‘महिला क्रिकेट उकास्न पुरुष टोलीलाई जत्तिकै हौसला दिइनुपर्छ’
‘कतिसँग व्यक्तिगत तालीम लिने हैसियतसम्म हुँदैन। क्रिकेट मात्र खेलेर आउने पैसाले टिक्नै गाह्रो छ। तत्काललाई मासिक तलब १० प्रतिशत नै बढे पनि ठूलो कुरा हुन्थ्यो।’
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी नवनियुक्त कप्तान हुन् इन्दु बर्मा। हङकङमा चार देश सम्मिलित टी-२० शृंखला खेलेर बर्मा दुई साताअघि मात्र स्वदेश फर्किइन्। शृंखलामा नेपाल तेस्रो भयो।
अन्तर्राष्ट्रिय सहभागिताको अवसर कमै पाउने महिला क्रिकेट खेलाडीले देशभित्र पनि फाट्टफुट्ट मात्र खेल्न पाउँछन्। अन्य खेल गतिविधि पनि कमै भइरहँदा महिला टोली उति प्राथमिकतामै परेको देखिन्न। त्यसैले खेलाडीहरू महिला क्रिकेटको अस्तित्व खोज्नुपर्ने अवस्था निम्तिएको बताउन थालेका छन्।
अहिले घरेलु प्रतियोगिता बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा व्यस्त रहेकी बर्मासँग नेपालमा महिला क्रिकेटको अवसर, अवस्था र चुनौतीबारे हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश:
भर्खरै हङकङमा टी-२० शृंखला खेलेर आउनुभयो। अन्तर्राष्ट्रिय खेलमा राष्ट्रको नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो?
कप्तानको भूमिका लिएपछि त्यसलाई प्रमाणित गर्न लागिंदो रहेछ। यस अर्थमा जिम्मेवारी बढेको अनुभूति भयो। कप्तान भएपछि आफूले मात्र खेल्नेभन्दा टोलीलाई नै अघि बढाउने कुरा प्राथमिकतामा पर्दो रहेछ। ‘अन द फिल्ड’ र ‘अफ द फिल्ड’ दुवैमा ध्यान दिनुपर्ने रहेछ।
शृंखलामा नेपालले सोचे जस्तो प्रदर्शन गर्न सकेन। कमजोरी कहाँ रह्यो?
तान्जानियासँगको पहिलो खेलमा दुई ओभर नसकिंदै मुख्य खेलाडी सीता दिदी घाइते हुनुभयो। त्यसपछि लगातार विकेट झर्न थाल्यो। हामीले लामो समय खेल्न सकेनौं। विकल्प बाँकी नरहेपछि सीता दिदी घाइते अवस्थामै फेरि मैदान प्रवेश गर्नुभयो। राम्रो पनि खेल्नुभयो तर जित्न सकेनौं। बाँकी खेलमा पनि अवस्था यस्तै रह्यो।
कप्तानका रूपमा मेरो पनि पहिलो अनुभव थियो। पहिलो खेलबाटै धेरै कुरा परिवर्तन गर्न सकिंदो रहेनछ भन्ने सिकें। एक त टोली पनि नयाँ थियो। अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको अनुभव नभएकाले पनि होला। अबका दिनमा यी सबै कमजोरी सुधार्न जरुरी छ। यही टोलीमा दुई-तीन अनुभवी खेलाडी थप भए राम्रो गर्न सकिन्छ कि जस्तो लाग्छ।
खेलाडी मात्र हुनु र कप्तानी नै सम्हाल्नुको फरक कस्तो हुँदो रहेछ?
खेलाडी मात्र हुँदा आफूले कसरी राम्रो खेल्ने भन्ने लाग्थ्यो। कप्तान भएपछि चाहिं टोलीलाई नै कसरी राम्रो बनाउने भन्ने हुँदो रहेछ। जित र हारको जिम्मेवारी दुवै आफैंले लिन सक्नुपर्ने रहेछ। यसले गर्दा खुशीसँगै चुनौती पनि उत्तिकै अनुभव गरियो। यद्यपि यसलाई अवसरका रूपमा लिएकी छु।
कुनै वेला पुरुष टोलीले भन्दा राम्रा अन्तर्राष्ट्रिय नतीजा दिने महिला क्रिकेट टोलीको क्षमता अहिले खस्किए जस्तो लाग्दैन?
