गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा लगानी छैन
अन्तर्राष्ट्रिय मिडियासँग यथेष्ट स्रोतसाधन हुने र प्राथमिकता पनि भएकाले उनीहरूको काम गजब देखिन्छ, प्रस्तुति शानदार हुन्छ। एउटा सामग्री तयार गर्न ठूलै टीम जुटेको हुन्छ। तर नेपालमा न त्यस्तो स्रोतसाधन छ न त पत्रकारलाई त्यस्तो अवसर छ।
नदीजन्य वस्तुको अवैध दोहन र त्यसले निम्त्याएको वातावरणीय जोखिममा केन्द्रित भएर २०७७ सालमा मैले नेपाली टाइम्स, खोज पत्रकारिता केन्द्र (खोपके) र रेकर्ड नेपालमा शृंखलाबद्ध रिपोर्ट लेखेकी थिएँ। यो शृंखलामा काम गर्न एक वर्ष जति लागेको थियो। यी रिपोर्टले नदीजन्य वस्तुको उत्खननका कारण वातावरणमा परेको दुष्प्रभाव, वातावरणीय हिसाबले संवेदनशील चुरे क्षेत्रमा भइरहेको दोहनको आपराधिक पाटो र गिट्टी-ढुंगा निर्यात गर्ने सरकारी योजनाले ल्याउन सक्ने वातावरणीय जोखिमबारे खोतलेका थिए।
उति वेला नेपालमा नदीजन्य वस्तुको अवैध दोहनबारे समाचारहरू नआएका होइनन् तर त्यसले कस्तो वातावरणीय जोखिम निम्त्याएको छ, स्थानीय बासिन्दाको जीवनमा कसरी प्रभाव पारेको छ भनेर विस्तारपूर्वक रिपोर्टिङ गर्नुपर्ने देखिएको थियो। यसको आपराधिक पाटो अर्को महत्त्वपूर्ण मुद्दा थियो। गिट्टीबालुवाको अवैध दोहनको विरोध गर्दा धनुषाका युवा दिलीप महतोको क्रसर व्यवसायीकै संलग्नतामा हत्या गरिएको थियो। अर्कातिर, नदीजन्य वस्तुको दोहन सुशासनसँग पनि जोडिएको छ। यसको अनियन्त्रित दोहनमा सरकारी निकायहरूको लापरवाही र स्वार्थ पनि जोडिएको हुन्छ। त्यो रिपोर्टिङ शृंखलामा यी सबै पाटो समेटेकी थिएँ।
कोभिड-१९ महामारी शुरू हुँदा मैले बर्था च्यालेन्ज अन्तर्राष्ट्रिय फेलोशिप पाएकी थिएँ। त्यही फेलोशिप अन्तर्गत यो रिपोर्टिङ शृंखलामा काम गरें। यो शृंखलाले सन् २०२१ मा अन्तर्राष्ट्रिय फेटिसोभ जर्नालिज्म अवार्डमा वातावरणीय रिपोर्टिङतर्फ दोस्रो पुरस्कार पायो।
रिपोर्टिङको पृष्ठभूमि
मैले एक दशकअघि रिपोर्टिङ शुरू गर्दा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसँग काम गर्ने अवसर पाएकी थिएँ। त्यस क्रममा वातावरण र जलवायु परिवर्तनको विषयमा लेख्न उत्प्रेरणा मिलेको थियो। रिपोर्टरले काम थाल्दा कस्तो खालका सम्पादक र अग्रजसँग काम गर्न पाउँछ भन्ने कुराले उसको बाँकी करिअर र बिट छनोटमा प्रभाव पार्छ। मलाई सौभाग्यवश वातावरणको विषयमा सिद्धहस्त पत्रकार दीक्षितसँग काम गर्ने अवसर मिल्यो र यो मुद्दामा काम गर्न सजिलो भयो। यद्यपि यसमा मेरो पनि रुचि थियो।
