लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स
कैयौं कानूनी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणले शंकर समूह र दीपक भट्ट सम्बद्ध कम्पनीलाई छानीछानी लघु बीमा कम्पनीको लाइसेन्स दिएको फेला परेको छ।
न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै २०७९ भदौमा सात लघु बीमा कम्पनी स्थापनाका निम्ति प्रस्ताव मागेको नेपाल बीमा प्राधिकरणले मंसीर ४ को आमनिर्वाचनको मुखैमा लाइसेन्स वितरणको प्रक्रिया पनि थालिहाल्यो। निर्वाचन परिणाम आइनसक्दै मंसीर ११ मा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी छानिएको सूचना नै प्रकाशन भइसकेको थियो। राज्यका अन्य सबै संयन्त्र निर्वाचनकेन्द्रित भएको मौका छोपेर हतारोमा लाइसेन्स किन बाँडियो त? धेरैले यसमा ‘निश्चित घराना र समूह पोस्ने मिलीभगत’ रहेको आशंका गरेका थिए।
प्राधिकरणले अनुमति दिएका कम्पनी तथा लगानीकर्ताको सूचीले त्यो आशंका निराधार नरहेको देखाएको छ। हिमालखबरलाई प्राप्त कम्पनीहरूको प्रबन्धपत्र तथा शेयरधनी दर्ता लगत विवरण हेर्दा निश्चित घराना र समूहले प्रवर्द्धन गरेका कम्पनीलाई सुनियोजित रूपमै अनुमति दिइएको प्रस्ट हुन्छ। संसद् नभएका वेला गरिएको यस्तो प्रपञ्च राजनीतिक दलको मौनतापछि त्यति वेला सामसुम हुन पुगेको थियो।
अनुमति दिइएका कम्पनीमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्स छन्। यिनका लगानीकर्ताको विवरण हेर्दा पछिल्लो समय वित्तीय क्षेत्रका ठूला लाइसेन्स हत्याइरहेको व्यावसायिक घराना शंकर समूह तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट तथा उनीहरू निकट व्यवसायीले मात्र लघु बीमाको अनुमति पाएको खुल्छ। शंकर समूह र इन्फिनिटीले साथै लिएर हिंडिरहेका शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, कुमुद दुगड, मोतीलाल दुगड, लक्की समूह सहितका व्यवसायी बीमाका यी व्यवसायमा पनि साझेदार छन्।
हिमालखबरलाई प्राप्त विवरण अनुसार सातमध्ये कम्तीमा ६ वटा कम्पनीमा शंकर समूह तथा यससँग आबद्ध व्यक्तिको प्रत्यक्ष वा घुमाउरो तरीकाले शेयर लगानी छ। नेपाल माइक्रो र गार्डियन माइक्रो लाइफमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उनका पारिवारिक सदस्य शाहिल अग्रवाल र शुभी अग्रवाल प्रमुख शेयर लगानीकर्ता छन् भने प्रोटेक्टिभ, लिबर्टी, स्टार, क्रेस्ट कम्पनीमा पनि सोही समूहकै नातेदार तथा सम्बद्ध कम्पनीको लगानी छ। अर्थात्, सबै कम्पनीमा अन्तिम हिताधिकारीमा शंकर समूह रहेको आशंका उब्जिन्छ।
यससँगै एकै समूहलाई जीवन र निर्जीवन दुवैतर्फको लाइसेन्स बाँडिएको तथ्यले मिलेमतोको आशंकालाई थप आधार दिएको छ। जस्तो- गार्डियन माइक्रो लाइफका लगानीकर्तामध्ये अधिकांश नेपाल माइक्रो लाइफका पनि लगानीकर्ता छन्। प्रोटेक्टिभ माइक्रोका लगानीकर्तामध्ये अधिकांशको क्रेस्ट माइक्रोमा तथा लिबर्टी माइक्रोका बहुसंख्यक लगानीकर्ताको स्टार माइक्रोमा पनि लगानी छ। प्राधिकरणको प्रस्तावमा ३१ कम्पनीले आवेदन गरेका थिए।
