बसबाट ओर्लिंदा लडेकी वृद्धाको टायरले किचिएर मृत्यु
ओर्लिने क्रममा लडेकी वृद्धाको आफैं चढेको बसले किच्दा ज्यान गएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५, कुवामा ७० वर्षीया कान्छीमाया घलानको आफैं चढेको बसले किच्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्बरको बसले किच्दा उनको ज्यान गएको हो।
इन्द्रसरोवरको कुवामा ओर्लिने क्रममा चालकले बस अगाडि बढाउँदा उनी लडेकी थिइन्। बसको पछाडिको टायरले किचिंदा घाइते भएकी थिइन्।
उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल लगिएकी वृद्धालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बस चालक २६ वर्षीय राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।