कटारी-सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामकरण
कटारी-ओखलढुंगा-सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामकरण गरिएको छ।
कोशी प्रदेश नामकरणमा असहमति राखेर संघर्ष गरिरहेको पुन: नामांकन संयुक्त संघर्ष समितिले नामकरण गरेको हो। पुन: नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीमा कार्यक्रम आयोजना गरी ‘घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण उद्घाटन तथा पहिचान विरोधी ८२ प्लस विरुद्ध खबरदारीसभा’ मा कटारी-ओखलढुंगा-सोलुखुम्बु सडकको नामकरण गरिएको हो।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-१, मोलीमा १९७७ फागुन ६ गते जन्मेका राईको २०६७ असार २० गते निधन भएको थियो। पूर्व मन्त्री राईको सम्झना र सम्मानमा नामकरण गरिएको संयोजक डकेन्द्रसिं थेगिमले बताए।
ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई पूर्वसँग जोड्ने एक मात्र कटारी-ओखलढुंगा-सोलुखुम्बु सडक राई आवास तथा भौतिक योजनामन्त्री भएकै वेला निर्माण शुरू भएको थियो। त्यसैले पनि उनकै नामबाट सडकको नामकरण गरिएको जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य धीरेन्द्र रुम्दालीले बताए।
२००७ सालको राणा विरोधी आन्दोलनको नेतृत्वकर्तामध्येका एक राईको योगदानको सम्मानस्वरूप सरकारले २०७३ सालमा हुलाक टिकट प्रकाशनमा ल्याएको थियो।