एकै समूह हावी
७५ करोड रुपैयाँ चुक्ता पूँजीको गार्डियन माइक्रो लाइफ इन्सुरेन्समा शंकर र इन्फिनिटी होल्डिङ्स गरी दुई समूहको हालीमुहाली छ। गार्डियनमा शंकरलालकै स्वामित्वको एसजी फिनकोर्पको कुल चुक्ता पूँजीको १५ प्रतिशत शेयर हिस्सा छ। सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारी गर्नु अगाडिको, संस्थापकहरूले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजीका आधारमा तुलना गर्दा उनको शेयर हिस्सा २१.४ प्रतिशत हुन्छ।
बीमा ऐन, २०७९ ले बीमा कम्पनीमा एकै व्यक्ति वा परिवारलाई १५ प्रतिशतभन्दा बढी शेयर दिन बन्देज लगाएको छ। त्यस्तै, ऐनको दफा ६९ (झ) मा ‘बीमा व्यवसायमा कुनै किसिमको एकाधिकार कायम गर्न वा अन्य कुनै किसिमले बीमा व्यवसाय नियन्त्रित गर्ने प्रकृतिको काम कारबाही गर्न’ र दफा (ञ) मा ‘बीमा क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कुनै प्रकारको अवरोध पुर्याउन वा नियन्त्रित अभ्यास खडा हुने कुनै कार्य गर्न वा गराउन’ नहुने स्पष्ट उल्लेख छ। अग्रवालले यी प्रावधान छल्न फरक फरक कम्पनी खडा गरेको बुझिन्छ।
गार्डियनमा नेप्बुल्स क्यापिटलको १० प्रतिशत शेयर लगानी छ। २०७९ साउन २९ गते दर्ता भएयता अन्य कुनै क्रियाकलाप नगरेको र कम्पनी रजिस्ट्रारको कार्यालयमा सम्पर्क समेत नराखेको यो कम्पनी रेनु अग्रवालको नाममा छ। नातामा शंकरलालकी बहिनी उनले फेसबूकमा आफूलाई शंकर समूहको निर्देशकका रूपमा चिनाएकी छिन्।
गार्डियनमा शंकर समूहकै अन्य व्यवसायमा सम्बद्ध व्यक्तिका कम्पनीको पनि लगानी छ। जस्तो- बिजवर्ल्ड एड्भाइजरी नामक कम्पनीको गार्डियनमा ०.४ प्रतिशत शेयर लगानी छ। २०७९ भदौ २७ मा खोलिएको यो कम्पनी सिद्धान्त झुनझुनवालाको हो। सिद्धान्त चार्टर्ड एकाउन्टेन्सी सेवा दिने संस्था सुभाष एन्ड कम्पनीमा परियोजना परामर्श प्रमुख छन्। सिद्धान्तका बाबु सुभाषकुमार झुनझुनवाल शंकर समूहकै अग्रसरतामा अपारदर्शी ढंगले अनुमति पाएको हिमालयन रिइन्सुरेन्सको सञ्चालक समितिमा छन्। उक्त समूहका कैयौं कम्पनीको लेखापरीक्षण उनैले गर्दै आएका छन्। यसरी हेर्दा गार्डियनमा शंकर समूहको प्रत्यक्ष/अप्रत्यक्ष गरी एकचौथाइभन्दा बढी शेयर हिस्सा देखिन्छ।
त्यस्तै, गार्डियनको कुल चुक्ता पूँजीमा इन्फिनिटी होल्डिङ्सको ८ प्रतिशत शेयर लगानी छ। इन्फिनिटीका सञ्चालक भट्ट पछिल्ला वर्ष ठेक्कापट्टा, उच्च राजनीतिक नेतृत्व-व्यवसायीको सम्बन्ध जोडिदिने तथा नीतिनिर्मातासँग कर्पोरेट हितको ‘लबिइङ’ गर्ने प्रभावशाली छवि बनाएका व्यक्ति हुन्। उनकै स्वामित्वको अर्को कम्पनी टाइटेनियम क्यापिटलको पनि गार्डियनमा ७.३३ प्रतिशत शेयर स्वामित्व छ। टाइटेनियममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको पनि साझेदारी छ।
गार्डियनमा भट्ट परिवारकै पनि लगानी छ। भट्टकी बहिनी अन्जुका नाममा ०.३३ प्रतिशत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाजु सुशील भट्टकी पत्नी प्रवीणा दाहालका नाममा ०.६६ प्रतिशत र नातेदार सीता भट्टका नाममा ०.१३ प्रतिशत शेयर राखिएको छ।
