डोजरे विकासले पर्यटक डोर्याउँदा फड्को मारेको गाउँको कथा
खोले, ढिंडो, कोदो, फापरले गुजारा चलाउने गाउँ केही वर्षकै अन्तरालमा समृद्ध त बनेको छ नै, वर्षमा लाख पाहुनाको सत्कार गरेर ख्याति पनि कमाइरहेको छ। कसरी?
लक्का जवान मौरिस हर्जोग पेरिसबाट ५० हजारभन्दा बढी सामग्री बोकेर सात दशकअघि भारतको दिल्ली हुँदै लखनउ ओर्लिए। आफू जस्तै नौ जना तन्नेरी सहित आएका हर्जोग अनेक प्रशासनिक झमेला पार गर्दै रेलमा नेपालको सीमावर्ती भारतीय गाउँ नौतनवा पुगे।
जीपमा कपिलवस्तु हुँइकिएका उनी मध्यचैतको गर्मी छल्दै बुटवलबाट उकालो लागे। तराईमा यस्तो गर्मी थियो कि सूर्य जलिरहे जस्तो लाग्यो, उनलाई। खलखली पसिना आइरहेका वेला नेपाली युवकले घाम छेक्न ‘बडा साहेब, छाता लिनुहोस्!’ भनेको अन्नपूर्ण पुस्तकमा स्मरण गरेका छन्।
३१ वर्षीय युवा जोशले तराईको गर्मीमा पनि आराम गर्न दिएन। आरोहण टोली र सहयोगी शेर्पासँगै २०० भरियाको लस्कर सहित तानसिङ, रानीघाट, डुम्रीचौर, फलेवास, बेनी, रानीपौवा, तातोपानी, घासा, लेते हुँदै १५ दिन हिंडेर टुकुचे टेके। धौलागिरि र अन्नपूर्ण हिमालबीच अवस्थित टुकुचे हिमालको फेदमा रहेको टुकुचे गाउँलाई नै मुख्यालय बनाएका हर्जोगको लक्ष्य थियो, ८००० मिटर अग्ला हिमालको आरोहण। यो सूचीमा थिए, आठ हजार १६७ मिटर अग्लो धौलागिरि र आठ हजार ९१ मिटरको अन्नपूर्ण।
धौलागिरीको चक्कर लगाए पनि आरोहणका लागि अन्नपूर्ण नै ताके। पेरिशबाट उडेको दुई महीनापछि ३ जुन, १९५० अर्थात २००७ जेठ २१ मा अन्नपूर्णको चुचुरोमा पुगे लुइस लाचनेलसँगै हर्जोग। यो आठ हजार मिटर अग्लो हिमालको पहिलो आरोहण थियो। यससँगै अग्ला हिमाल आरोहणको ढोका खुल्यो।
त्यसपछि भने अन्नपूर्ण आरोहणको अर्को रुट चलनचल्तीमा आयो। हर्जोगले जस्तो बुटवल उक्लेर कालीगण्डकीलाई पछ्याउनै परेन। काठमाडौं ओर्लिएपछि पोखरा झरेर नयाँपुल, घान्द्रुङ, तातोपानी, घासा, लेते, ठूलागाउँ पास, मिस्ट्री खोला हुँदै आधारशिविर।
अन्नपूर्ण आधारशिविरको यही बाटोमा एउटा गुरुङ गाउँ पर्छ, घान्द्रुङ। गुरुङ समुदायको घना वस्ती भएको गाउँ भएकाले घान्द्रुङ भनियो। “उहिल्यैदेखि गुरुङ समुदायको बसोबास रहेको ठाउँ हो,” नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका पोखराका पुराना व्यवसायी ७४ वर्षीय आनन्दराज मुल्मी सम्झिन्छन्, “घान्द्रुङ र पोखराका गुरुङ समुदायबीच पैसा राख्ने किसिमको सम्बन्ध थियो। घान्द्रुङका गुरुङ पोखरा आउने जाने गर्थे।”
हर्जोग फ्रान्स फर्किएको केही वर्षपछि अन्नपूर्ण ओहोरदोहोर गर्ने आरोही यही गाउँको छेउछाउका चउरमा क्याम्प गाड्न थाले। कतिपय एक रात बस्थे भने कतिपय केही समय सुस्ताउँथे। “गोराहरु छाताको जस्तै कपडाले चउरमा ओढार जस्तो बनाउँथे, त्यहीं भित्र सुत्थे,” घान्द्रुङकी ६९ वर्षीया वीरमाया गुरुङ ६ दशकअघिको गाउँ सम्झिन्छन्, “क्याम्प बस्यो भन्थे, हेर्न जान्थ्यौं। बोलिभाषा केही बुझिँदैन्थ्यो।”
नयाँ मान्छे नदेखिने गुरुङ गाउँमा आरोहण याममा भने विदेशीसँगै अपरिचित मान्छेको लस्कर नै लाग्थ्यो। आरोहीसँगै सहयोगी शेर्पा र सामान बोक्ने भरियाको ताँती देख्दा गाउँले चकित पर्थे। “यतिका मान्छे कहाँबाट आएका होलान, कहाँ जाने होलान जस्तो लाग्थ्यो,” बालसुलभ अज्ञानता छोप्न मुस्कुराउँदै वीरमाया थप्छिन्, “हाम्रै हिमाल चढ्न आएका पो रहेछन्!”
