टिकटक प्रतिबन्ध गर्ने निर्णयमा अमेरिकी अदालतको रोक
टिकटकमा प्रतिबन्ध लगाउने अमेरिकाको मोन्टाना राज्यको निर्णयलाई अदालतले रोकेको छ।
मोन्टना जिल्ला अदालतका न्यायाधीश डोनल्ड मोलोयको इजलासले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय असंवैधानिक भनेको छ।
मोन्टानामा रिपब्लिकन पार्टीका गर्भनर जर्ज जेनफोर्टले टिकटकमा प्रतिबन्ध लगाउने गरी सिनेटले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका थिए।
मोन्टानामा चिनियाँ जासूसी बेलून देखिएको आशंकापछि टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको थियो। टिकटकको मूल कम्पनी ‘बाइटडान्स’ बेइजिङमा आधारित भएकाले चीनले यस एपबाट प्रयोगकर्ताको जानकारीमा पहुँच पाउने र निगरानीमा राख्ने आशंकामा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने निष्कर्ष निकालिएको थियो।
यो कार्यान्वयन आउनु एक महीनाअघि अदालतले रोकेको हो। अदालतले टिकटकमा लगाइएको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन हुने ठहर गरेको बीबीसीले उल्लेख गरेको छ।
अदालतको यो निर्णय प्रारम्भिक हो। अन्तिम फैसलाको सुनुवाइ भने केही महीना पछि हुनेछ।