वायुसेवा निगमका कारण ईयूको कालोसूचीबाट हटेन भन्नु भ्रम हो : प्रवक्ता
नेपाल वायुसेवा निगमले यूरोपेली संघ (ईयू)ले नेपाललाई कालोसूचीबाट नहटाउनुमा आफू कारक नभएको जनाएको छ।
ईयूले नेपालमा न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्ड लागू गर्ने जिम्मेवारी पूरा गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएको भनी स्पष्ट उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ‘सेफ्टी लिस्ट’ बाट हटाएन भन्नु भ्रमपूर्ण भएको निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पौडेलका अनुसार ईयूले २३ नोभेम्बर २०२३ मा प्राधिकरणलाई पठाएको पत्रमा क्यानको क्षमताप्रति विश्वस्त हुन नसकेको जनाइएको छ।
गत १० वर्षदेखि नेपाली वायुसेवा कम्पनी ईयूको कालोसूचीमा छ। ईयूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रतिवेदनका आधारमा सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई यूरोप उडानमा निषेध गरेको छ।
ईयूद्वारा सार्वजनिक नयाँ सूचीमा नेपाल सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेकाले सुरक्षा चासो भन्दै कालोसूचीमै कायम राख्ने निर्णय गरेको छ। त्यसपछि प्राधिकरण र निगमले कालोसूचीबाट नहट्नुमा एकअर्कालाई आरोप लगाउँदै आएका छन्।