अन्नपूर्ण आरोहणपछि विदेशी पर्यटक गण्डकी क्षेत्रका गाउँ पस्नुमा हर्जोगकै हात थियो। तस्वीर खिच्न अन्नपूर्णको टुप्पोमा एक घण्टा बिताउँदा हर्जोगको हात र लाचनेलको खुट्टा हिउँले खायो। जसले गर्दा चुचुरोबाट ओर्लिने क्रममा दुवै जना घाइते भए, हर्जोग त साह्रै।
लामो सयम अमेरिकी अस्पतालमा उपचारका लागि बस्नुपर्दा हर्जोगले पुस्तकले लेखे, अन्नपूर्ण। यो पुस्तकले यति ख्याती कमायो कि संसारभरका आरोही सपना अन्नपूर्ण यात्रा बन्नपुग्यो। अहिलेसम्म ५२ भाषामा अनुदित पुस्तक दुई करोड २० लाख प्रति बिक्री भएको तथ्याङ्क छ।
अन्नपूर्ण आरोहणको नालीबेली केलाइएको यो पर्वतारोहणबारे लेखिएको सबैभन्दा धेरै बिक्री हुने पुस्तक पनि हो। २००८ सालमा प्रकाशित यो पुस्तक अहिले पनि पर्वतारोहणमा रुची राख्ने पाठकको रोजाइमा पर्छ।
अन्नपूर्ण सम्झेर आउने विदेशी आरोहीका नजरमा बिस्तारै अन्य हिमाल पनि पर्न थाले। धौलागिरि र अन्नपूर्ण शृंखलाले लोभ्याउन थाले। अन्नपूर्ण दक्षिण, हिमचुली र माछापुच्छ्रे त घान्द्रुङको सिरानमै छन्। “हिमाल त देशका धेरै भागबाट देखिन्छ, तर घान्द्रुङबाट जति नजिक अन्यत्रबाट कमै देख्न पाइन्छ,” घान्द्रुङ पर्यटन विकास समितिका अध्यक्ष विक्रम गुरुङ भन्छन्, “हिमाल हेर्नैका लागि पनि देशविदेशका मान्छे घान्द्रुङ आउँछन्।”
२०२७ सालसम्म घान्द्रुङमा पर्यटकले बस्नेखाने ठाउँ नै थिएन। आरोहणका लागि आउने पर्यटक क्याम्प गाड्थे, आफैंले बोकेको खानेकुरा खान्थे र हिमाल चढ्थे। त्यो देखेपछि व्यवसायी शंकरमान गुरुङले होटलको शुरूआत गरेको अध्यक्ष विक्रम बताउँछन्। अलि पछि टेकबहादुर गुरुङ र पदमबहादुर गुरुङ थपिए।
होटल त खोले तर राम्रो खानेबस्ने व्यवस्था थिएन। होटलमै पनि शौचालय थिएन। विदेशीले अस्थायी शौचालय आफैं बोकेर ल्याउँथे, खाल्डो खनेर राख्थे, हिंड्दा पुरेर जान्थे। “होटलमा खाट राखिदियो, ओढ्ने-ओछ्याउने केही हुँदैनथ्यो, आफ्नै स्लीपिङ ब्यागमा सुत्थे,” विक्रम इतिहास कोट्याउँछन्, “केही वर्षपछि खाटमा गुन्द्री, कम्मल राख्न थालियो। हुँदाहुँदै वनको झ्याउ वा पराल बोरामा राखेर डल्लप जस्तो बनार सुतायो। पछि डल्लप आयो, अहिले त तारे होटलको जस्तो सुविधा छ।”
घान्द्रुङमा अहिले सुविधायुक्त ५५ होटल छन्। जहाँ काठमाडौं र पोखराका सुविधायुक्त होटलको भन्दा राम्रो सत्कार पाइन्छ। त्यस्तै, २२ वटा होमस्टे छन्। यी पनि होटलभन्दा कमसल छैनन्। “घरकै माहोलमा होमस्टेमा होटलका जस्तै सेवासुविधा पाइन्छन्, आरामदायी छन्,” घान्द्रुङमा पहिलो होमस्टे सञ्चालन गर्ने हरिमाया गुरुङ हाँस्दै भन्छिन्, “एउटा कुरामा फरक छ, होटल महँगो हुन्छ, होमस्टे सस्तो।”
