पोखरा विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको ११ महीनापछि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ।
एक वर्षदेखि पोखरामा रहेको अध्यागमन कार्यालयले ड्यामसाइडमा सम्पर्क कार्यालय राखेर आवश्यक कामकाज गर्दै आएको थियो। अन्तर्राष्ट्रिय उडान भरेर आउने पर्यटकका लागि ‘अनअराइभल’ र ‘डिपार्चर’ को सेवा अन्तर्राष्ट्रिय विमानस्थलमै दिनुपर्छ तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने एउटा कार्यालय पनि खुल्न सकेको थिएन।
२०७९ पुस १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको विमानस्थलमा हालसम्म चीनबाट चार र भुटानबाट एक अन्तर्राष्ट्रिय उडान भएका छन्। पहिलो पटक गत असार ६ गते चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी बोकेको सिचुवान एअरलाइन्सको विमान पोखरामा अवतरण गरेको थियो। त्यस बखत ड्यामसाइडमा रहेको अध्यागमन कार्यालय, पोखराले चिनियाँ पर्यटकलाई अस्थायी रूपमा ‘अनअराइभल’ भिसाको सेवा दिएको थियो।
त्यसको करीब दुई महीनापछि गत भदौ २३ गते रोयल भूटान एअरलाइन्सको ड्रुक एअरले पहिलो पटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो। त्यसपछि चीनबाट थप तीन अन्तर्राष्ट्रिय विमान पोखरा आएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक अध्यागमन कार्यालय नहुँदा अन्तर्राष्ट्रिय उडानमा आएका पर्यटकलाई व्यवस्थापन गर्न समस्या भएको थियो। मंसीर ७ मा विमानस्थलभित्रै अध्यागमन कार्यालय स्थापना भएसँगै यो समस्या सुल्झिएको छ।
गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृत लीलावल्लभ न्यौपानेको नेतृत्वमा विभिन्न तहमा १० जना कर्मचारी पठाएर अध्यागमन सेवाको थालनी गरेको छ। अध्यागमन कार्यालयमा २९ जनाको दरबन्दी रहे पनि नियमित रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान नभइसकेको अवस्थामा तत्कालका लागि १० जना कर्मचारी मात्रै खटाइएको प्रमुख अध्यागमन अधिकृत न्यौपानेले बताए।
कार्यालय स्थापना भएकै दिन पोखरामा माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन हिमालय एअरलाइन्सबाट आएका चिनियाँ खेलाडीलाई अध्यागमन कार्यालयले पहिलो सेवा दिएको थियो। अध्यागमन प्रमुख न्यौपानेका अनुसार विमानस्थलमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि ‘अनअराइभल’ र ‘डिपार्चर’ भिसासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले गर्ने सरहको काम पोखरा कार्यालयले गर्नेछ।
उनले हाल अन्तर्राष्ट्रिय उडान नियमित नभए पनि कार्यालयको आन्तरिक व्यवस्थापनका लागि काम भइरहेको बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक न्यूनतम पूर्वाधार खडा भइसकेको जानकारी दिए।