उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार
प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममितिमा कीर्ते गरेको आरोप लागेपछि राजीनामा दिएको एक महीना नबित्दै सैनिक नेतृत्वको अर्का दाबेदार उपरथी अशोकराज सिग्देल पनि उस्तै विवादमा तानिएका छन्।
४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा बढुवाका लागि वरिष्ठताका आधारमा उपरथी सिग्देललाई सिफारिश गरिसकेका छन्।
मंसीर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिएको अख्तियारका एक आयुक्तले हिमालखबरलाई बताएका छन्। नाम उल्लेख गर्न नचाहने ती आयुक्त भन्छन्, “अशोकजी विरुद्ध उजुरी परेपछि छानबिन गर्नू भनेर मंसीर ७ गते रक्षामा लेखी पठाएका छौं।”
वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतको दाबी छ।
२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ। २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल' उल्लेख छ। उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ। सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ।
त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ।
सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ।
प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए। सरकारले पाण्डेको राजीनामा स्वीकृत गरिसकेको छ। उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो। तर अख्तियारले छानबिनका लागि निर्देशन दिएको पत्र रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालय पुगेपछि रथी सीताराम खड्का नेतृत्वको समितिले छानबिन गरेको थियो।