हर्मोनको आफूखुशी उपभोगले ज्यानै जोखिममा
चिकित्सकको सिफारिश विनै आफूखुशी हर्मोन किनेर खाँदा क्यान्सर, मस्तिष्कघात, मानसिक रोगदेखि ज्यानै जानेसम्मको जोखिममा पारलैंगिकहरू।
समतल छाती, दाह्रीजुँगा अनि गठिला मांसपेशी- ठ्याक्कै केटाकै शरीर थियो उनको। तर आफूलाई ठान्थिन् केटी। केटी नै बनेर चिनिन/जिउन चाहन्थिन्। तर कसरी बदल्ने शरीरका पुरुष सूचकहरू ? गूगलमा निकै खोजिन्। आफू जस्तै साथीहरूसँग सल्लाह मागिन्। तिनले उपाय दिए- हर्मोन सेवन। साथीहरूकै लहलहैमा थाइल्यान्डबाट हर्मोन मगाएर आफूखुशी खान थालिन्।
नभन्दै जर्राे छाला केही दिनमै कोमल हुन थाल्यो। छाती दुईतिर पुट्ट उकासियो। कपाल पनि सप्रियो।
अब रिना केसी (परिवर्तित नाम)लाई लाग्यो- सपना पूरा हुने भयो। तर उनमा अरू बदलाव पनि देखिए, जो पहिले थिएनन्- छिनछिनमै रिस उठ्ने, तौल बढ्ने, मानसिकता फेरिइरहने आदि। उनी आत्तिइन्। हर्मोनले नै केही खराबी गरेको शंका पस्यो। अस्पताल जाने सोचिन्, आँट गरिहाल्न पनि सकिनन्। कारण- पारलैंगिकहरूलाई चिकित्सक र नर्सबाटै दुर्व्यवहार हुने गरेका किस्सा साथीहरूले पटक पटक सुनाइसकेका थिए। लामै समय तनावमा परिन् उनी।
दुई महीनायता भने रिना चिकित्सकीय परीक्षण र सल्लाहमै हर्मोन लिंदै छिन्। नेपाल परिवार नियोजन संघले यस्तो सुविधा उपलब्ध गराएको छ। आठ वर्षअघि १६ वर्षको उमेरमा पहिलो चोटि हर्मोन खाएकी उनले बल्ल बुझेकी छन्- एउटै हर्मोन सबैलाई काम लाग्दैन। शरीरको प्रकृति अनुसार त्यसको छनोट पनि फरक हुन सक्छ। भन्छिन्, “हामी शरीर बाहिर लगाउने लुगा त कति सोचविचार गरेर किन्छौं, हर्मोन त शरीरभित्रै असर गर्ने कुरा। लिनुअघि कम्तीमा एक पटक चिकित्सकसँग सल्लाह गर्नैपर्ने रहेछ।” खाने हर्मोनले एलर्जी भएपछि रिना अहिले चिकित्सककै सुझावमा हातखुट्टामा लगाइने हर्मोन प्रयोग गर्छिन्।
अर्का थिए, जीवन (परिवर्तित नाम)। शरीरले केटी उनी मनले चाहिं थिए केटा। केटाकै स्वरूपमा चिनिन/जिउन चाहन्थे। तर गल्ती उही गरे- जथाभावी हर्मोन सेवन। परिवर्तन उनले चाहे जस्तै हुँदै थियो। दाह्रीजुँगा पलायो। स्तन सुक्दै गयो। महीनावारी रोकियो। मांसपेशी कस्सियो। पुरुष बन्ने चाहना यति तीव्र थियो कि नागरिकता समेत त्यही पहिचानबाट लिन चाहन्थे। नेपालमा अहिलेसम्म लिंग परिवर्तनका लागि स्पष्ट नीति छैन। तर सरकारले पारलैंगिकहरूले महिला वा पुरुषको पहिचानबाट नागरिकता लिनुपरे लिंग परिवर्तन गरेको प्रमाण अनिवार्य गरेको छ। सोही कारण जीवन पाठेघर निकाल्न भनी अस्पताल पुगे। परीक्षण गर्दा पाठेघरमा पनि रौं पलाएको देखियो। “शल्यक्रियाका वेला त्यही रौंले जटिलता ल्याइदिंदा जीवनको मृत्यु भयो,” समयौनिक महिलाको क्षेत्रमा कार्यरत संस्था मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलान भन्छन्।
