चिसोका कारण जाजरकोटमा तीन वर्षीया बालिकाको मृत्यु
जाजरकोटमा भूकम्प प्रभावित एक बालिकाको चिसोका कारण ज्यान गएको छ।
कुशे गाउँपालिका-१, स्याग्रीका सुनील वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोका कारण ज्यान गएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। भूकम्पले घर भत्किएपछि उनको परिवार त्रिपालमा बस्दै आएको छ।
बिरामी परेपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा निमोनिया देखिएको थियो। त्यसपछि अस्पताल लैजाने क्रममा मंसीर १३ मा बालिकाको छेडागाडस्थित मटेलामा मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताए।
भूकम्पले घरमा क्षति पुगेका सर्वसाधारण त्रिपालमा बस्दै आएका छन्। चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्।