भूकम्पपीडितको अस्थायी आवासका लागि पहिलो किस्ता वितरण शुरू
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पहिलो किस्ता बापतको रकम स्थानीय तहमा पठाउन शुरू गरिएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो। रुकुम पश्चिममा मंसीर १२ गतेदेखि नै वितरण शुरू भएको थियो।
शिवालयमा तीन हजार ३०९ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका लेखापाल एकराज उपाध्यायले बताए। उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार रुपैयाँ पठाइएको छ।
स्थानीय तहले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ। शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए। “वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौं, यीमध्ये पनि कसैका दुई वटा घर हुन सक्छन्, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन्,” शाहीले भने, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौं, यसका लागि दुई-तीन दिन लाग्न सक्छ।”
लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए। विवरण प्राप्त भए लगत्तै स्थानीय तहमा रकम पठाइने बताए।
शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ। जिल्लामा ३४ हजार ४९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। तीमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ।