हिमालकर्मी सहित चार पत्रकार पुरस्कृत
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हिमालखबरका रमेशकुमार न्यौपानेलाई भोला चालिसे लिबरल जर्नालिज्म अवार्ड प्रदान गरेको छ।
हिमालखबरका समाचार प्रमुख न्यौपानेलाई सेजन दिवसको अवसरमा मंसीर १५ गते आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो। यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ।
प्रत्येक वर्ष प्रदान गरिने सेजन अवार्डबाट कान्तिपुर दैनिकका देवेन्द्र भट्टराई र मातृका दाहाललाई पुरस्कृत गरिएको छ। सेजन अवार्डको राशि एक लाख रुपैयाँ छ।
यस्तै क्लिकमान्डुका राजेश बर्माले ५० हजार रुपैयाँ राशिको सेजन डिजिटल मिडिया अवार्ड प्राप्त गरेका छन्। सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिका दैनिककी मुना कुँवरलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।
त्यस्तै, ५० हजार राशिकै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ। एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेले पाएका छन्।
सेजनको २७औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताए। कार्यक्रममा ब्यांकर्स संघका अध्यक्ष सुनील केसी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लगायतले मन्तव्य राखेका थिए।