यसमा खेलाडीसँगै नेपाल क्रिकेट संघ (क्यान)को पनि कमजोरी रह्यो होला। नत्र हामी अहिले यो स्तरमा नहुनुपर्ने हो। क्यानले आवश्यक ठाउँमा प्रोत्साहन नगरेको हुन सक्छ। तर अब कसैलाई दोषी देखाएर पन्छिनेभन्दा खेलाडीले मेहनत गर्नुपर्छ। क्यानले पनि खेलाडीका आवश्यकता पूरा गर्नतिर ध्यान दिनुपर्छ।
अर्कातिर प्रशिक्षक फेरिइरहने समस्या थियो। एउटै प्रशिक्षक लामो समय रहँदा मात्र दुवै पक्षले एकअर्कालाई बुझ्न सक्छन्। तब नतीजा पनि राम्रो आउँछ। खेलाडीसँग राम्ररी संगत गरेपछि मात्र प्रशिक्षकले उसलाई मानसिक रूपमा तयार पार्न सक्छ। अहिले व्यवस्थापन, प्रशिक्षक, कप्तान सबै फेरिएको नयाँ माहोल छ। ब्याटिङका लागि भारतबाट नयाँ प्रशिक्षक आउनुभएको छ। एउटै प्रशिक्षकसँग लामो समय सिक्न पाए हुन्थ्यो।
सुधार्नुपर्ने अन्य पक्ष केकस्ता छन्?
मुख्य कुरा त घरेलु प्रतियोगिताहरू हुनुपर्यो ताकि धेरैभन्दा धेरै अभ्यास गर्न सकियोस्। यसबाट खेलाडीको क्षमता बढ्छ। सहकार्यको अवसर जुट्छ। आफूलाई थाहा नभएका कुरा अरूबाट सिक्न, नयाँ योजना बनाउन सकिन्छ। वर्षमा कम्तीमा देशभित्र सात-आठवटा प्रतियोगिता खेल्ने अवस्था हुनुपर्छ।
केही समयअघि त वर्षमा एउटा मात्र प्रतियोगिता हुन्थ्यो। अहिले संख्या केही बढे पनि पर्याप्त छैन। जति धेरै प्रतियोगिता भयो, खेलाडी उति फर्ममा रहने हुन्। नयाँ खेलाडी पनि उत्पादन हुन्छन्। महिला टोलीलाई पनि पुरुष टोलीलाई जसरी नै प्रवर्द्धन गरिनुपर्छ। यो कुरामा क्यानले विशेष ध्यान दिनुपर्छ।
महिला क्रिकेटका सबल र दुर्बल पक्ष के के हुन्?
अहिले ब्याटिङमा केही कमजोरी देखिएको छ। पहिलाको जस्तो गर्न सकिएको छैन। गर्नुपर्ने काम अरू पनि छन्। तत्काल चाहिं ब्याटिङ नै सुधार्न सके राम्रो नतीजा आउन सक्छ।
पुरुष टोलीले एक-दुई वर्षमै उल्लेख्य सुधार गरेको छ। यसको श्रेय खेलाडीसँगै प्रशिक्षकलाई जान्छ। पुरुष टोलीले जस्तो प्रशिक्षण पाइरहेको छ, हाम्रा लागि पनि त्यस्तै माहोल बनाइनुपर्छ।
महिला टोली क्यानको प्राथमिकतामै नरहेको गुनासो पनि वेलाबखत सुनिन्छ। तपाईंले त्यस्तो महसूस गर्नुभएको छ?
पहिला पहिलाको कुरा थाहा छैन। तर अहिले क्यानले भरपूर कोशिश गरिरहेको छ। अहिलेका योजना हेर्दा महिला क्रिकेटमा केही राम्रो काम गर्न गइरहेको देखिन्छ।
पुरुष र महिला टोलीबीच भत्तामै विभेद छ नि? यसले पनि नतीजामा प्रभाव पारेको हो कि?
यसो किन गरिएको हो, थाहा छैन। सेवासुविधाले धेरै अर्थ त राख्छ नै। सरकारले हामीलाई पनि उत्तिकै सेवासुविधाको व्यवस्था गर्ला भन्ने अपेक्षा छ। क्यानले पनि भर्खरै नयाँ खेलहरूको कन्ट्र्याक्ट शुरू गर्दै छ। भविष्यमा राम्रो हुने आशामा छौं। तर सुविधा पर्खेर खेल कमजोर बनाउने भन्ने हुँदैन।
पछिल्लो समय खेलाडी विदेशिने क्रम बढेको छ? उनीहरू अवसर र सम्भावना नदेखेरै गएका हुन्?
हुन सक्छ। खेलाडीले धेरै समय देशकै लागि खर्चेको हुन्छ। तर सामान्य जीवनयापन गर्ने आम्दानी समेत नहुँदा दुःख लाग्नु स्वाभाविक हो। सजिलो गरी जीवन चलाउने तलब मात्र पाए पनि धेरै खेलाडीले देश छाड्ने थिएनन्।
मेरो हकमा त्यति असहज नहोला। एपीएफ र क्यान दुवैतिरबाट सहयोग हुँदा सामान्य जीवन चलाउन सकेकी छु। तर सबैको यस्तो अवस्था छैन। एपीएफबाट तलब पाउने दुई-तीन जना मात्र छन्। अरूले खेल नभएका वेला बेरोजगार बस्नुपर्छ।
कतिसँग व्यक्तिगत तालीम लिने हैसियतसम्म हुँदैन। क्रिकेट मात्र खेलेर आउने पैसाले टिक्नै गाह्रो छ। सरकारले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। खेलाडीलाई आवश्यक सबै खेल उपकरण उपलब्ध गराइनुपर्छ। तत्काललाई मासिक तलब १० प्रतिशत नै बढे पनि ठूलो कुरा हुन्थ्यो।
अहिले त देशभर क्रिकेटको क्रेज छ। नेपाली क्रिकेटलाई थप उचाइमा लैजान यो माहोललाई कसरी उपयोग गर्न सकिएला?
अहिले पुरुष टोलीले राम्रो नतीजा दिएकाले क्रिकेटमा धेरैको ध्यान खिचिएको छ। पहिला यत्तिको क्रेज थिएन। नयाँ पुस्तालाई पनि अहिले क्रिकेटमा केही छ भन्ने लागेको छ। यस्तोमा खेलाडीहरू झन् धेरै प्रतिबद्ध हुन आवश्यक छ।
म देशका लागि खेल्दै छु, जस्तोसुकै अवस्थामा पनि खेल छाड्नेछैन भन्ने भावना हुनुपर्छ। त्यसै अनुसार क्षमता बढाउँदै जानुपर्छ। राम्रो खेलाडी बन्न जस्तो परिस्थितिमा पनि खेल्छु भन्ने भोक त हुनैपर्छ।
पुरुष टोलीले एकपछि अर्को राम्रो नतीजा दिन सक्नु पछाडिको कारण के होला?
मुख्य कुरा टोलीमा एकता छ। खेलमा ‘बोन्डिङ’ छ। अगाडिका ब्याटर चलेनन् भने मध्यक्रमका अनि ती पनि नचले अन्तिमकाले पनि जिताउन सक्ने अवस्था छ। बलियो आत्मविश्वासले नै यस्तो हुने हो जुन महिला टोलीमा कम छ। हामीले त्यसमा काम गर्न जरुरी छ।
महिला टोलीको कप्तानका रूपमा तपाईंको अबको लक्ष्य के हो?
११-१२ वर्ष भइसक्यो, देशका लागि एउटा ट्रफी पनि ल्याउन सकेका छैनौं। विश्वकप पछि सोचौंला। तत्काल चाहिं त्यसका लागि ‘क्वालिफाई’ हुन आवश्यक छ।
अहिले पीएम कप चलिरहेको छ। म आफ्नै टीम एपीएफबाट खेल्दै छु। अन्य खेलाडी पनि त्यसमै व्यस्त हुनुहुन्छ। यसपछि हामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका निम्ति तालीममा ध्यान केन्द्रित गर्नेछौं।