यसरी हचुवामा हर्मोन खाएर जीवन जोखिममा पार्ने पारलैंगिक अरू पनि थुप्रै छन्। हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीका अनुसार चिकित्सकीय परामर्श विना हर्मोन सेवन गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो। किनकि हरेक हर्मोनका दुष्प्रभाव पनि हुन्छन्। क्यान्सर, मुटुरोग, हृदयाघात, मस्तिष्कघात, पित्तथैलीमा पत्थरी र स्तनमा ट्युमर सम्मको जोखिम रहन्छ। “डोज बढी हुँदा विभिन्न समस्या भोग्नुपर्छ,” उनी भन्छन्।
चिकित्सा विज्ञानमा पुरुष शरीरलाई महिला बनाउन ‘एस्ट्रोजेन’ तथा ‘प्रोजेस्टेरोन’ र महिला शरीरलाई पुरुष बनाउन ‘टेस्टोस्टेरोन’ हर्मोन प्रयोग गरिन्छ। “टेस्टोस्टेरोन हर्मोनले कहिलेकाहीं ‘गाइनेकोमेस्टिया’ हुने अर्थात् स्तन झन् बढाइदिन सक्छ। हेमाटोक्रिट हुने अर्थात् रगत जम्ने समस्या पनि देखिन सक्छ, त्यसैले आफूखुशी खान हुँदैन,” त्रिवि शिक्षण अस्पताल महाराजगन्जका हर्मोन रोग विशेषज्ञ डा. नरेश पराजुली भन्छन्। उनका अनुसार ‘एस्ट्रोजेन’ पनि धेरै खाँदा वा सन्तुलन नमिल्दा रगत जम्ने, हड्डी मक्किने, मानसिकता अस्थिर रहने, बिर्सिने, चिडचिडाहट हुने, तौल बढ्ने अनि सुगर, प्रेसर र कोलेस्ट्रोलको जोखिम रहन्छ। “हड्डी मक्किन नदिन ‘बोन मिनरल डेन्सिटी’ हेरेर भिटामिन पनि सँगसँगै खुवाउनुपर्ने हुन सक्छ,” उनी भन्छन्, “दुवै हर्मोनमा मात्रा मिलाउन नसकिए समस्या निम्तिन्छ नै।”
परिवार नियोजन संघमा कार्यरत डा. सुनील पोखरेल हर्मोन लिनुअघि सुगर, प्रेसरदेखि कलेजो, मिर्गौला, थाइरोइड, हेमोग्लोबिन आदिको पनि जाँच गर्नुपर्ने बताउँछन्। भन्छन्, “पुरुष हर्मोन लिनेहरूमा कपाल झर्ने, डन्डिफोर धेरै आउने जस्ता समस्या देखिन सक्छन्। यस्तो वेला डोज नमिले आत्महत्याको भावना समेत आउन सक्छ।” उनका अनुसार पुरुषबाट महिला बन्न चाहनेलाई हर्मोनसँगै ‘ब्लकर’ पनि दिनुपर्छ जसले उसमा थप पुरुष हर्मोन उत्पादन हुन दिंदैन। महिला बनाउने हर्मोन धेरै परिमाणमा दिनुपर्ने हुँदा त्यसको असर रोक्न पनि ‘ब्लकर’ चाहिन्छ।
जैविक रूपमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोन महिलाको डिम्बाशयबाट उत्पन्न हुने हो। त्यसैले पुरुषबाट महिला बन्न चाहनेलाई दुवै हर्मोन मिलाएर दिनुपर्ने हुन्छ। दुईमध्ये एस्ट्रोजेन बढी प्रभावकारी मानिन्छ। “तर कतिपयले एस्ट्रोजेन ठानेर प्रोजेस्टेरोनको सुई लगाइरहेका हुन्छन्,” डा. पोखरेल भन्छन्। अहिले नेपालमा प्रायशः एस्ट्रोजेन चक्की र जेलमा, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन सुईका रूपमा र ‘ब्लकर’ चक्कीमा उपलब्ध छन्। पोखरेलका अनुसार अहिलेको आँकडामा हर्मोनथेरापीमा रहेको व्यक्तिले मासिक रूपमा एक हजारदेखि दुई हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन सक्छ। पुरुषबाट महिला हुन चाहनेका हकमा थेरापी थाल्नुअघि नै