विगतमा मैले वातावरण सम्बन्धी रिपोर्टिङ गरेकाले बर्था फेलोशिपमा आवेदन दिंदा नदीजन्य वस्तुको अवैध दोहनको विषय प्रस्ताव गरेकी थिएँ। यो नेपालका लागि त नयाँ विषय थिएन, अन्तर्राष्ट्रिय पाठकसामु नयाँ तरीकाले र विस्तृत रूपमा बताउन जरुरी छ भन्ने लागेको थियो।
वातावरणीय मुद्दा भन्नासाथ हिमाल वा नदीका कुरा आउँछन्। तर वातावरणमा परेको असरले आममानिसको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने असाध्यै महत्त्वपूर्ण हुन्छ। समाचारमा मान्छेको अनुहार देखाउनु धेरै महत्वपूर्ण हुन्छ भन्ने मैले सिकेकी थिएँ। अर्थात्, नदीजन्य पदार्थको अवैध दोहनको रिपोर्टिङ गर्दा ढुंगागिट्टी निकालियो वा पानीको मुहान सुक्यो भनेर मात्रै पुग्दैन, त्यसले के प्रभाव पर्यो, किसान कसरी मर्कामा परे भन्ने पाटो पनि महत्त्वपूर्ण हुन्छ। अवैध दोहनबाट सुनकोशीमा माझी समुदायको जीवनमा कस्तो प्रभाव परेको छ भन्ने विषय रुचिकर हुन्थ्यो।
रिपोर्टिङको प्रस्ताव गर्दा देशभरिका नदीहरूमा भइरहेको दोहन हेर्ने विचार थियो। तर कोभिड महामारीको रोकथामका लागि बन्दाबन्दी शुरू भयो। ‘डेडलाइन’ मा रिपोर्ट सक्नुपर्ने भएकाले मैले धनुषा, सिन्धुपाल्चोक सहितका जिल्लामा गएर रिपोर्टिङ गरेकी थिएँ। महामारीका वेला रिपोर्टिङ गर्न हिंड्नु सजिलो थिएन। अर्कातिर, नदीजन्य पदार्थको दोहनको विरोध गर्दा हिंसामा परेका व्यक्ति वा परिवारका सदस्यसँग कुरा गर्न सजिलो थिएन। किनभने उहाँहरू खुलेर कुरा गर्न हिचकिचाउनुहुन्थ्यो। जिल्ला जिल्लामा रहेका पत्रकार साथीहरूको सहयोगले मलाई धेरै सजिलो भयो।
यो रिपोर्टिङ शृंखलाले मलाई धेरै सिकायो। अन्तर्राष्ट्रिय फेलोशिप अन्तर्गतको रिपोर्टिङ भएकाले अन्तर्राष्ट्रिय सम्पादकहरूका सुझाव नेपालको समाचार अन्तर्राष्ट्रिय पाठकका लागि समेत कसरी रुचिकर बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो। फेलोशिप खोपकेमा रहेर गरेकाले रिपोर्टिङमा निखार ल्याउन त्यहाँबाट पनि सहयोग पाएँ। फेलोशिप अन्तर्गतको भएकाले स्रोतसाधन उपलब्ध हुनाले शब्दमा मात्रै नभई मल्टिमिडिया रिपोर्टका रूपमा प्रस्तुत गरेका थियौं। त्यसमा फोटो पत्रकार विक्रम राईले सघाउनुभएको थियो। भिडिओ खिच्दा नदीजन्य पदार्थको दोहनले पारेको असर प्रत्यक्ष देखे सरह होस् भनेर ड्रोनको प्रयोग गरी दृश्यांकन गरिएको थियो।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले ढुंगागिट्टीको निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव गरेको थियो। बजेट सार्वजनिक भएको एक-दुई दिनसम्म यसबारे गहन खालका समाचार लेखिएको थिएन। मैले त्यसको अन्तर्य के हो भनेर खोतलेको रिपोर्ट अंग्रेजी अनलाइन रेकर्ड नेपालमा छापियो। त्यो रिपोर्ट प्रकाशन भएपछि अन्य नेपाली समाचार कक्षले पनि यसबारे रिपोर्टिङ गरे।
अन्तर्राष्ट्रिय पहुँच
