले शंका गरे, तब तब किसिन्जर विपरीत दिशामा उभिए। उनले निक्सनसँग राम्रो सम्बन्ध बनाए जबकि शुरूमा आफैंले विश्वास गरेका थिएनन्। त्यस्तै, रोनल्ड रेगनसँग काम गरे जसलाई उनी शुरूमा खोक्रो ठान्थे। अनि त्यसपछि जर्ज डब्लू बुशका नवउदारवादीहरूसँग पनि जबकि उनीहरू किसिन्जरलाई नै आक्रमण गरेर शक्तिशाली भएका थिए। अन्तिममा डोनल्ड ट्रम्पसँग पनि जसप्रति किसिन्जरको अति आशावादी परिकल्पना थियो। उनी ठान्थे- महान् नेताहरूको महान्ता निरन्तरता, फुर्ती, अव्यवस्थामा उदाउन सक्ने क्षमतामा हुन्छ। महान् नेताप्रतिको उनको अवधारणा ट्रम्पमा देखिने उनको परिकल्पना थियो।
‘यथार्थवादीहरू दुई प्रकारका हुन्छन्,’ किसिन्जरले सन् १९६० दशकको शुरूमा लेखेका थिए, ‘एकथरीले तथ्य तोडमोड गर्छन् भने अर्काथरीले तथ्यकै सिर्जना गर्छन्। पश्चिम जगत्लाई आफ्नै यथार्थ सिर्जना गर्ने मानिस चाहिएको छ।’ पक्कै पनि ट्रम्प त्यो यथार्थ निर्माण गर्ने मानिस थिए। उनले ट्रम्पलाई एउटा ‘परिघटना’ का रूपमा व्याख्या गर्दै उनको राष्ट्रपतित्वबाट ‘केही उल्लेखनीय र नयाँ’ परिणाम आउने विश्वास गरेका थिए।
रकफेलरदेखि निक्सनसम्म, निक्सनदेखि रेगनसम्म, रेगनदेखि जर्ज डब्लू. बुशसम्म, बुशदेखि ट्रम्पसम्म उनको जीवन उदासी र उल्लासले भरिपूर्ण भयो तर उनी कहिल्यै डगमगाएनन्। उदासीले उनलाई अनुदार बनायो। न्यायभन्दा व्यवस्था उनका लागि महत्त्वपूर्ण भयो। उल्लासले उनलाई इच्छाशक्ति र बौद्धिकताले केही क्षणका लागि भए पनि त्रासदी टारेर स्वतन्त्रता स्थापना गर्न सकिन्छ भन्ने विश्वास दिलायो।
सन् १९५४ मा विद्यावारिधिको शोधपत्रमा उनले लेखेका थिए, ‘अन्तिममा गएर महान्ता हासिल गरेका राजनीतिज्ञहरूले कहिल्यै अप्ठ्यारो परिस्थितिमा मैदान छोडेनन्। उनीहरूले केवल व्यवस्था स्थापना मात्र गरेनन् बरु अव्यवस्थाको सामना गरेर नयाँ सिर्जनाका उपायहरू फेला पारिरहे।’
लाखौं मानिसको मृत्यु, विनाश र शोकको कारक बनेका आफ्ना नीतिहरूको किसिन्जरले गर्ने बचावट जग उनको अस्तित्ववादमा छ। उनको अस्तित्ववादी मान्यता हो- इतिहास पहिले नै त्रासदीले भरिपूर्ण छ भने र जीवन आफैंमा दुःखहरूको अन्त्यहीन सिलसिला हो भने मुक्ति त विश्व थाकेपछि मात्र सम्भव हुन्छ। पहिले नै बिग्रेको परिस्थितिमा एक जना व्यक्तिले बिगार्ने धेरै थोक हुँदैन।
आफ्ना कर्महरूलाई जायज बनाउने अस्त्र हुनुअघि किसिन्जरको सापेक्षतावाद आत्मसिर्जना र आत्मविकासको साधन थियो। जो जस्तो छ त्यस्तै बन्ने खूबी थियो किसिन्जरसँग। खासगरी उच्चपदस्थसँग त उनको यो गुण बढी देखापर्थ्यो। “म को हुँ भन्ने तपाईंलाई बताउँदिनँ,” ओरियाना फ्यालेसीसँगको चर्चित अन्तर्वार्तामा उनले भनेका थिए, “म कसैलाई पनि भन्नेछैन।”
उनीबारे एउटा मिथक छ, उनी आधुनिक स्वार्थ-समूहको राजनीतिलाई घृणा गर्थे र आमलोकतन्त्रबाट मुक्त भएको भए आफ्नो प्रतिभा अझै प्रस्फुटन हुन्थ्यो भन्ठान्थे। वास्तविकता भने यही आमलोकतन्त्रले सिर्जना गरेको असीमित अवसरले नै किसिन्जरलाई उनको उचाइसम्म पुर्याएको हो।