दिमागबाट आउने हर्मोनहरू रोक्न ‘जीएनआरएच’ सुई लगाइन्छ जुन नियमित खानुपर्ने हर्मोनभन्दा महँगो हुन्छ। हर्मोन सेवन गर्नेले धूमपान/मद्यपान गर्नै हुन्न। तौल नियन्त्रण गर्नुपर्छ। हर्मोनले महीनावारी सुक्दै जाँदा पाठेघरको जाँच गराइरहनुपर्छ। वर्षौं एउटै हर्मोन खाइरहँदा पनि असर गर्छ। “त्यसैले हरेक ६ महीनामा जाँच गराइरहनुपर्छ, हर्मोनको डोज परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ,” डा. पोखरेल भन्छन्।
महिला बन्ने हर्मोन लिएकाहरूले शारीरिक सक्रियता निकै बढाउनुपर्छ। अन्यथा रगत जम्ने र त्यो फोक्सोसम्म पुगेर ज्यानै जान सक्छ। त्यसैले लामो समय बसेर यात्रा गर्नुपर्ने वा आराम गर्नुपर्ने अवस्था भएकाहरूले हर्मोन लिनै हुँदैन।
१० जुलाई २०१८ मा एनबीसी न्यूजमा प्रकाशित रिपोर्टले पनि हर्मोनथेरापीमा रहेका पारलैंगिक महिलालाई हृदयाघातसँगै मुटु सम्बन्धी अन्य रोग र रगत जम्ने समस्या देखिन सक्ने औंल्याएको छ। पाँच हजार पारलैंगिकको आठ वर्षको चिकित्सा रिपोर्ट अध्ययनपछि उक्त सामग्री तयार पारिएको थियो।
चिकित्सकका अनुसार हर्मोन खाएर बदलेको शरीर सधैं त्यही स्थितिमा रहने होइन। खान छाडेपछि फेरि जन्मजात हर्मोन सक्रिय हुन्छ। यसको अर्थ हर्मोनले शरीरको आवरण मात्र बदलिदिने हो, जननेन्द्रिय होइन। त्यसका लागि चाहिं शल्यक्रिया नै गर्नुपर्ने हुन्छ।
घरमा बेवास्ता, अस्पतालमा विभेद
अमेरिकन एकेडेमी अफ पेड्रियाट्रीका चिकित्सक जेसन राफर्टीले आफ्नो लेखमा उल्लेख गरे अनुसार बच्चाले दुई वर्षको उमेरदेखि छोराछोरीबीचको शारीरिक फरक छुट्याउन सक्छ। त्यस्तै, तीन वर्षको हुँदा आफ्नो लैंगिक पहिचान निर्क्योल गर्न र चार वर्षको हुँदा त्यसमा स्थिर भावना बनाउन सक्छ।
तर नेपालमा पारलैंगिक बच्चाले आफ्नो लैंगिकता बताउँदा बेवास्ता गरिन्छ। त्यसको असर उसको मानसिक स्वास्थ्यमा पर्न थाल्छ। जबकि बच्चालाई आफ्नो लैंगिकतालाई लिएर दोधार हुने अवस्थादेखि नै मनोचिकित्सक आवश्यक पर्ने परिवार नियोजन संघमा कार्यरत मनोचिकित्सक डा. निशा ढुंगाना बताउँछिन्। “अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो,” उनी भन्छिन्, “लिंग परिवर्तनका हकमा पनि दुई जना मनोचिकित्सकले कम्तीमा ६ महीना हेरेपछि हर्मोन या शल्यक्रिया कुन विधि अपनाउने भन्ने निधो गरिन्छ।”
डा. ढुंगानाका अनुसार संघमा आउने पारलैंगिक व्यक्तिमा पनि शुरूमा लैंगिकता कुन हो भन्ने पत्ता लगाइन्छ। “हर्मोन थेरापीअघि लैंगिकताको पहिचान एकदमै महत्त्वपूर्ण हुन्छ। मानसिक रूपमा पनि तयार पार्नुपर्छ,” उनी भन्छिन्।
डा. पराजुलीका अनुसार कसै कसैलाई शरीरको कुनै अंग मन नपरेकै कारणले आफ्नो लैंगिक पहिचान अर्कै रहेको भान पर्न सक्छ। त्यो स्थितिलाई मेडिकल भाषामा ‘बडी डिस्फर्मिक डिसअर्डर’ भनिन्छ। “कसै कसैले गलत प्रयोजनले समेत आफूलाई जेन्डर डिसफोरिक देखाइरहेका हुन सक्छन्,” उनी भन्छन्।
केही महीनाअघि आफूलाई पारलैंगिक महिला भन्ने एक व्यक्ति डा. पोखरेलकहाँ पुगे। तर परीक्षणमा उनी समलिंगी पुरुष मात्र रहेको पत्तो लाग्यो। “उनलाई अर्को हेट्रोसेक्सुअल पुरुष (शारीरिक, यौनिक र भावनात्मक रूपले विपरीत लिंगप्रति आकृष्ट हुने) मन पर्दो रहेछ। आफू महिला हुँदा उसले प्रेम गर्ने ठानेर लिंग बदल्न चाहेका रहेछन्,” उनी सुनाउँछन्।
अर्कातिर दूरदराजका पारलैंगिकहरू चिकित्सकीय पहुँचमा छैनन्। पहुँच भएकाहरू पनि सकेसम्म अस्पताल जान चाहँदैनन्। कारण हो- त्यहाँको व्यवस्थापन, व्यवहार र संरचना उनीहरूको अनुकूल नहुनु। चिकित्सक/नर्सदेखि शौचालयसम्म यौनिक/लैंगिक अल्पसंख्यकलाई अनुकूल नरहेको स्विकार्छन् डा. पोखरेल।
डा. पराजुली चाहिं चिकित्सकलाई नै लिंग र लैंगिकताको फरक थाहा नभएको बताउँछन्। “अस्पतालमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहज वातावरण बनाउन सकिएको छैन। चिकित्सकलाई पनि बुझाउन आवश्यक छ। हामीकहाँ सेवाग्राहीको गोपनीयता राख्ने व्यवस्था नै भएन,” उनी भन्छन्।
नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ यौनिक/लैंगिक अल्पसंख्यकहरू अस्पताल जान धकाउनुमा मुख्य दुई कारण देख्छिन्। पहिलो, विशेषज्ञ पहिल्याउनै मुश्किल पर्नु। दोस्रो, अस्पतालमा पनि दुर्व्यवहार भोग्न पर्नु। शरीरलाई आफ्नो लैंगिक पहिचान अनुसार ढालेकाहरू दुर्व्यवहारमा कम पर्ने गर्छन्। गुरुङका अनुसार दुर्व्यवहार भोग्नेमा तराई मूलका पारलैंगिक बढी छन्। कारण- हर्मोनमा तिनको पहुँच हुँदैन। “हर्मोनले चाहे जस्तो शरीर बनाएकाहरूलाई विभेद र दुर्व्यवहार कम भएकाले अरू पनि त्यसतर्फ आकृष्ट भएका हुन्,” उनी भन्छिन्।
यद्यपि चिकित्सककै निगरानीमा हर्मोन सेवन गर्दा पनि कतिपयले जोखिम अनुभूति गरेका छन्। तिनैमध्ये पर्छन्, ३० वर्षीय सुदीप गौतम। ६ वर्षअघि काठमाडौंमा एक कार्यक्रमका सिलसिलामा थाई नागरिक जोसँग उनको भेट भयो। एशिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्कमा काम गर्ने जोले हर्मोन खाएर जुँगा उमारेको, स्वर समेत पुरुषको जस्तो बनेको सुनाएपछि सुदीप आफू पनि त्यस्तै बन्न छटपटाए। अनि डा. बजरंग रौनियारकहाँ पुगे। उनकै परामर्शमा पाँच वर्षयता हर्मोन खाइरहेका सुदीप अरूलाई चाहिं सकेसम्म नखान सुझाउँछन्। “शारीरिक र मानसिक रूपमा साह्रै कमजोर भइँदो रहेछ,” नीलहिरा समाजका ‘ह्युमन राइट अफिसर’ तथा यौनिक/लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्ने ‘युनिटी फर चेन्ज’ का अध्यक्ष उनी भन्छन्।
समायरा श्रेष्ठ अर्की पारलैंगिक हुन् जसले आफ्नो शरीरलाई समाजले बनाइदिएको सुन्दर युवतीको परिभाषासँग दाँज्दै त्यस्तै बनाउन चाहिन्। त्यसकै लागि २० वर्षको उमेरमा हर्मोन लिन शुरू गरिन्। “तर मलाई यसो गर्नु आफ्नो अस्तित्व मेट्नु हो भन्ने लाग्न थाल्यो। त्यसैले दुई वर्षपछि हर्माेन छाडिदिएँ,” उनी भन्छिन्।