दार्जीलिङले देखाएको बाटो
२०४९ सालमा घुमफिरका लागि हरिमाया सहित घान्द्रुङको टोली भारतको दार्जीलिङ पुगेको थियो। धेरै ठाउँ घुमेपछि घर फर्किने वेला एउटा गाउँमा गुरुङ पोशाक लगाएको देखे। उनीहरू जस्तै घुम्न गएका आगन्तुक पनि गुरुङ पोशाक लगाएर तस्वीर खिच्दै रमाइरहेका थिए।
गाउँ फर्केपछि हरिमायालाई लाग्यो- घान्द्रुङमा पनि गुरुङ पोसाक लगाएर पर्यटकलाई रमाइलो गर्न सकिन्छ। “केही दिन गुरुङ पोसाक लगायौं, सबैले राम्रो माने, पर्यटक पनि रमाए,” हरिमाया तीन दशक अघिका दिन सम्झिन्छिन्, “त्यो देखेपछि लाग्यो- होमस्टे पनि खोल्नुपर्छ।”
केही महीनापछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा हरिमाया सहित पाँच जना मिलेर पाँच घरमा होमस्टे शुरू गरे। उनले आफ्नो होमस्टेको नाम राखिन्- आशिष आमा होमस्टे। एक रात वास बसेको ७० रुपैयाँ, त्यसमै साँझको खाना र बिहानको खाजा पनि मिल्थ्यो।
पाँचै घरमा एउटै मोल तोकियो। पर्यटकलाई आलोपालो गरेर एकअर्काको घरमा बस्ने व्यवस्था मिलाइयो। “दश जना जति आए भने पाँचै घरमा बाँड्थ्यौं, दुई-चार जना मात्रै भए पालो गर्थ्यौं,” उनी शुरूआती दिन सम्झिन्छिन्।
होटल र होमस्टे राम्रै चलेका थिए। तर त्यही समय माओवादी सशस्त्र द्वन्द्व शुरू भयो। हेर्दाहेर्दै केही वर्षमै पर्यटकको आगमन ठप्प भयो। आन्तरिक पर्यटक त्यति आवतजावत गर्दैनथे। “आरोहणको याममा फाट्टफुट्ट पर्यटक आउँथे, उनीहरूसँगै आउने शेर्पा र भरियाले गुजारा चल्यो,” उनी भन्छिन्।
त्यति वेला घान्द्रुङ आवतजावत गर्ने विदेशी पर्यटक प्रायः होटलमै बस्थे। राम्रो सेवासुविधा होटलमै हुन्थ्यो। ठूल्ठूला होटल थिए। माओवादी द्वन्द्वको समयमा सुस्ताएको पर्यटक आगमन २०६३ सालपछि बिस्तारै उकालो लाग्दै थियो। त्यही क्रममा पर्यटन तथा होटल व्यवसायीले लगानी पनि बढाए।
माओवादीसँग शान्ति सम्झौता भएपछि घान्द्रुङमा पनि व्यवसायीले होटल तथा रेस्टुरेन्टमा लगानी बढाएको घान्द्रुङ पर्यटन विकास समितिका अध्यक्ष विक्रम बताउँछन्। पुराना व्यवसायीले सेवा विस्तार गरेका थिए भने नयाँ व्यवसायी थपिएका थिए। उनी पनि बेलायतबाट फर्केपछि २०६८ सालमा घान्द्रुङमा व्यवसाय शुरू गरेको सुनाउँछन्।
त्यति वेला होटल तथा रेस्टुरेन्टले विदेशी पर्यटकलाई नै प्राथमिकता दिन्थे। राम्रो सेवासत्कार गर्थे। “पर्यटक भनेकै गोरा भन्ने ठानिन्थ्यो, सबैले गोरालाई नै प्राथमिकता दिन्थे,” दुई वटा होटल चलाइरहेका विक्रम सम्झिन्छन्, “नेपाली आए भने कोठा पाउनै मुश्किल हुन्थ्यो, कोठा खाली भए पनि प्याक छ भन्ने गर्थे।”
