नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ।
बुधबार लमजुङको दोर्दी गाउँपालिकामा दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको हो। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको यसका लागि पहल गरेको संस्था मायाको पहिचान नेपालका सल्लाहकार सुनीलबाबु पन्तले बताए।
पूर्व सांसद समेत रहेका पन्तले यसलाई ऐतिहासिक भनेका छन्। “माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएकोमा ‘मायाको पहिचान नेपाल’ माया र सुरेन्द्रको संघर्षलाई उच्च सम्मान गर्दछ,” पन्तले भनेका छन्।
समलिंगी विवाह दर्ताका लागि उनीहरूले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चले विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चको आदेश अनुसार, उनीहरू विवाह दर्ताका लागि जिल्ला अदालत, काठमाडौं पुगेका थिए। तर, जिल्ला अदालतले आदेशको शब्दमा खेलेर विवाह दर्ता गर्न अस्वीकार गरेको थियो।
त्यसपछि उनीहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई गुहारेका थिए। विभागले सर्वोच्च अन्तरिम आदेशअनुसार, विवाह दर्ता गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो।
त्यसका आधारमा आज गाउँपालिकाले समलिंगी विवाह दर्ता गरेका हुन्। नवलपरासीको कावासोती नगरपालिका-८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका-२ का रामबहादुरले विवाह गरेका हुन्।
उनीहरूको विवाह दर्ता प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेखमा रहने गरी जारी गरिएको’ भनेर उल्लेख गरिएको छ।