हर्मोन सेवन व्यक्तिगत अधिकारको कुरा भए पनि यसकै कारण निम्तिने मानसिक र शारीरिक समस्यालाई नजर अन्दाज गर्न नमिल्ने समायराको तर्क छ। “युवा उमेरमा राम्रो देखिने जोशमा लिएको गलत कदमले भविष्यमा समस्या निम्त्याउन सक्छ,” थिएटर कलाकार र मोडल समेत रहेकी उनी भन्छिन्, “त्यसैले हर्मोन लिने नै हो भने पनि चिकित्सकको परामर्श विना चाहिं सोच्नै हुँदैन।”
डा. पराजुली पनि लामो समय हर्मोन सेवन गरेकाहरूमा उमेर बढ्दै जाँदा शरीर र स्मरणशक्ति कमजोर हुने, अन्य स्वास्थ्य जटिलताहरू देखिने सम्भावना नकार्दैनन्।
सिफारिश विनै बिक्री
नेपालमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोन सहजै पाइन्छ भने टेस्टोस्टेरोन पाउन अलि मुश्किल छ। प्रयोगकर्ताका अनुसार एस्ट्रोजेन तथा प्रोजेस्टेरोन सोझै किन्न पाइन्छ। टेस्टोस्टेरोनलाई चिकित्सकको सिफारिश माग्ने गरिएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसी भने चिकित्सकको सिफारिश विना कुनै पनि हर्मोन बेच्न नपाइने बताउँछन्।
औषधि ऐन, २०३५ मा औषधिलाई तीन समूहमा विभाजन गरिएको छ। पहिलोमा लागू तथा विषालु औषधि पर्छन् भने दोस्रोमा हर्मोन तथा एन्टिबायोटिक्सहरू। तेस्रो समूहलाई ओटीसी भनिन्छ जसमा सिटामोल लगायत औषधि पर्छन्। “पहिलो र दोस्रो समूहका सबै औषधिलाई प्रेस्क्रिप्सन अनिवार्य छ,” उनी भन्छन्।
ऐनमा त्यस्ता औषधि फर्मासिस्ट, फार्मेसी सहायक वा अनुमतिप्राप्त व्यवसायीले भन्दा अरूले बेच्न नपाउने व्यवस्था पनि छ। चिकित्सकको सिफारिश विना बेच्नेलाई एक वर्षसम्म कैद र पाँच हजारसम्म जरिवाना तोकिएको छ।
विभागले नियमित रूपमा अनुगमन गरिरहेको र विना प्रेस्क्रिप्सन बेचेको भेटिंदा वा यस सम्बन्धी उजुरी पर्दा कारबाही पनि गरिरहेको केसी दाबी गर्छन्।
नीतिगत अन्योल
६ महीनाअघि त्रिवि शिक्षण अस्पतालको मानसिक रोग वार्डमा १४ वर्षे बालकलाई भर्ना गरियो। कारण थियो- पटक पटक आत्महत्या प्रयास। केटा जस्ता देखिने उनले आफू केटी भएको भन्दै पुरुष वार्डमा नबस्ने अड्डी कसे। चिकित्सकले शरीर हेर्न खोज्दा महिला चिकित्सकलाई मात्र देखाउने भनेपछि उनी पारलैंगिक रहेको पत्ता लाग्यो। तर अभिभावक सत्य स्वीकार्न तयार भएनन्। “उल्टै मानसिक समस्या भन्दै मनोविज्ञान परिवर्तन गराउनमा जोड दिइरहे,” डा. पराजुली सम्झिन्छन्। उनका अनुसार यस्तो अवस्थामा बच्चाको कुरा मान्ने कि अभिभावकको भन्ने द्विविधा हुन्छ। बच्चाको कुरा मान्न पनि १८ वर्ष नपुगेसम्म ऊ बालिग नहुने भएकाले निर्णयको कानूनी अधिकार अभिभावकसँग हुन्छ।
चिकित्सकहरू पनि पारलैंगिकका यी समस्या सम्बोधन गर्ने छुट्टै कानूनी व्यवस्थाको आवश्यकतामा जोड दिन्छन्। “हर्मोन दिंदा बिरामीको सहमति त लिएका हुन्छौं तर यसो गर्न पाइने हो/होइन भन्ने स्पष्ट छैन। कानूनी रूपमै प्रस्ट पारिदिए हामीलाई सहज हुन्थ्यो,” डा. जोशी भन्छन्।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा थाइल्यान्डमा पारलैंगिकहरूले १४/१५ वर्षको उमेरदेखि नै हर्मोन लिन सक्ने व्यवस्था त्यहाँको सरकारले गरिदिएको छ। त्यहाँ लिंग परिवर्तनको शल्यक्रिया गर्न भने २० वर्ष पुगेको हुनुपर्ने अमेरिकाको न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जर्नलमा उल्लेख छ।
नेपालमा भने पारलैंगिकहरूलाई निकै उमेरसम्म हर्मोनबारे थाहै हुँदैन। थाहा पाइसकेपछि पनि परिवारले साथ दिंदैन। यस्तोमा चिकित्सकको शुल्क र थेरापीको खर्च थेग्न नसकिने ठानेर आफूखुशी किनेर खानेहरू पनि छन्।
हर्मोन लिन चाहनेहरूका लागि सरकारले मार्गनिर्देशनसँगै सहुलियत दिनुपर्ने यौनिक/लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत समायराको धारणा छ। भन्छिन्, “सही सूचना नपाएरै कतिको ज्यान जोखिममा परिरहेछ। यसबारे स्वास्थ्य मन्त्रालयले चासो देखाउनुपर्छ।”
अर्कातिर पारलैंगिकहरूले पहिचान सहितको नागरिकता लिन लिंग परिवर्तन अनिवार्य भन्ने सरकारले त्यसको वातावरण चाहिं नबनाइदिनु चित्तबुझ्दो नरहेको मितिनी नेपालकी अध्यक्ष घलान बताउँछन्। “हर्मोन सम्बन्धी सेवा सरकारले नै दिनुपर्ने हो,” उनी भन्छन्, “यससँगै केही आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनुपर्छ।”
नीलहिरा समाजकी अध्यक्ष गुरुङ हर्मोन सेवन व्यक्तिगत रोजाइको कुरा भए पनि सरकारले यसलाई स्वास्थ्य नीतिमै समेटेर सम्बोधन गर्न आवश्यक देख्छिन्। भन्छिन्, “१५ वर्ष अगाडि खाँदा हामीसँग केही जानकारी थिएन। आज पनि स्थिति त्यही छ। सरकारले योजना ल्याएको छैन।” सरकारले लैंगिक तथा यौनिक अल्पसंख्यकका विगतका मागहरूकै नीतिगत सम्बोधन गर्न नसकेको अवस्थामा हर्मोन प्राथमिकतामै नरहेको बताउने गुरुङ समाजले पनि यसतर्फ त्यति ध्यान नदिएको स्विकार्छिन्।
पारलैंगिक अधिकारकर्मी भूमिका श्रेष्ठ हर्मोन सम्बन्धी सेवालाई स्वास्थ्य बीमामै समेट्नुपर्नेमा जोड दिन्छिन्। अधिवक्ता सुजन पन्त पनि हर्मोन सम्बन्धी स्पष्ट कानूनी व्यवस्थाको आवश्यकता औंल्याउँछन्। “चिकित्सक र प्रयोगकर्ता दुवैलाई सहज हुने थियो,” उनी भन्छन्।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या दुई हजार ९२८ छ। तर सरोकारवाला यो संख्या अझ धेरै रहेको दाबी गर्छन्। सरकारी तथ्यांकमा यीमध्ये पनि समलिंगी, पारलैंगिक, अन्तरलिंगी आदि छुट्याइएको छैन।
सरकारलाई हर्मोन प्रयोग गरिरहेका पारलैंगिक कति छन् भन्ने पनि थाहा छैन। परिवार नियोजन संघमा नियमित निगरानीमा रहेर हर्मोन प्रयोग गर्नेको संख्या चाहिं ३५० हाराहारी रहेको संघले जनाएको छ।
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)