उनी युद्धोपरान्त मेरिटोक्रेसीका उत्पादन न थिए, पत्रकार र सम्भ्रान्तहरूलाई कसरी हात लिने भन्ने छिटै सिके। उनीहरूका निम्ति आफूलाई अपरिहार्य बनाए। निकै छोटो समयमा र युवाकालमै (राष्ट्रपति निक्सनले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि प्रस्ताव गर्दा ४५ वर्षका थिए) उनले राष्ट्रिय सुरक्षा संयन्त्रलाई प्रशासन संयन्त्रमा पहिल्यैदेखि रहेका मानिसहरूबाट आफ्नो कब्जामा पारिसकेका थिए।
अहिले पनि वर्तमान विश्व किसिन्जरकै नीतिहरूको परिणति ठान्ने भएकाले त्यसैले उनको बृहत्तर व्यक्तित्वभन्दा पनि युद्धोपरान्त इतिहासमा उनले खेलेको भूमिकामा केन्द्रित हुन जरुरी छ। दोस्रो विश्वयुद्धको अन्त्य र शीतयुद्धको शुरूआतदेखि राष्ट्रिय सुरक्षा व्यवस्थाबारे अनेकौं मान्यता सिर्जना भएका छन्। तर यो व्यवस्थाको विकासमा सबैभन्दा रूपान्तरणकारी क्षण सन् १९६० दशकको अन्त्य र सन् १९७० को दशकको शुरूतिर भयो जति वेला किसिन्जरले गोप्य रूपमा कम्बोडियामा चारवर्षे युद्ध थोपरे। राजनीतिक सम्भ्रान्तहरूको योजना, दुईदलीय सहमति र जनसमर्थनमा अडिएको अमेरिकाको परम्परागत आधार भत्काएर उनले त्यसो गरेका थिए।
निक्सनको साथमा किसिन्जरले यी आधारस्तम्भको विनाश गरे। “हामीले डेमोक्रेटिक नेताहरूको यो पुस्ताको कम्मर भाँचिदिनुपर्छ,” किसिन्जरले निक्सनसँग भनेका थिए। यी दुई जनाले देशभित्र आफ्नो राजनीतिक हितका लागि विदेश नीति प्रयोग गरेका थिए। “हामीले अमेरिकी शासनव्यवस्थाप्रति जनताको विश्वास भत्काउनैपर्छ,” निक्सनले भनेका थिए।
“सही हो,” किसिन्जरको जवाफ थियो।
पुरानो राष्ट्रिय सुरक्षा व्यवस्था द्रुत गतिमा भत्किरहँदा किसिन्जरले नयाँ व्यवस्था स्थापनाका लागि सघाए। त्यो नयाँ व्यवस्था थियो, हिंसा र अति गोपनीयतामा आधारित शक्तिशाली राष्ट्रपति। आफ्ना जनतालाई प्रभाव पार्न युद्धको बढ्दो प्रयोग, सैन्यवाद र राजनीतिक लाभका लागि ध्रुवीकरण।
दक्षिणपूर्वी एशियामा अमेरिकाले थोपरेका युद्धहरूले संसारमा वाशिङ्टनले गरेका कर्महरू उजागर गरिदियो। जताततैको पर्दा खस्यो। विश्वका हरेक कुनाको यथार्थ विभिन्न स्वरूपमा उजागर हुन थाले, अमेरिकी युद्ध अपराधबारे काम गरिरहेका हर्श लगायत अन्य खोज पत्रकारहरूको रिपोर्टिङमा, नयाँ पुस्ताका इतिहासकारहरूको खोजमा, एमिली डी अन्टोनियोको इन द इयर अफ द पिग र पेटर डेभिसको हर्टस् एन्ड माइन्डस्’ जस्ता वृत्तचित्रमा, नोम चोम्स्की जस्ता बौद्धिकका लेखनमा। पपुलर कल्चरमा, उपन्यासमा र कमिकहरूमा समेत अमेरिकालाई असलभन्दा पनि खराबको स्रोतका रूपमा देखाउन थालियो।
शक्तिशाली राष्ट्रपतिलाई यी नयाँ आलोचनासँग अभ्यस्त हुन किसिन्जरले सघाए। अमेरिकाको सीमाभन्दा बाहिर भएका हिंसा र अव्यवस्थाको पक्षपोषण गर्न उनी निकै सिपालु थिए। आफ्ना कर्मबारे सोध्दा उनी जहिल्यै फरक तरीकाले जवाफ दिएर जोगिन्थे। कसैले एउटा तटस्थ देश कम्बोडियामा चार वर्षसम्म बमबारी किन गरेको भनेर सोध्दा उनी भियतनामतिर संकेत गर्दै भन्थे, “त्यो त हनोईमा हो।”
