दराजको ‘११.११’ सेल अफरमा ५० लाखले किने सामान
अनलाइन किनमेल बजार दराजले ल्याएको ‘११.११’ सेल अफरको अवधिमा नेपालमा ५० लाख उपभोक्ताले सामान किनेको पाइएको छ।
दराजले गत कात्तिक २५ मा ‘११.११’ सेल अफर सार्वजनिक गरेको थियो। यो अफरमा ५० लाख उपभोक्ताले दराजबाट सामान किनेको कम्पनीले जनाएको छ। यसले नेपालीको डिजिटल प्लेटफर्मप्रति विश्वास बढेको देखाएको दराजले जनाएको छ।
दराजको ‘११.११’ सेलमा तेल, घिउ जस्ता दैनिक उपभोग्य सामान धेरै बिक्री भएको दराजले जनाएको छ। यस अवधिमा काठमाडौं बाहिरका उपभोक्तालाई पनि सहज बनाउन १०८ स्थानबाट सेवा प्रवाह गरिएको थियो। यसले गर्दा काठमाडौं बाहिरका खरीदकर्ताको संख्या ६०० प्रतिशतले वृद्धि भएको दराजले जनाएको छ।
यस अफरको अवधिमा सामान्य अवस्थाभन्दा ४६ प्रतिशतले कारोबार बढेको थियो। सेल शुरू भएको १९ मिनेटमै ५०० अर्डर प्राप्त भएको दराजले जनाएको छ।
यस वर्षको ‘११.११’ सेल अफरले सफलता पाएको दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन्। यो सफलतामा उपभोक्ता, साझेदार ब्रान्ड र विक्रेताको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कुँवरले भनिन्, “यो चुनौतीपूर्ण समयमा हाम्रा ग्राहकका लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउन प्रतिबद्ध छौं।”