पुस्तकको उज्यालो संसार
उपन्यासकारले प्रस्तुत गरेको संसार किताब वरिपरिका मान्छेको कथा मात्र होइन, उदासी र एक्लोपन छाडेर अगाडि बढेको जीवनको उज्यालो क्षितिज र नयाँ शुरूआतको व्याख्या पनि हो।
निर्जला अधिकारी
किताबको दुनियाँसँग साइनो नराख्नेहरूलाई पढ्नेहरूको जीवन नीरस र साँघुरो लाग्न सक्छ। तर जापानी लेखक सटोशी यागिसावाले डेज एट मोरीसकी बूकशप उपन्यासमा पुस्तकले डोर्याएको उज्यालो संसार देखाएका छन्। उनका पात्रहरू पढैया छन् तर उनीहरूको जीवन उराठलाग्दो र संकुचित लाग्दैन। लेखकले पुस्तक वरिपरिका रमाइला कथानक कहँदै पुस्तकप्रेमीको रोचक यात्रातिर लगेका छन्।
कथाकी प्रमुख पात्र टाकाकोका मावली खलक तीन पुस्तादेखिका पुस्तक पसल व्यवसायी हुन्। तर उनलाई २५ वर्षको उमेरसम्म पुस्तकले तान्दैन। जब उनका प्रेमी अर्कै व्यक्तिसँग प्रेमसम्बन्धमा गाँसिएर एकाएक तीसँग विवाह गर्छु भन्छन्, उनी गहिरो पीडामा पर्छिन्। त्यो दुःखाइको समयमा उनलाई आडभरोसा दिन उनका मामा आउँछन्। मोरीसकी नामको पुस्तैनी पुस्तक पसल चलाउने मामा आएसँगै उनी पुस्तकको संसारसँग जोडिन्छिन्।
जीवनको असामान्य समयमा पुस्तक आउँदा पुस्तकसँग कहिल्यै साक्षात्कार नगरेकी टाकाकोलाई यससँग एकै चोटि नजिकिन सजिलो हुँदैन। जब बिस्तारै पुस्तकसँग झ्याम्मिन थाल्छिन्, आफ्नो पीडा घट्दै गएको महसूस गर्छिन्। उपन्यास पढ्दै जाँदा पाठकले टाकाकोमा आफैंलाई पाउन सक्छन्। देख्दा सामान्य जीवन बिताइरहे झैं लाग्ने टाकाकोले देखाएको संसार शायद हामी सबैले सामान्यीकरण गरेका असामान्य घटनाको व्याख्या हो।
आफ्नो मामाले चलाएको पुस्तक पसलबाट किताबको दुनियाँमा पुग्छिन्, किताबलाई प्रेम गर्नेहरूलाई भेट्छिन् र उनलाई मन नपर्ने पुस्तकको गन्ध पनि बिस्तारै मन पराउन थाल्छिन्। किताबकै कारण आफू जस्तै धेरै मानिस भेट्छिन् र अरूको जीवनमा पनि आफ्नो जस्तै पीडा रहेछ भन्ने बोध गर्छिन्। अन्तत: प्रेम-वियोगले दिएको पीडा भुल्दै जीवनको नयाँ शुरूआत गर्छिन्।
पहिले उनलाई आफ्नो मामा मन पर्दैनथ्यो। विचित्रको प्राणी लाग्थ्यो। तिनै मामा बिस्तारै मन पर्न थाल्छन्, आफू जस्तै लाग्छन्। पीडाको समयमा उनलाई मामाले साथ मात्र दिंदैनन्, प्रेम के हो भन्ने पनि सिकाउँछन्। छाडेर गएकी श्रीमतीलाई पनि सदा प्रेम गर्ने उनी टाकाकोलाई प्रेम गर्न नभुल्न सल्लाह दिन्छन्। उनी भन्छन्, “प्रेम असाध्यै सुन्दर चीज हो, यो तिमीले कहिल्यै भुल्नु हुन्न।”
यागिसावाको सरल लेखन र विषयवस्तुको प्रस्तुति आकर्षक छ। पात्रहरू सामान्य देखिन्छन् तर जब उपन्यासकारले तिनको जीवन उधिन्दै जान्छन् उनीहरूको कथाका असामान्य पाटा खुल्छन्। प्रेममा रहँदारहँदै प्रेमीले अर्कै युवतीसँग विवाह गर्ने बताएपछि विक्षिप्त बनेकी टोकाको, छाडेर गएकी श्रीमती केही समयपछि फर्किंदा पहिले झैं प्रेम गरिरहने उनका मामा, मातृत्वको अभावमा आफ्नो लोग्नेबाट पर भागेकी उनकी माइजू, हुनेवाला श्रीमान्ले अरू कसैलाई धोका दिएको थाहा पाएपछि टुटेकी टाकाकोकी प्रेमीकी हुनेवाला श्रीमती आदि पात्रहरूले उपन्यासलाई रोचक बनाएका छन्। देख्दा यिनीहरू हाँसीखुशी सामान्य रूपमा बाँचिरहे झैं लाग्छन् तर अन्तरकुन्तरमा सबैसँग आआफ्नै व्यथा छन्।
उपन्यासका विभिन्न पात्रका कथाहरूको बीचमा केही चीज छ भने त्यो किताब नै हो। धेरै पात्र किताबप्रेमी छन्। किताबले उनीहरूको जीवनको उदासी र एक्लोपन माझ्न, प्रेमबारे बुझ्न सघाउँछ। हरेक पात्र टुटेका छन् तर टुट्नुलाई जीवनको एउटा पाटो ठानेर अगाडि बढेका छन्। यसर्थ, यागिसावाले प्रस्तुत गरेको संसार किताब वरिपरिका मान्छेको कथा मात्र होइन, त्योसँगै अगाडि बढेको जीवनको उज्यालो क्षितिज र नयाँ शुरूआतको व्याख्या पनि हो।
उपन्यासमा पात्रहरूले बाँचेको अँध्यारो र त्यससँगै अगाडि बढेको आशा, भरोसा र यथार्थबोधको उज्यालो भेटिन्छ। त्यसैले टाकाको मार्फत लेखकले प्रस्तुत गरेको संसार अँध्यारोमा गुम्सिएको एक्लो कथा होइन। यो त एक्लो जस्तो लाग्दालाग्दै धेरैसँग मेल खाने साझा कथा र भोगाइ हो। पुस्तकमा पात्रहरूले बाँचेको संसार हामीले भोग्दै आएको जीवन झैं लाग्छ, जहाँ मान्छेहरूसँग कुनै न कुनै पीडा र दुःख छ र त्यसलाई सामान्य मानेर उनीहरू बाँचिरहेछन्।
यो उपन्यास एउटा किताबप्रेमीले अर्को किताबप्रेमीको संसार नियाल्ने रमाइलो शब्दयात्रा पनि हो। पढिरहँदा धेरैलाई यो आफ्नै कथा हो भन्ने लाग्न सक्छ। पढ्नेहरू एकान्त रोज्छन् र कुनै समय एकान्त मन पराउनेहरू एक पनि हुन्छन्।
यागिसावाले कथानकमा पुस्तक पसलको सेटिङ मार्फत पुस्तकले दिने उन्मुक्तता र व्यापकताबारे मजाले बोलेका छन्। टोकाकोको पुस्तकप्रेमी मामाको जीवनमा पुस्तकले उघार्ने फराकिलो आयतन पाइन्छ। अरूभन्दा खुला र प्रेमिल छन् उनी। प्रेमलाई सम्बन्धको साँघुरो बन्धन मात्र नठान्ने उनले प्रेमको व्यापकताबारे अवगत पनि गराएका छन्। उनको बोली लेखकको आवाज जस्तो लाग्छ।
टाकाको मार्फत यागिसावाले भनेको कथाले मानिस किन पुस्तकको नजिक पुग्छ र यो कसरी पीडा भुलाउने, आनन्द दिने साथी बन्छ भन्नेबारे पनि बोल्छ। एकसाथ पुस्तकको महिमा गाउने र पुस्तकप्रेमीको जीवन देखाउने यो उपन्यास एक हिसाबले पुस्तकप्रेमीको घोषणापत्र हो, जसले पुस्तक मन पराउनु र यसको वरिपरि रहेर बाँच्नुको यथार्थ मीठो गरी पस्किएको छ। सारमा, पढ्नुलाई कठोर तपस्या र ज्ञानप्राप्तिको स्रोत मात्र ठान्ने हाम्रो जस्तो समाजलाई यस पुस्तकले पुस्तक किन पढ्ने भन्ने प्रश्नको उत्तर दिन्छ।