जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
गिद्ध संरक्षण गर्न भन्दै एशियामै पहिलो पटक समुदाय स्तरबाट सन् २००६ मा शुरू गरिएको रेस्टुराँका कारण यस क्षेत्रमा गिद्धको संख्या ४०० प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ। जटायु रेस्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डीबी चौधरीले पछिल्लो गणना अनुसार यहाँ ५१७ गिद्ध भेटिएको जानकारी दिए।
“रेस्टुराँ शुरू गर्ने वेला यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो,” चौधरीले भने, “हामीले गरेको पछिल्लो अध्ययन अनुसार यहाँ आठ प्रजातिका ५१७ गिद्ध तथा यस क्षेत्रमा गिद्धका १०० वटा गुँड रेकर्ड गरिएको छ।”
कावासोती-१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेस्टुराँमा नेपालमा पाइने नौमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताए। उनका अनुसार यहाँ रैथाने प्रजातिका डंगर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध पाइन्छन्। समुदायले व्यवस्थापन गरेको यस जटायु रेस्टुराँमा गिद्धलाई नियमित रूपमा आहारा (मासु) खुवाउने गरिएको छ।
नेपालमा पछिल्लो समय अन्य ६ स्थानमा जटायु रेस्टुराँ विस्तार गरिएको जनाउँदै चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग गरेको बताए। समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेस्टुराँलाई गिद्धका वासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैंडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ।
“नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो,” उनले भने, “त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो।”
हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेस्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए। त्यस्तै, ७७ जंगली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उनको भनाइ छ। केन्द्रमा प्रजनन भएर रेस्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न शुरू गरेको पनि अध्यक्ष चौधरीले बताए। प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उनले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए।
जटायु रेस्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन २०० किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उनले बताए।
गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्न रेस्टुराँले गौशाला समेत निर्माण गरेको छ। “छाडा छोडिएका गाईबस्तु ल्याएर राख्ने, उनीहरूको मलमूत्रबाट बायोग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरू मरेपछि गिद्धको आहारामा प्रयोग गर्ने गरी हामी अघि बढेका छौं,” उनले भने, “यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन शुरू गर्ने तयारी गरेका छौं।”
गिद्धलाई आहारा खुवाउने दिन पर्यटनसँग जोडिएका संघसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी पनि गरिएको छ। “रेस्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ,” उनले भने, “उनीहरूले प्राकृतिक रूपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो।”
विषादीयुक्त आहारा र पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रूख मासिंदै गएपछि गिद्धको संख्या पनि घट्दै गएको थियो। यसैलाई समाधान गर्न नेपालमा पहिलो पटक समुदायस्तरबाट विसं २०६३ भदौ (सन् २००६)मा जटायु रेस्टुराँको स्थापना गरिएको थियो।
चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेस्टुराँको सञ्चालन र व्यवस्थापन गरिएको हो। पशुचौपाया बिरामी हुँदा उनीहरूलाई दुखाइ कम गर्न दिइने ‘डाइक्लोफेनेक’ जातको औषधिरहित शुद्ध आहारा उपलब्ध गराई गिद्धलाई संरक्षण गर्ने उद्देश्यले पिठौलीमा एशियाकै पहिलो समुदायस्तरको जटायु रेस्टुराँ खोलिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको बताउँछन्।
डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, वासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौतीका कारण प्रकृतिबाट गिद्ध लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। प्राकृतिक कुचीकारका रूपमा रहेको गिद्ध संरक्षणमा पहल तथा चुनौतीबारे छलफल गर्दै संरक्षणमा योगदान पुर्याउने उद्देश्यले हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ। -रासस