त्यस्तै, चिलीमा साल्भाडोर एलेन्डे विरुद्ध भएको ‘कू’ बारे सोध्दा भन्थे, “त्यो देश हाम्रा कारणले भन्दा पनि चिलीका संवैधानिक राष्ट्रपतिका कारण अस्थिर भएको हो।” कसैले कुर्दबारे सोध्दा ‘त्यो एक त्रासदी हो’ भनेर पन्छिन्थे जबकि उनले सोभियत संघबाट टाढा हुने आशामा सद्दाम हुसेनलाई सघाएका थिए। पूर्वी टिमोरबारे सोध्दा भन्थे, “मलाई लाग्छ टिमोरबारे हामीले प्रशस्त सुनेका छौं।”
शक्तिशाली राष्ट्रपतिको हितका निम्ति उनले के गरे भन्ने बुझ्न उनको शाही अस्तित्ववादको पनि चर्चा गर्नुपर्छ जसले बेवास्ता गर्ने संयन्त्र स्थापित गर्यो। संसारभर अमेरिकाले गरेका कामले आमजनमानसमा सिर्जना भएको असन्तुष्टिलाई मत्थर पार्ने उपाय थियो त्यो। कुनै पनि निर्वाचित सरकार विरुद्ध ‘कू’ गर्नु र प्रतिगामी शासनलाई सहयोग गर्नु प्रत्युत्पादक हुन्छ भन्ने पुष्टि गर्न पत्रकार र प्राज्ञहरूले सधैं कडा मेहनत गरिरहे। तर अमेरिकाको भविष्यलाई उसको विगतले सीमित पार्दैन भनेर तर्क गर्न किसिन्जर कहिल्यै थाकेनन्। उनको तर्क हुन्थ्यो- महान् मानिसहरू जस्तै ठूला शक्तिहरू पनि पूर्णतः स्वतन्त्र हुन्छन्। उनीहरू नैतिक बन्धनबाट मात्र नभई विगतका कर्महरूको बोझबाट पनि मुक्त हुन्छन्।
उनीबारे लेखिएका अबिच्युअरीहरूमा पक्कै पनि रूससँग देतेन्ते र चीनसँग सम्बन्ध विस्तार जस्ता उनका नीतिप्रति अनुदारवादीको विरोधले कसरी सन् १९७६ मा राष्ट्रपति निर्वाचनका लागि अघि बढ्न रोनाल्ड रेगनलाई प्रेरित गर्यो भन्ने उल्लेख हुनेछ। साथै, उनको कठोर शक्ति राजनीति र अफगानिस्तान एवं इराकको असफलतामा पुर्याउने नवअनुदारवादी ‘आदर्शवाद’ बीच तुलना पनि हुनेछ।
तर त्यस्ता अबिच्युअरीका लेखकले किसिन्जरले नव दक्षिणपन्थको उदयमा सघाएका थिए भन्ने तथ्य बिर्सनेछन्। आफ्नो करिअरमा उनले यस्ता अवधारणा सिर्जना गरे जसलाई नवअनुदारवादी बौद्धिकहरूले विस्तार गरेका छन्। ती अवधारणा हुन्ः नीतिनिर्माणका लागि अनुमान, आकलन, इच्छाशक्ति र अन्तर्ज्ञान आवश्यक पर्छ, ज्ञानमा मात्रै भर पर्दा सबै समस्या समाधान नहुन सक्छन्, विदेशनीतिलाई विज्ञ र कर्मचारितन्त्रको हातबाट निकालेर कर्मठ व्यक्तिको हातमा दिनुपर्छ र आत्मरक्षाको सिद्धान्तले सार्वभौमिकताको आदर्शलाई बेवास्ता गर्छ। यी अवधारणा स्थापित गरेर किसिन्जरले अमेरिकी सैन्यवादलाई निरन्तरता दिए।
अरू कुनै पनि राष्ट्रिय सुरक्षा सल्लाहकार वा विदेशमन्त्रीले किसिन्जरले जस्तो पद त्यागिसकेपछि पनि प्रभाव जमाउन सकेका छैनन्। युद्धको निरन्तर पैरवी गरेकाले मात्र उनले त्यो प्रभाव जमाउन सकेका होइनन्। रोनाल्ड रेगनले उनलाई मध्यअमेरिका सम्बन्धमा राष्ट्रपतीय समितिमा नियुक्त गरेका थिए जसले त्यस क्षेत्रमा रेगनको नीतिलाई सही सावित गर्यो। त्यस्तै, जर्ज डब्लू बुशले उनकै अनुयायी लरेन्स इगलबर्गर र ब्रेन्ट स्कोक्रफ्टलाई विदेश नीति सम्बन्धी उच्च तहमा लगे। त्यस्तै, नाफ्टा (उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता) सम्बन्धी कानून पारित गर्न बिल क्लिन्टनले किसिन्जरको सहयोग लिए।