यसबाट गार्डियनको ४० प्रतिशतभन्दा बढी शेयर शंकर समूह र भट्ट सम्बद्ध कम्पनी तथा परिवारका नाममा रहेको देखिन्छ। बाँकी शेयरमा एमभी दुगड समूहका विवेक दुगडका छोरा शुभमको ५.७१ प्रतिशत, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहको ५.७१ प्रतिशत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाको हुलास अटोक्राफ्टका नाममा ४ प्रतिशत, महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र उनका भतिज शिरीषकुमारको १.३ प्रतिशत, रमेश कर्पका साक्षी वंशल र आकांक्षा गुप्ताको ०.६ प्रतिशत, लीला अग्रवालको १.३३ प्रतिशत तथा गोल्यान समूहकी पारिवारिक सदस्य लतिकाको १ प्रतिशत लगानी छ। यसअघि शंकर समूह र भट्टकै पहलमा अपारदर्शी तरीकाले अनुमति पाएको हिमालयन रिइन्सुरेन्समा पनि शेखर, पशुपति, एमभी दुगड, रमेश कर्प समूह सहितको साझेदारी छ।
अर्को कम्पनी नेपाल माइक्रो इन्सुरेन्समा पनि यिनै दुई समूहको हालीमुहाली छ। नेपाल माइक्रोमा अग्रवालका छोरा शाहिलको कम्पनी सेन्ट्रल क्यापिटलको ९.७६ प्रतिशत र सारथि क्यापिटलको १४.८६ प्रतिशत शेयर छ। सारथि क्यापिटल शंकर समूहकी पारिवारिक सदस्य शुभीका नाममा छ। न्यू बिजनेस एजमा छापिएको प्रोफाइलमा शुभीलाई समूहको निर्देशकका रूपमा चिनाइएको छ।
नेपाल माइक्रोमै झुनझुनवालाका छोरा सिद्धान्तको बिजवर्ल्ड एड्भाइजरीको ०.५३ प्रतिशत शेयर लगानी छ। यहीं भट्टको इन्फिनिटी होल्डिङ्सको ८ प्रतिशत र टाइटेनियम क्यापिटलको ७.३३ प्रतिशत शेयर छ। यो कम्पनीमा भट्टकी भाउजू प्रवीणाको ०.६६ प्रतिशत, बहिनी अन्जुको ०.३३ प्रतिशत र परिवार नातेदार सीताको ०.१९ प्रतिशत शेयर स्वामित्व छ। गार्डियनमा जस्तै यो कम्पनीमा पनि पशुपति, शेखर, शुभम, राजेशकुमार सहितको शेयर साझेदारी छ।
छद्म लगानी
लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ ले पनि एउटा लघु बीमामा लगानी रहेको व्यक्तिलाई समान व्यवसाय गर्ने अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न कडाइ गरेको छ। यही कानूनी बन्देज छल्न नयाँ खुलेका लघु बीमामा एकै व्यक्ति, परिवार र समूहले छद्म बाटोबाट लगानी गरिरहेका छन्। गार्डियन र नेपाल माइक्रोमा सबैभन्दा बढी शेयर रहेको शंकर समूहको प्रोटेक्टिभ, लिबर्टी, स्टार, क्रेस्टमा पनि घुमाउरो नियन्त्रण देखिएको छ। प्रोटेक्टिभमा सर्वाधिक (११ लाख १४ हजार ५०० कित्ता- कुल चुक्ता पूँजीको १४.८६ प्रतिशत) शेयर लगानी मेट्रो क्यापिटलको छ।
२०७९ साउन २९ गते स्थापित मेट्रो क्यापिटल मृदुला सरियाको नाममा छ। मृदुला शंकर समूहकी निर्देशक रेनु अग्रवाल (गुप्ता)की जेठी बुहारी हुन्। मृदुलाका पति अखिल शंकर समूह अन्तर्गतकै जगदम्बा समूहका कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ।