होटल व्यवसायीको प्राथमिकतामा नपरेपछि आन्तरिक पर्यटकको रोजाइ होमस्टे हुन थाल्यो। यससँगै सस्तो बसाइ हुने भएपछि बाह्य पर्यटक पनि बिस्तारै होमस्टेतिरै लाग्न थाले। “घरको जस्तै माहोल र सस्तो बसाइ भएपछि होमस्टे त भरिन थाले,” हरिमाया भन्छिन्, “होमस्टे चलाउने त हेर्दाहेर्दै धनी भए।”
शुरूआतमा नाइँनास्ती गर्ने स्थानीयले पछि होमस्टे थप्दै गए। अहिले घान्द्रुङमा २२ घरमा होमस्टे सञ्चालनमा छन्। शुरूआतको जस्तो एक-दुई कोठामा होइन, कतिपयले घर भाडामा पनि लिएका छन्, होमस्टेका लागि। “मैले पनि शुरूमा दुई-तीन जना राखेकी थिएँ, अहिले त बढाएका छौं। २४ जनासम्म राख्ने ठाउँ छ,” हरिमाया भन्छिन्, “बसीखानै फुर्सद हुँदैन। पाहुनालाई खानपिन गराउँदैमा रातदिन बित्छ।”
अहिले होमस्टे बसाइको मोल पनि बढेको छ। ७० रुपैयाँबाट शुरू भएको एक रातको बसाइ अहिले एक हजार ५०० पुगेको छ। साँझको एक छाक खान र अर्को बिहानको खाजा त्यसमै पाइन्छ।
गाडीसँगै हुइँकिए नेपाली
घान्द्रुङेलाई बाह्रै महीना बेफुर्सदी बनाउन कसैको भूमिका छ भने त्यो हो- नयाँपुल-घान्द्रुङ सडक। २०७५ सालसम्म अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाल चढ्न-हेर्न होस् या पुनहिल, घोडेपानी, तातोपानी, घान्द्रुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पोखराबाट नयाँपुलसम्म गाडीमा हुइँकिन्थे। त्यसपछि पदयात्रा चल्थ्यो।
नयाँपुलबाट घान्द्रुङ धेरै टाढा छैन, करीब ८.६ किलोमिटर पदयात्रा गरेर केही घण्टामै पुगिन्छ। छोटो पदयात्रा गर्न रुचाउने आगन्तुकका लागि यो उकालो उपयुक्त थियो र छ।
२०७५ सालमा नयाँपुल-घान्द्रुङ ट्र्याक खुल्यो। दुईपांग्रेसँगै चारपांग्रे पनि जसोतसो गुडे। “पहिले त बूढापाकाले सडक बनाउन दिएका थिएनन्, सडक बनायो भने हिंडडुल गर्ने गोरा आउँदैनन् भन्ने ठान्थे,” घान्द्रुङ रहेको अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङ भन्छन्, “घान्द्रुङेलाई आवतजावत गर्न, सरसामान ल्याउन पनि सजिलो बनाउनुपर्यो भनेर सडकका लागि सहमति जुटायौंं।”
त्यसपछि नयाँपुल-घान्द्रुङका भीरपाखामा डोजर चल्यो। डोजर चल्दा कतिपयले गुनासो पनि गरेका थिए। पहाड कमजोर हुन्छ, पहिरो जान्छ भन्ने त थिए नै, सडक बनेपछि घान्द्रुङको आकर्षण नै रहँदैन भन्ने पनि उत्तिकै थिए। उनीहरूको तर्क हुन्थ्यो- घान्द्रुङको आकर्षण त हिंडेर आउनु पो हो, गाडीमा को आउँछ?
