राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ मा
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले आइतबार सार्वजनिक गरेको कार्यक्रम अनुसार आउँदो पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिने भएको छ। त्यसमाथि दाबी विरोध गर्न दुई दिनको समय दिइएको छ भने पुस २२ मा अन्तिम नामावली प्रकाशित हुनेछ।
आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गरिने भएको छ।
त्यसको भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय दिइएको छ भने त्यसमाथि छानबिन गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। पुस २७ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
पुस २८ मा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। त्यसपछि माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। त्यही दिन मतगणना हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन्।
राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिंदै छ। रिक्त पदमा निर्वाचन हुन लागेको हो।