प्रोटेक्टिभ माइक्रोमा रुद्र फिनकोर्पको पनि कुल चुक्ता पूँजीको १४.६६ प्रतिशत शेयर स्वामित्व छ। २०७९ असोज ७ मा स्थापित यो कम्पनी आशु झुनझुनवालाको नाममा छ। शंकर समूहको व्यवसायमा जोडिएका सुभाषकुमारका पारिवारिक सदस्य आशुको शेयर लगानी किन पनि सन्देहास्पद छ भने शंकर समूहले छद्म लगानी गरेको क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सको मुख्य लगानीकर्तामध्ये एक हयग्रीव होल्डिङ्स पनि उनकै नाममा छ। यसबाट शंकर समूहले लगानी लुकाउन आशुको नाम प्रयोग गरेको आशंका उब्जिन्छ।
प्रोटेक्टिभमै कल्याणी इन्भेस्टमेन्टको २.२४ प्रतिशत शेयर लगानी छ। २०७९ असोज ७ गते स्थापित यो कम्पनीमा सिन्धुपाल्चोक, चौताराका रितेश प्रधानलाई लगानीकर्ताका रूपमा देखाइएको छ। सामाजिक सञ्जाल ‘लिंक्डइन’ प्रोफाइलले उनी शंकर समूहमा कार्यकारी तहमा कार्यरत रहेको देखाउँछ। यसबाट शंकर समूहले प्रोटेक्टिभ माइक्रोमा कम्तीमा एकतिहाइ शेयरमा नियन्त्रण राखेको आशंका उब्जिन्छ।
अर्को कम्पनी क्रेस्ट माइक्रोमा मेट्रो क्यापिटलको १४.९९ प्रतिशत, अवनति फिनकोर्पको १४.६६ प्रतिशत र कल्याणी इन्भेस्टमेन्टको २.३० प्रतिशत शेयर स्वामित्व पाइएको छ। २०७९ असोज ७ गते दर्ता भएको अवनति पनि आशु झुनझुनवालाकै नाममा छ। प्रोटेक्टिभ र क्रेस्ट दुवै लघु बीमा कम्पनीमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतीश मोरका पारिवारिक सदस्य संगीतादेवी, सुमन र बिना मोर, आरएमसी कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट, राजेश हार्डवेयर, कुमुद दुगड, श्रद्धा अग्रवाल, शोभाकर न्यौपाने (अम्बे समूह), अनुपम राठी, गोविन्दराम सरिया, अशोकशमशेर राणा, एकता पाण्डे सहितको साझेदारी छ।
अर्का दुई कम्पनी स्टार र लिबर्टीमा पनि शंकर समूह सम्बद्ध व्यक्ति तथा कम्पनीकै लगानी छ। स्टारका प्रमुख दुई लगानीकर्ता कम्पनी लोबुचे इन्भेस्टमेन्ट र घान्द्रुक इन्भेस्टमेन्टको १५-१५ प्रतिशत शेयर स्वामित्व छ। २०७९ भदौ ३० मा दर्ता लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ। उनी रेनुकी कान्छी बुहारी हुन्। श्रेयाका पति आयुष गुप्ता जगदम्बा ग्रूपको कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ। घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ। स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनु सहित रमेश अग्रवाल र अनिल रुङ्गटाको शेयर स्वामित्व छ।
त्यसैगरी लिबर्टी माइक्रो इन्सुरेन्समा मुख्य लगानीकर्ताका रूपमा लाङ्टाङ इन्भेस्टमेन्ट र पाल्दोर इन्भेस्टमेन्टले समान १५-१५ प्रतिशत शेयर लगानी गरेका छन्। २०७९ भदौ ३० गते दर्ता भएको लाङटाङ इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ। पाल्दोर भने बबिता खेतानको नाममा छ। स्टार र लिबर्टी दुवै लघु बीमा कम्पनीमा कविता लोहिया, लक्ष्मी ब्यांक, ओपी होल्डिङ्स सहितको लगानी छ। यी दुवै लघु बीमा कम्पनीमा रेमी क्यापफिनको पनि तीन लाख २५ हजार कित्ताका दरले शेयर लगानी छ। २०७९ भदौ २३ गते दर्ता भएको रेमी क्यापफिन अनलाइन खबर नेपालको स्वामित्वमा छ।
अपारदर्शी, अप्रतिस्पर्धी