नयाँपुलबाट चलेको डोजरले विकास मात्रै लगेन, विदेशीसँगै स्वदेशी पर्यटकलाई पनि गाउँ पुर्यायो। नेपाली पनि यसरी घुम्न आउलान् भन्ने घान्द्रुङेले कल्पनासम्म गरेका थिएनन्। “विदेशी पर्यटक छँदै छन्, स्वदेशी पनि ह्वारह्वार्ती आए,” पर्यटन विकास समितिका अध्यक्ष विक्रम भन्छन्, “गाडी नआएको भए यति धेरै नेपाली आउँदैनथे।”
पदयात्राका लागि ८.६ किलोमिटर भए पनि घुम्तीका कारण सडक भने लम्बिएर ११ किलोमिटर पुगेको छ। कतिपय ठाउँमा साना गाडीले पनि ओहोरदोहोर गर्न भ्याउँदैनन्, साँघुरो। बाटो धुलाम्य छ तैपनि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुन्छ।
२०८० सालको दशैंतिहार आसपासमा त वडा कार्यालय र व्यवसायीले सामाजिक सञ्जालमा सूचना नै जारी गरे, पाहुनाको संख्या बढेकाले व्यवस्थापनमा समस्या हुन्छ, अग्रिम जानकारी दिएर आउनुहोला। “घुइँचो नै लागेको त तीन वर्ष जति भयो,” होमस्टे संस्थापक हरिमाया भन्छिन्, “अहिले त बाह्रै महीना पाहुना आइरहन्छन्।”
घान्द्रुङ पर्यटन विकास समितिको तथ्यांक अनुसार पछिल्ला केही वर्षयता वर्षमा एक लाख हाराहारी पर्यटक आउने गरेका छन्। कतिपय एक रात बस्छन्, कतिपय दुई रात। कतिपय केही समय बसेर तातोपानी, घोडेपानी, पुनहिल जान्छन् भने कतिपय धम्पुसतिर फर्किन्छन्। अहिले घान्द्रुङले स्वागत गरिरहेका अधिकांश पाहुना स्वदेशी नै छन्। “विदेशी त २० प्रतिशत जति होलान, अरू सबै नेपाली नै हुन्,” समितिका अध्यक्ष विक्रम भन्छन्।
परदेशी लोभ्याउने समृद्धि
अहिले पो गाउँका घर भरिएका छन्, एक समय यस्तो पनि थियो, घान्द्रुङ रित्तिंदै गए झैं लाग्यो। गुरुङ गाउँ भएकाले लाहुरे बन्ने चलनै थियो। गोर्खा भर्ती भएका लाहुरे विदेशतिरै बसाइँ सर्थे या त पोखरा झर्थे। आर्थिक रूपले सम्पन्न परिवारका मान्छेले पोखरातिर घर जोड्ने गरेको पोखराका पुराना व्यवसायी आनन्दराज मुल्मी सम्झिन्छन्। “ब्रिटिश लाहुरे बनेकाहरू सम्पन्न नै हुन्थे, घान्द्रुङबाट पोखरा आउँथे,” उनी भन्छन्।
माओवादी द्वन्द्वको समयमा त झन् गाउँघर छोड्ने बढे। आर्थिक रूपमा सम्पन्न परिवारका मान्छे शहरतिर पसे नै, अलिकति लेखपढ गरेका पनि द्वन्द्वपीडित बनेर विदेशीतिर लागे। “पर्यटक पनि आउँदैनथे, युवा तन्नेरीले गाउँ छाडिसकेका थिए,” हरिमाया भन्छिन्, “कति त जग्गाजमीन बेचेर गए। गाउँमा गरीब र असहायमा मात्रै बाँकी रहे।”
समय एकनास कहाँ रहन्छ र! घान्द्रुङको समय फेरियो। माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुलीले पनि विदेशीलाई तान्न थाले। उनीहरूकै पछि पछि लागेर भए पनि स्वदेशी आए। झन् सडक पुगेपछि त आगन्तुकको कमी नै भएन।
पर्यटनले गाउँमा समृद्धि पनि ल्यायो। धनीले होटल खोले, गरीबले होमस्टे। केही नभएकाले पनि रोजगारी पाए। गाउँको उत्पादन गाउँमै बेच्न पाए। “पर्यटनले धनी बनायो, हुनै पर्यो नि। कति गरीब भएरै बस्नु!” हरिमाया सन्तोषको सास फर्दै भन्छिन्, “केही नहुनेको पनि पोखरामा घर छ, धेरैजसोले काठमाडौंमा घर या घडेरी जोडेका छन्।”
आम्दानी बढेसँगै बालबालिकाको शिक्षादीक्षामा लगानी बढाएका छन्। प्रायः सबैले छोराछोरीलाई पोखरा वा काठमाडौंका राम्रा स्कूलमा पढाइरहेका छन्। कतिपय उच्च शिक्षाका लागि यूरोप तथा अमेरिका पुगेका छन्।
गाउँमा भएका पनि सबै रोजगार छन्। घान्द्रुङले अन्य गाउँका बासिन्दालाई पनि रोजगारी दिइरहेको छ। होटल, रेस्टुरेन्ट, चियाकफी पसल, भौतिक निर्माण लगायत सबै काममा घान्द्रुङ बाहिरकै मजदूर धेरै छन्। “पाँच-दश प्रतिशत घान्द्रुङका होलान्, अरू सबै बाहिरकै कामदार छन्,” पर्यटन विकास समितिका अध्यक्ष विक्रम भन्छन्।
यो सम्पन्नता घान्द्रुङेले पुर्ख्यौली सम्पत्तिका रूपमा प्राप्त गरेका होइनन्, आफैंले आर्जेको हो। डेढ दशकअघि मात्रै पनि घान्द्रुङ खेतीपातीमै आश्रित थियो। कोदो, जौ, मकै, उवा, फापरको खेती हुन्थ्यो, बेसीतिर अलिकति धान फल्थ्यो। “भात खान मुश्किल हुन्थ्यो। भात खान मन लाग्दा खोले, ढिंडो खान्थ्यौं। त्यही पनि मीठो हुन्थ्यो,” वीरमाया केही वर्षअघिको स्मरण गर्छिन्, “मकै, गोदो, जौको रोटी हुन्थ्यो। उवा, फापर लगाउँथ्यौं।”
प्रायः सबैले गाईगोरु, भैंसी पाल्थे। कोहीसँग बंगुर हुन्थे। कुखुरा पालेर अन्डा बिक्री गर्दा आम्दानी हुन्थ्यो। “खेतीकिसानी गर्यो, घाँसपात काट्यो। डिंगा पाल्थे, गोबर सोहोर्यो, बस्यो,” उनी हाँस्दै थप्छिन्, “अहिले त सबैलाई पैसा सोहोर्दैमा फुर्सद छैन, खानसुत्नै पाउँदैनन्।”
गाउँमा भएका त व्यस्त छन् नै, परदेश गएकाहरू पनि चासो दिइरहेका छन्। केही व्यापार व्यवसाय गर्न गाउँ फर्किएका छन्। यो संख्या थोरै छ। केही विदेशमै बसेर पनि गाउँमा लगानी गरिरहेका छन्। पुरानो घरलाई मर्मतसम्भार र नयाँ निर्माण गरिरहेका छन्। यी घर होटल तथा होमस्टे सञ्चालनका लागि काम लागेका छन्।
अर्को, पछिल्लो समय घान्द्रुङका कसैले पनि जग्गा बेचेका छैनन्। पहिले बेचेकाले पनि किन्न खोजिरहेका छन्। “पोखरा, काठमाडौं वा विदेश गए पनि कसैले जग्गा बेचेका छैनन्,” वडाध्यक्ष गौतम भन्छन्, “पहिले बेचेर गएकाले पनि अहिले घान्द्रुङमा घरजग्गा जोड्न खोजेका छन्।”
आगन्तुक अड्याउने कोशिश
प्राकृतिक सौन्दर्यले भरिपूर्ण घान्द्रुङ सबैथोक परिपूर्ति भएको आदर्श बस्ती जस्तै बनेको छ। पहिले जस्तो अभाव र गाह्रोसाह्रो छैन। बाटोघाटो, बिजुली, खानेपानी उपलब्ध छ। सुविधासम्पन्न घर छन्। राम्रो आम्दानी छ। तैपनि हरिमाया चाहिं उति प्रसन्न छैनन्। “हिमालले मात्रै कति दिन धान्ला, हिमाल हेर्न आउने पाहुनालाई अड्याउने गाउँ पनि त जोगाउनुपर्यो,” उनी भन्छिन्।
उनको चित्तदुखाइको कारण नयाँ बनिरहेका संरचना हुन्। अहिले सबै कंक्रिटका भवन बनेका छन्। उनले प्रयास गरेकी थिइन्, माथिल्लो तला भए पनि पुरानै शैलीमा बनाउनुपर्ने। “कोशिश त गरेका थियौं तर कसैले मानेनन्, कंक्रिटका घर बनाएपछि गुरुङ बस्तीको सौन्दर्य कहाँ रहन्छ!” उनको गुनासो छ।
यस्तै गुनासो पर्यटन विकास समितिका अध्यक्ष विक्रमको पनि छ। तल्लो तलामा सिमेन्ट लगाए पनि सबैभन्दा माथिल्लो तला पुरानै शैलीको बनाउने प्रयास गरिरहेको उनी सुनाउँछन्। “गुरुङ बस्तीको झल्को त आउनुपर्यो नि,” उनी थप्छन्। स्थानीय सरकारसँग मिलेर मौलिकता जोगाउने कोशिश गरिरहेको बताउँछन्।
घान्द्रुङको विकासलाई दिगो बनाउन स्थानीयसँग प्रदेश सरकारले पनि सघाइरहेको छ। सुरक्षित यात्राका लागि नयाँपुल-घान्द्रुङ सडक ग्राभेल हुँदै छ भने कालोपत्र गर्ने योजना छ। गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये पर्ने भएकाले विशेष प्राथमिकतामा राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रकाश आचार्य बताउँछन्। “घान्द्रुङ, भैंसीखर्क, तातोपानी हुँदै पुनहिल जाने पदमार्गलाई व्यवस्थित र सौन्दर्यीकरण गर्दै छौं,” आचार्य भन्छन्।
गण्डकी सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने योजना अनुसार अवधारणापत्र तयार गरेको छ। त्यसका आधारमा विस्तृत अध्ययन गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको नेतृत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको छ। समितिले दिने प्रतिवेदनका आधारमा अघि बढ्ने त भयो नै, पोखराको फेवाताल, रुपाताल, बेगनास तालसँगै घान्द्रुङ लगायत आसपासका पर्यटकीय गन्तव्यलाई जोड्ने पनि योजना रहेको उनी बताउँछन्।
यसका लागि थप ११ वटा गाउँमा होमस्टे बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। यस वर्ष पाँच गाउँका लागि बजेट विनियोजन गरेर काम अघि बढेको आचार्य बताउँछन्। त्यसले पनि पर्यटकलाई आकर्षित गर्ने प्रदेश सरकारको विश्वास छ।
यस्तै विश्वास घान्द्रुङ पर्यटन विकास समितिको पनि छ। अध्यक्ष विक्रम घान्द्रुङमा आगन्तुकलाई अड्याउन पदमार्ग, गुरुङ संग्रहालय र पुरानै शैलीका घर बनाउने योजना रहेको सुनाउँछन्। “घान्द्रुङको चारैतिर पदमार्ग बनाउँदै छौं, चार किलोमिटर पदमार्गले पाहुनालाई एक दिन भए नि अड्याउनेछ,” उनी थप्छन्, “गुरुङ संग्रहालय बनाउँछौं, गाउँको माथि बगैंचा बनाउँछौं। नयाँ बन्ने घरमा पनि पुरानै शैली अपनाउन लगाउँछौं।”
अब घान्द्रुङ पनि हर्जोगको पालाको जस्तो रहेन। घान्द्रुङ नाम अपभ्रंश भएर घान्द्रुक बनेको छ। बोलीचालीमा सजिलोका लागि घान्द्रुक नाम बनाए झैं जनजीवन सजिलो हुने गरी गाउँमा पनि फेरबदल आएको छ। पाहुनासँगै शहरबाट विकास गाउँमा पुगेको छ। जीवनशैली फेरिएको छ, दैनिकी बदलिएको छ। मौलिकता जोगाउने चुनौती भने थपिएको छ।
उसो त हिमाल पनि उस्तै छैन। हिउँ कम हुँदै गएको छ, हिमनदी र हिमपहिरो बढिरहेको छ। गर्मी याममा त अन्नपूर्ण, हिमचुली र माछापुच्छ्रे पनि पातलिए झैं लाग्छ, हरिमायालाई। मान्छे दुब्लाएर हड्डी देखिए झैं हिउँ पग्लिएर हिमालमा पनि काला भित्ता देखिन्छन्। “शहरबाट विकाससँगै विनाश पनि गाउँमा आउँदो रहेछ,” हरिमाया भन्छिन्, “घान्द्रुङलाई जोगाउन पुरानो चालचलन त जोगाउनु नै छ, हिमाल पनि जोगाउनु छ।”