किसिन्जरको निजी परामर्श संस्था ‘किसिन्जर एशोसिएट्स’ ले उनका सार्वजनिक नीतिकै प्रभावमा नाफा कमाउँथ्यो। विदेशमन्त्रीका रूपमा किसिन्जरले भारत सरकारलाई अमेरिकाको ‘एक्सपोर्ट-इम्पोर्ट कम्पनी’ बाट ऋण उपलब्ध हुने सुनिश्चित गराई भोपालमा रासायनिक कारखाना ‘युनियन कार्बाइड’ को स्थापनामा सघाए। सन् १९८९ भोपालमा उक्त रासायनिक कारखानाबाट ग्यास चुहावट हुँदा चार हजारले तत्कालै ज्यान गुमाए। झन्डै पाँच लाख मानिस विषालु ग्यासको असरमा परे।
किसिन्जरको संस्थाले ‘युनियन कार्बाइड’ का तर्फबाट पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्यो। ४७ करोड अमेरिकी डलर बराबरको कुल क्षतिपूर्तिमा मामिला टुंग्याइयो। उक्त घटनाले सिर्जना गरेको क्षतिको तुलनामा त्यो निकै सानो रकम थियो। ल्याटिन अमेरिका र पूर्वी यूरोपमा किसिन्जर एशोसिएट्सले सार्वजनिक सम्पत्ति र उद्योगहरूको बिक्रीका लागि पहल गर्यो। तीमध्ये धेरैजसो देशमा किसिन्जरले समर्थन गरेका तानाशाह र सैन्य शासकले त्यसको निजीकरणको शुरूआत गरेका थिए।
पक्कै पनि आज अमेरिकाको राष्ट्रिय सुरक्षा व्यवस्था जस्तो बनेको छ, त्यसका लागि किसिन्जर एकल जिम्मेवार होइनन्। सन् १९४७ मा ‘राष्ट्रिय सुरक्षा ऐन’ बाट शुरू भएर शीत युद्ध हुँदै अहिले ‘आतंकविरोधी युद्ध’ को चरणमा पुगेको अमेरिकी विदेशनीतिको इतिहासका अनेकौं पाटा छन् जहाँ अनेकौं मानिस संलग्न छन्। तर दशकौंसम्म एक चम्किलो रातो घेरा जस्तै गुज्रिएको किसिन्जरको करिअर यात्राले आज हामी हिंडिरहेको मार्गमा ल्याएको हो। त्यो यात्रा भियतनाम र कम्बोडियाको जंगल अनि पर्सियाली खाडीबाट युक्रेनको गतिरोध र गाजाको नैतिक पतनसम्म पुगेको छ।
अन्तिममा, पहिलो र दोस्रो खाडी युद्ध एवं सबै युद्धको समर्थन गर्ने किसिन्जरबाट हामी के सिक्न सिक्छौं भने अमेरिकाको विदेश नीतिको व्याख्या गर्दा यथार्थवाद र आदर्शवादलाई एकअर्काका विपरीत ठान्न जरुरी छैन बरु तिनले एकअर्कालाई स्थापित गर्छन् (अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादलाई राष्ट्रिय स्वार्थलाई प्रधानता दिने र आदर्शवादलाई मित्रता एवं सहकार्यलाई प्रधानता दिने सिद्धान्तका रूपमा लिइन्छ)। आदर्शवादले हामीलाई समयको दलदलमा पुर्याउँछ। यथार्थवादले त्यहाँबाट निकाल्ने वाचा गर्दै त्यहीं अड्याइरहन्छ। आदर्शवाद यथार्थवादलाई सही सावित गर्न फर्किन्छ र अर्को चरणमा त्यसमाथि विजय पाउँछ। यो चक्र चलिरहन्छ।
(द नेशन म्यागजिनका सम्पादनमण्डल सदस्य ग्रेग ग्रान्डिन येल विश्वविद्यालयमा इतिहासका प्राध्यापक छन्। सन् २०२० को पुलित्जर पुरस्कार विजेता गैरआख्यान ‘द इन्ड अफ द मिथ’ का लेखक ग्रान्डिनले लेखेको र द नेशनमा प्रकाशित यस अबिच्युअरीको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)
- हेनरी किसिन्जरसँग द इकोनोमिस्टले लिएको अन्तर्वार्ताको भावानुवाद पढ्न यहाँ क्लिक गर्नुहोस्।