अन्तर्राष्ट्रिय अवार्डमा नेपाली पत्रकारको पहुँच कमजोर देखिन्छ। यद्यपि विश्वव्यापी रूपमा अंग्रेजी माध्यम वा पश्चिमा मिडियामा आएका रिपोर्ट मात्रै होइन, स्थानीय स्तरमा भइरहेका प्रभावकारी र महत्त्वपूर्ण खोज रिपोर्टलाई अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार गर्न थालिएको छ। अन्य भाषामा छापिएका राम्रा रिपोर्टलाई अनुवाद गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाउन सकिन्छ। उदाहरणका लागि, बोजु बजै पडकास्टका लागि म, सिर्जना खड्का र इतिशा गिरीले तयार गरेको नेपालमा गर्भपतन अधिकारबारेको एपिसोड गत नोभेम्बरमा बेलायतमा ‘इन्टरन्याशनल वुमेन्स पडकास्ट अवार्डस्’ मा ‘शर्टलिस्ट’ मा परेको थियो।
हाम्रो पडकास्टको भाषा नेपाली भए पनि यसलाई अंग्रेजीमा अनुवाद गरेर प्रतिस्पर्धामा पठाएका थियौं। नेपाली पत्रकारको दक्षता नपुगेको वा अन्यत्रको तुलनामा कमजोर रहेको जस्तो मलाई लाग्दैन। यस्ता खाले अवसर पत्रकार आफैंले खोज्नुपर्छ र प्रतिस्पर्धामा होमिनुपर्छ भन्ने चाहिं लाग्छ। मभन्दा अगाडि पत्रकार दीपक अधिकारीको आप्रवासनको स्टोरीले अन्तर्राष्ट्रिय अवार्ड जितेको कुराले मलाई पनि प्रतिस्पर्धामा भाग लिन हौसला दिएको थियो।
नेपाली पत्रकारका कामले पाउनुपर्ने जति सम्मान किन पाइरहेको छैन भन्ने अन्तर्य पनि केलाऔं। हाम्रो समाचार कक्षमा लामो समय खर्चिएर गहन र लामो रिपोर्टिङ गर्ने स्रोतसाधनको अवसर कम छ। मैले द काठमान्डु पोस्टमा काम गर्दा अन्तर्राष्ट्रिय मिडिया बजफीड न्यूजसँगको सहकार्यमा प्रजनन स्वास्थ्य सम्बन्धी लामो रिपोर्ट प्रकाशन गर्न समाचार कक्षको ठूलो सहयोग पाएकी थिएँ। यो रिपोर्ट ट्रू स्टोरी अवार्डमा छनोट भएको थियो। तर हामीकहाँ गहन र लामो स्टोरी गर्न धेरै समाचार कक्षले रिपोर्टरहरूलाई अवसर दिन सकेका वा चाहेका छैनन्।
अमेरिकामा रिपब्लिकन पार्टीबाट डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीको सिद्धान्त अनुसार प्रजनन स्वास्थ्यमा सरकारी सहयोग कटौती गरिएको थियो। त्यसले विश्वव्यापी प्रभाव पारेको थियो। अमेरिकी सरकारको यो निर्णयले नेपालमा पारेको प्रभावबारे बजफीड न्यूजकी निशिता झाले चासो राखेपछि मैले उनीसँगको सहकार्यमा यसबारे रिपोर्टिङ गर्ने अवसर पाएँ। किनकि अमेरिकी सहयोगका परियोजना नेपालमा पनि सञ्चालित थिए र सहयोग कटौतीको निर्णयले महिला स्वास्थ्य, गर्भपतन सेवामा प्रभाव पारेको थियो।
नेपालबारे विदेशी पत्रकारसँग मिलेर गरेको मेरो पहिलो रिपोर्टिङ थियो यो। यो स्टोरीलाई उति वेला अमेरिकी सांसद एलिजावेथ वारेनले पनि ट्वीट गरेपछि अन्तर्राष्ट्रिय चासोको विषय बन्यो। अन्यथा, नेपालको स्टोरी भन्नासाथ हिमालबारे मात्रै हुने गर्थ्यो।
