मधेशका दुई संसदीय समितिका सभापति निर्विरोध
मधेश प्रदेश सभाका दुई वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
बिहीबार प्रदेश सभाको कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा नेपाली कांग्रेसका सञ्जयकुमार महतो र प्रदेश सभा मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का रतनेश्वर लाल गोइत निर्विरोध निर्वाचित भएका हुन्।
दुवै समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यतालिका थियो। जसमा दुवै समितिको सभापतिमा एक-एक जनाको मात्रै उम्मेदवारी परेको हो।
दुवै सभापतिलाई बिहीबार प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
प्रदेश सभाका सात वटा संसदीय समितिमा सातै दलले सभापति बनाउने सहमति भएको थियो। पाँच वटा समितिमा यसअघि नै सभापति चयन भएका थिए।
सार्वजनिक लेखा समितिमा नेकपा (एमाले)की मञ्जुकुमारी थापा मगर, अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतीशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)का शारदा दास पहाडी, महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रूपाकुमारी यादव र विकास समितिमा जनता समाजवादी पार्टीका शारदा शंकर प्रसाद कलवार सभापति चयन भइसकेका छन्।