बीमा प्राधिकरणले २०७९ मंसीर ११ गते प्रकाशन गरेको सूचनामा लघु बीमा व्यवसाय गर्न परेका प्रस्ताव मध्येबाट मूल्यांकन गरी सात कम्पनी छानिएको उल्लेख गरेको छ। प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल कम्पनी छान्दा व्यावसायिक सम्भाव्यता, व्यवसायको प्रडक्ट डिजाइन, प्राविधिक पुष्टि, विदेशी लघु बीमा कम्पनीसँग सहकार्य, संस्थागत लगानी आदि हेरिएको बताउँछन्।
यसबीच विकसित घटनाक्रमले भने कम्पनी छनोट स्थापित मापदण्डबाट नभई राजनीतिक-व्यापारिक साँठगाँठमा भएको आशंकालाई जोड दिन्छन्। आर्थिक वर्ष २०७९/८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले लघु बीमा कम्पनी स्थापना गर्ने घोषणा गरेकामा प्राधिकरणले त्यसकै लागि बाटो खोल्न लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका जारी गरेको थियो। शर्मा तिनै व्यक्ति हुन् जसलाई बजेट निर्माण गर्दा शंकर समूहलाई लाभ हुने गरी करका दरमा हेरफेर गरेको संगीन आरोप लागेको थियो।
नयाँ बीमा कम्पनी थप्ने उनको योजना पनि किन विवादित बन्यो भने त्यसअघि नै आवश्यकताभन्दा बढीलाई अनुमति दिइएको भन्दै बीमा समितिले कम्पनी गाभ्ने नीति लिइसकेको थियो। यसै अनुसार कैयौं बीमा कम्पनी गाभिइसकेका थिए। प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल ठूला बीमा कम्पनी गरीबसम्म नपुगेका कारण विपन्न र गाउँका मान्छेको बीमा गर्न लघु बीमा कम्पनी आवश्यक परेकाले अनुमति दिइएको बताउँछन्।
२०७७ माघमा प्राधिकरणको अध्यक्ष नियुक्त गृह मन्त्रालयका पूर्व सचिव सिलवालमाथि शंकर समूहलाई लाभ पुग्ने निर्णय गर्दै आएको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनैले शंकर समूह र भट्टले प्रवर्द्धन गरेको हिमालयन रिइन्सुरेन्सलाई २०७८ सालमा अपारदर्शी तरीकाले सञ्चालन अनुमति दिएका थिए। यो कम्पनीको व्यवसाय सुनिश्चित गरिदिन प्राधिकरणले कैयौं नियामकीय व्यवस्था नै हेरफेर गरिदिएकोमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले आफ्नो प्रतिवेदनमा नै आपत्ति जनाएको छ। अध्यक्ष सिलवालको भट्ट र शंकर समूहसँगको सम्बन्धबारे प्रश्न उठ्दै आएको छ। यस्तोमा एकै समूहलाई जीवन र निर्जीवन बीमा गर्ने दुई फरक फरक कम्पनी सञ्चालनको लाइसेन्स दिइनुले समग्र प्रक्रियामा मनोमानी भएको संकेत गर्छ।
प्राधिकरणबाट अनुमति पाएको अर्को कम्पनी हो, ट्रस्ट माइक्रो इन्सुरेन्स। बुटवलका माओवादी नेता जगतबहादुर पोखरेलले नेतृत्व गरेको यो कम्पनीमा साइन रेसुंगा विकास ब्यांकको १० प्रतिशत सहित सफारी इन्भेस्टमेन्ट, रिजेन्सी फिनकर्प र विप्रो फिनकर्पको क्रमशः १२, १२ र ११ प्रतिशत गरी ३५ प्रतिशत शेयर लगानी छ। सफारी इन्भेस्टमेन्ट शैलेश अग्रवाल, रिजेन्सी फिनकर्प रचित अग्रवाल र विप्रो फिनकर्प बबिता खेतानको नाममा छ। यद्यपि यी कम्पनीमा शंकर समूहको संलग्नता पुष्टि हुन सकेन।