मैले स्थानीय र अन्तर्राष्ट्रिय मिडिया दुवैका लागि रिपोर्टिङ गरेकी छु। यसको आधारमा म के भन्न सक्छु भने हाम्रा मिडिया कमजोर छैनन्। किनभने हाम्रा स्थानीय रिपोर्टरले तयार पारेका धेरै रिपोर्टका आधारमा अन्तर्राष्ट्रिय मिडियाले थप काम गरेर प्रकाशन गर्ने गरेका छन्। जेमा पनि म स्रोतसाधनको उपलब्धता कति छ भनेर हेर्छु। अन्तर्राष्ट्रिय मिडियासँग यथेष्ट स्रोतसाधन हुने र प्राथमिकता पनि भएकाले उनीहरूको काम गजब देखिन्छ, प्रस्तुति शानदार हुन्छ। एउटा सामग्री तयार गर्न ठूलै टीम जुटेको हुन्छ। बाइलाइनमा जसको नाम भए पनि खोजी पत्रकारिता त टीमवर्क नै हो। तर नेपालमा न त्यस्तो स्रोतसाधन छ न पत्रकारलाई त्यस्तो अवसर छ।
अन्तर्राष्ट्रिय मिडियाका समाचार कक्षले पत्रकारहरूमा धेरै लगानी गरेका हुन्छन्। त्यहाँको समाजमा मिडियाको विशिष्ट स्थान भएको र प्रभाव पनि पर्ने भएकाले उनीहरूको लगानी ठूलो भएको होला। हामीकहाँ पत्रकारलाई समाचार कक्षले पर्याप्त स्रोतसाधन दिन नसकेको एउटा पाटो छ तर पत्रकारको सीप र दक्षताको कमी भए जस्तो चाहिं लाग्दैन। अहिले नेपाली मिडियामा काम गर्ने रिपोर्टर साथीहरूका कुरा सुन्दा उहाँहरूले गहन र खोजी समाचारमा काम गर्न खोजेको तर समाचार कक्षमा त्यसका लागि चाहिने स्रोतसाधन र समय उपलब्ध नभएको बताउनुहुन्छ। समय पर्याप्त दिन सक्दा र स्रोतसाधन खर्चिन सक्ने भए मात्रै खोजी रिपोर्टिङ राम्रो बन्ने हो।
प्रायजसो समाचार कक्षमा त्यो अवसर देख्दिनँ। उदाहरणका लागि, नेपालमा कति वटा समाचार कक्षमा खोजी पत्रकारिता गर्ने छुट्टै जनशक्ति छ? मैले बजफीडकी निशितासँग काम गर्दा के थाहा पाएँ भने उनले वर्षभरिमा आफ्नो बिटमा थोरै मात्रै गहन र खोजमूलक रिपोर्टमा काम गर्ने सुविधा पाउने रहिछन्। जसले गर्दा रिपोर्टरको दक्षता र विशिष्टीकृत क्षमता बढ्दै जाने हुन्छ।
रिपोर्टिङका लागि सिकाइ
विदेशी मिडियासँग स्रोतसाधन भएकाले प्रस्तुति गर्ने तरीका पनि फरक र रचनात्मक हुन्छ। जस्तै- नेपाली युवाको आप्रवासन सम्बन्धी मेरो अन्तर्देशीय रिपोर्टिङ स्वीट्जरल्यान्डको रिपोर्ताज म्यागजिनमा कभर स्टोरीका रूपमा छापिएको थियो। त्यो स्टोरीमा नेपाली कामदारको तस्वीर देखाउन नमिल्ने संवेदनशीलता बुझेर उनीहरूले कार्टून बनाउन छुट्टै कार्टूनिस्ट नै नियुक्त गरेका थिए।
त्यो रिपोर्टिङ मैले जर्मन पत्रकार फाबियान फेब्रोलसँग मिलेर लेखेकी थिएँ। यसअघिका मेरा आप्रवासन सम्बन्धी रिपोर्टिङ देखेर उहाँले मलाई सम्पर्क गरेर अन्तर्देशीय रिपोर्टिङको प्रस्ताव गर्नुभएको थियो। जर्नालिज्म फन्ड डट ईयूले अन्तर्देशीय सहकार्यका लागि स्रोतसाधन र सम्पादकीय परामर्श दिन्छ, त्यसै अन्तर्गत यो रिपोर्टिङ गरिएको थियो। त्यो रिपोर्टिङले मलाई थुप्रै कुरा सिकायो।
