महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मंसीर १८ गते सचिवालय बैठक बोलाएको छ।
एकीकृत समाजवादीले आगामी माघमा महाधिवेशन आयोजना गर्ने तय गरेको थियो। त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुंगो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन लगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए।
पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर क्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ।
बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।