यी लघु बीमामा संस्थागत लगानीकर्ताका रूपमा देखिएका अधिकांश कम्पनी छद्म प्रयोजनले खोलिएको र परस्पर सम्बद्ध रहेको आशंकालाई यी कम्पनीको दर्ता मिति र ठेगानामा देखिएको समानताले पनि बलियो आधार दिन्छ। गार्डियन माइक्रो इन्सुरेन्सको लगानीकर्ता नेप्ब्लुल्स क्यापिटल तथा प्रोटेक्टिभ र क्रेस्ट माइक्रोको लगानीकर्ता मेट्रो क्यापिटल एकै दिन २०७९ साउन २९ गते कम्पनी रजिस्ट्रारमा दर्ता भएका थिए। २०७९ असोज ७ गते एकसाथ दर्ता भएका थिए, रुद्र फिनकर्प (प्रोटेक्टिभ माइक्रोको लगानीकर्ता), अवनति फिनकर्प (क्रेस्ट माइक्रोको लगानीकर्ता), कल्याणी इन्भेस्टमेन्ट (प्रोटेक्टिभ र क्रेस्ट माइक्रोको साझा लगानीकर्ता)।
त्यसैगरी लिबर्टी माइक्रोको लगानीकर्ता लाङटाङ इन्भेस्टमेन्ट तथा स्टार माइक्रोका लगानीकर्ताद्वय लोबुचे इन्भेस्टमेन्ट र घान्द्रुक इन्भेस्टमेन्ट एकसाथ २०७९ भदौ ३० गते दर्ता भएका हुन्। गार्डियनको लगानीकर्ता टाइटेनियम क्यापिटल तथा लिबर्टी र स्टारको लगानीकर्ता रेमी क्यापफिन, ट्रस्टका लगानीकर्ता सफारी इन्भेस्टमेन्ट र रिजेन्सी फिनकर्प एकै दिन २०७९ भदौ २३ गते दर्ता गरिएका थिए। यी कम्पनीको ठेगाना समेत एउटै छ। अवनति, कल्याणी, रुद्र फिनकर्प सहितका कम्पनीले त दर्तापछि कम्पनी रजिस्ट्रारको कार्यालयमा सम्पर्क समेत नराखेको पाइएको छ।
प्राधिकरणका प्रवक्ता पौडेल भने अनुमति दिइएका कम्पनीमा भ्याएसम्म ‘क्रसहोल्डिङ’ रहे/नरहेको भनी अध्ययन गरिएको बताउँछन्। “कतिपय लगानीकर्ता एकाघर परिवारको जस्तो देखिए पनि कानूनी रूपमा छुटीभिन्न देखाएकाले अनुमति दिएका छौं,” पौडेल भन्छन्।
प्राधिकरणका अध्यक्ष सिलवाल पनि एकै परिवारको नाममा सीमाभन्दा बढी शेयर राख्न नदिन प्रयत्न गरिएको बताउँछन्। उनी भन्छन्, “बाबु र छोरा मात्र होइन, श्रीमान्-श्रीमती नै छुटीभिन्न भएको कागजात पेश गरेकाले अनुमति दिनुपरेको हो।”
प्राधिकरणको कानून शाखाका उपनिर्देशक शाम्भराज लामिछाने एकाध कम्पनी कुनै कर्पोरेट समूहका तर्फबाट खोलेर अरूकै नाममा राखिएको हुन सक्ने भए पनि ठोस प्रमाण नभएकाले केही गर्न नसकिएको बताउँछन्। “प्रक्रिया यति हतारमा अघि बढ्यो कि कतिपय सन्दर्भमा मसिनोसँग हेर्न पनि भ्याइएन,” लामिछाने भन्छन्।
प्राधिकरणका अधिकारीहरूको जवाफले एकै समूहको अन्तिम हिताधिकार र अप्रत्यक्ष नियन्त्रण रहँदा पनि कानूनी रूपमा गलत नठहरिने गरी चाँजोपाँजो मिलाइएको बुझिन्छ। यसबारे बुझ्न शंकर समूह अन्तर्गतको जगदम्बा समूहका अध्यक्ष शाहिल अग्रवालसँग सम्पर्क गर्ने प्रयास सफल भएन।
कानूनी प्रश्न यथावत्
यी कम्पनीको अनुमति प्रक्रिया अपारदर्शी रहेको मात्र होइन, अपनाइएको प्रक्रियाको कानूनी व्यवस्थामा समेत प्रश्न छ। बीमा ऐन २०६९ अनुसार एकै किसिमको व्यवसाय गर्ने कम्पनीमा प्रतिहिस्सेदारी (क्रसहोल्डिङ) गर्न मिल्दैन।
त्यसैगरी बीमा ऐनको परिच्छेद ७, दफा ६१ ले बीमा व्यवसायलाई जीवन, निर्जीवन र पुनर्बीमा गरी तीन प्रकारमा वर्गीकरण गरेकामा प्राधिकरणले त्यसका विरुद्ध हुने गरी लघु बीमालाई छुट्टै प्रकार मानेर कम्पनी स्थापनाको अनुमति दिएको देखिएको छ। जीवन, निर्जीवन र पुनर्बीमा गरी तीन प्रकारलाई मात्र बीमा व्यवसाय मानिएको भए यसअघि सोही व्यवसाय चलाइरहेको समूहले नयाँ स्थापना हुने लघु बीमा कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने थिएन। तर बीमा प्राधिकरणले लगानीकर्तालाई फाइदा हुने गरी बाटो खोलिदियो।