त्यही विषयसँग सम्बन्धित बीबीसीको वृत्तचित्रमा अहिले म काम गरिरहेकी छु। त्यो रिपोर्टिङ गर्न म पोर्चुगलसम्म पुगेकी थिएँ। यूरोपेली पत्रकारलाई नेपाल आएर रिपोर्टिङ गर्न जति सजिलो छ, भिसा अनुमति, खर्च आदि कारणले नेपाली पत्रकारलाई यूरोप पुगेर रिपोर्टिङ गर्न उत्तिकै कठिन हुन्छ।
विगतमा कुनै सम्बन्ध नभएका यूरोपका रोमानिया, क्रोएशिया, सर्विया, पोर्चुगल लगायत देशमा पछिल्लो समय वैध-अवैध बाटोबाट नेपाली युवा कामका लागि जाने क्रम बढेको छ। त्यसैले त्यहाँका मिडियालाई यस विषयमा रिपोर्टिङ गर्ने चासो छ। यो नेपाली रिपोर्टरलाई अन्तर्देशीय रिपोर्टिङको अवसर हो।
आप्रवासन नेपालको मात्रै स्टोरी होइन, अन्तर्राष्ट्रिय चासो हो। अन्तर्राष्ट्रिय मिडियाका पत्रकारले ‘फिक्सर’ का रूपमा स्थानीय पत्रकारलाई काम लगाउने र बाइलाइन नदिने विगतको अभ्यास अहिले फेरिएको छ। जुन ठाउँ र मान्छेको स्टोरी गर्ने हो त्यहींको पत्रकारसँग मिलेर काम गर्नुपर्छ भन्ने बुझाइ विकसित भएको छ।
नेपालमा खोज र गहन पत्रकारिताको महत्त्व कति छ भनेर भनिराख्नै पर्दैन। सबैभन्दा मुख्य कुरा चाहिं, समाचार कक्षमा भर्खरै आउँदै गरेका पत्रकारको झुकाव यसप्रति कसरी बढाउने भन्ने हो। नेपाली समाचार कक्षमा ‘मेन्टरशिप’ को ठूलो खाँचो छ। मैले पत्रकारिता थाल्दा मेरो सम्पादक राम्रो नभएको भए मेरो प्राथमिकता अर्कै हुन्थ्यो होला। पत्रकारलाई शुरूआतदेखि नै सिकाइको अवसर चाहिन्छ।
स्टोरी कसरी खोज्ने, स्रोत कसरी बनाउने भनेर समाचार कक्षले सिकाउनुपर्छ। नयाँ रिपोर्टरलाई स्रोतसँग चिनजान गराउने, बाटो देखाउने, सहयोग गर्ने जिम्मा मेन्टरहरूको हो। पत्रकारका लागि सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो। पत्रकारले नयाँ कुरा सिक्न छोड्नु हुँदैन। रिपोर्टरलाई डेस्कले दिने प्रतिक्रिया र सुझाव पनि साह्रै महत्त्वपूर्ण हुन्छन्। यसले स्टोरीमा निखार ल्याउँछ।
नेपाली मिडियाले अब रचनात्मक र सिर्जनशील तरीकाले स्टोरीहरू प्रस्तुत गर्न पनि ध्यान दिनुपर्छ। महीनौं काम गरेको स्टोरी वा खोजी रिपोर्ट भए पनि धेरै पाठक-दर्शक-श्रोतासँग नपुगेमा त्यसको औचित्य हुँदैन। त्यसैले मल्टिमिडिया वा अरू केकस्ता उपाय मार्फत कसरी धेरै पाठकसम्म पहुँच विस्तार गर्ने भनेर समाचार कक्षमा छलफल गरिनुपर्छ। नयाँ पुस्ताका वा भर्खरैका पाठकसम्म पुर्याउन नसके मिडियाको विश्वसनीयता र पहुँच कमजोर हुँदै जान्छ।
(पत्रकार राईसँग रमेश कुमारले गरेकाे कुराकानीमा आधारित। सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री: