चार उच्च अदालतमा श्रव्यदृश्य माध्यमबाट मुद्दाको सुनुवाइ
देशका चार वटा उच्च अदालतमा श्रव्यदृश्य माध्यमबाट मुद्दाको सुनुवाइ शुरू भएको छ।
उच्च अदालत जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडा इजलासमा बिहीबारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ शुरू भएको हो। सर्वोच्च अदालतमा बिहीबार पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले श्रव्यदृश्य मार्फत सुनुवाइ प्रारम्भ गरेका हुन्।
प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आमजनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको बताए।
“प्रविधिको माध्यमबाट न्यायमा पहुँच पुर्याउने कामको शुरूआत गरिरहेका छौं, नेपालको भूधरातलीय स्थितिले गर्दा दुर्गम क्षेत्रमा मानिसलाई एक गाउँबाट अर्को ठाउँमा पुग्न निकै कठिनाइ हुन्छ,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “छिटोछरितो, सरल, सुलभ तरीकाले प्रविधि मार्फत नागरिकमा न्यायमा पहुँच पुर्याउने उद्देश्यले शुरू गरिएको हो, सबै उच्च अदालतमा यो सेवा आगामी दिनमा गरिने तयारी छ।”
सर्वोच्च अदालतमा कोभिड-१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो। अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानून व्यवसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन्।
त्यस्तै, एक वर्षअघि उच्च अदालत दिपायल र इलाममा पनि मुद्दाको सुनुवाइमा श्रव्यदृश्य मार्फत बहस शुरू गरिएको थियो। श्रव्यदृश्यबाट मुद्दाको सुनुवाइ गर्दा कानून व्यवसायीले आफ्नै ठाउँमा बसेर मुद्दामा बहस गर्न सक्नेछन्।
मुद्दाको श्रव्यदृश्यबाट सुनुवाइ गर्न एउटा निवेदन दिनुपर्नेछ। सोही अनुसार सर्वोच्च अदालतका सूचना प्रविधि शाखाले उक्त मुद्दाको पासवर्ड र आइडी बनाई प्रवाह गर्नेछ र जूम मार्फत कानून व्यवसायीले बहस-पैरवी गर्ने व्यवस्था गरिएको छ।