ऐन अनुसार यसअघि नै युनियन लाइफ इन्सुरेन्स सञ्चालन गरिरहेको शंकर समूहले जीवन बीमाकै काम गर्ने अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न मिल्दैन। युनियनमा सुलभ र शाहिल अग्रवालका नाममा करीब ३८ प्रतिशत शेयर रहेको कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबाट खुल्छ। युनियनमै शेखर गोल्छाको १९.९३ प्रतिशत, राजेश हार्डवेयरको ३.३२ प्रतिशत, सालिमार समूहको ३.३२ प्रतिशत शेयर छ। यिनले पनि नयाँ लघु बीमामा १ प्रतिशतभन्दा बढी लगानी गर्न मिल्दैन।
प्राधिकरणले जीवन र निर्जीवन बीमा कारोबारलाई पनि फरक फरक व्यवसाय मान्दै एकै व्यक्ति र समूहलाई दुई खाले कम्पनी स्थापना गर्न बाटो खुलाइदिएको देखिएको छ। प्राधिकरणको कानून शाखाका उपनिर्देशक लामिछाने लघु बीमा गर्ने कम्पनी साविकका जीवन र निर्जीवन बीमा कम्पनीभन्दा फरक रहेको भनी बोर्डले व्याख्या गरेको बताउँछन्। “हुन त लघु बीमा कम्पनीको कामको प्रकृति पनि जीवन र निर्जीवन बीमा कम्पनीकै जस्तो हो, खालि यसले सानो व्यवसाय गर्ने हो। यद्यपि कानूनको प्रावधान र व्याख्याबारे थप छलफल गरेपछि मात्रै यसबारे भन्न सकिन्छ,” उनी भन्छन्।
अर्कातिर लघु बीमा कम्पनीलाई अनुमति दिने प्रक्रियामा चुक्ता पूँजीको सीमाको व्याख्यामा पनि कानूनी प्रश्न छ। बीमा ऐनको दफा २७ (ठ) मा ‘प्रस्तावित बीमा कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजीको १५ प्रतिशत वा सोभन्दा बढी शेयर एकै व्यक्ति, एकाघरको परिवार, संस्था वा समूहको स्वामित्वमा रहने भए त्यस्तो कम्पनीलाई अनुमति दिन इन्कार गर्न सकिने’ उल्लेख छ।
यद्यपि अनुमति दिइएका कम्पनीमा यो प्रावधानको विपरीत हुने गरी शेयर बाँडफाँड गरिएको देखिन्छ। जस्तो- गार्डियन माइक्रो इन्सुरेन्सको प्रबन्धपत्रमा कम्पनीको पूँजी संरचना अन्तर्गत संस्थापकहरूले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजी रकम ५२ करोड ५० लाख रुपैयाँ हुने उल्लेख छ। यस अनुसार उक्त रकमको १५ प्रतिशतले हुन आउने शेयर सात लाख ८५ हजार ५०० कित्ता मात्र कुनै एक व्यक्ति वा समूहले राख्न मिल्छ। तर शंकर अग्रवालको एसजी फिनकर्पकै नाममा गार्डियनमा ११ लाख २५ हजार कित्ता शेयर छ।
उपनिर्देशक लामिछाने तत्काल चुक्ता गर्न कबूल गरेको पूँजीलाई नै कुल चुक्ता पूँजी सरह मानिएको भन्दै सर्वसाधारणलाई शेयर जारी गरिसकेपछि पुग्ने कुल चुक्ता पूँजीको १५ प्रतिशतसम्म एकै व्यक्ति वा समूहलाई लगानी गर्न दिइएको तर्क गर्छन्। प्राधिकरणका अध्यक्ष सिलवाल एकै समूहको ‘क्रसहोल्डिङ’ देखिए शेयर बिक्री गराएर लगानी घटाउँदै लैजाने बताउँछन्। उनी भन्छन्, “जम्मा ५-६ घराना र समूहको हालीमुहाली रहेको देशमा एउटा समूहले अनुमति नपाए अर्काले पाउँछ। त्यसैले अमुक घरानाले अनुमति लियो भन्नु बेकार कुरा हो।”
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)