द्वन्द्वका स्मृति एकीकृत गर्न देशभरका पीडित राजधानीमा
दशवर्षे सशस्त्र द्वन्द्वका समयमा राज्य तथा विद्रोहीबाट पीडित बनेका देशभरका नागरिक संघीय राजधानी भेला भएका छन्।
द्वन्द्वका स्मृतिलाई एकीकृत गर्न उनीहरू राष्ट्रिय स्मृति सम्मेलनमा भेला भएका हुन्। राष्ट्रिय स्मृति सञ्जालको संयोजनमा आयोजित सम्मेलन ललितपुरमा बुधबार शुरू भएको छ। सम्मेलनमा दुवै पक्षका द्वन्द्वपीडितले आफ्नो भोगाइ प्रस्तुत गर्नेछन्। १० वर्षे सशस्त्र द्वन्द्वलाई पीडितको भोगाइबाट हेर्न यो सम्मेलन आयोजना गरेको जनाइएको छ।
सम्मेलनका संयोजक रामकुमार भण्डारीले संक्रमणकालीन न्यायका लागि द्वन्द्वकालका घटना र भोगाइ बाहिर ल्याउनुपर्ने बताए। पीडितको स्मृति इतिहासको महत्त्वपूर्ण पाटो रहेकाले यसलाई पीडितको आँखाबाट व्याख्या गर्नुपर्ने भण्डारीको भनाइ थियो।
उनका अनुसार राज्यले अहिलेसम्म न्याय नदिएकाले पनि द्वन्द्वपीडितको स्मृति महत्त्वपूर्ण छ। “द्वन्द्वका कारण कैयौं निर्दोषले सर्वस्व गुमाएका स्मृति छन्, राज्यले बेवास्ता गरेका थुप्रै स्मृति छन्, नलेखिएको इतिहास छ, त्यसलाई पुनर्लेखन गर्न पनि द्वन्द्वपीडितको स्मृति महत्त्वपूर्ण छ,” भण्डारीले भने, “हाम्रो स्मृति सत्य, न्याय र परिपूरणसँग जोडिएको छ, स्मृति राज्यलाई प्रश्न, प्रतिरोध र आन्दोलन हो।”
समाज, राजनीति र सञ्चारमाध्यममा द्वन्द्वपीडितका थुप्रै भोगाइ आउन बाँकी भएकाले पनि यो सम्मेलन आयोजना गरिएको आयोजकले जनाएका छन्। पीडितबाटै उनीहरूको भोगाइ सुनेर समाजमा स्थापित गलत भाष्य चिर्न सम्मेलन आयोजना गर्नुपरेको उनीहरूको भनाइ छ।
सम्मेलन उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले संक्रमणकालीन न्यायबारे पीडितको चाहना बुझ्न सघाउने बताए। “द्वन्द्वकालमा भएका घटनालाई लिएर मानव अधिकार आयोगले गरेको सिफरिश राज्यले कार्यान्वयन गरेको भए मात्र पनि ५० प्रतिशतभन्दा पीडितले न्याय पाउँथे,” खरेलले भने।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपाल संयोजक हाना सिंगल हाम्डीले पीडितले न्याय नपाएसम्म आफ्नो स्मृति भुल्न नसक्ने बताइन्। यस्ता किसिमका घटना फेरि नदोहोरिऊन् भन्न पनि स्मृतिलाई संगठित गर्नुपर्ने उनको भनाइ थियो। “द्वन्द्वकालका भोगाइ संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेकाले पनि स्मृति संगठित गर्न यस्ता सम्मेलन आयोजना गर्नु महत्त्वपूर्ण छ,” उनले भनिन्।
संविधानसभा सदस्य तथा द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले द्वन्द्व सकिएको १७ वर्ष नाघ्दा पनि न्याय नपाउनु दुःखद भएको बताइन्। पीडितहरू समाजमा पुन:स्थापित भएर जान चाहे पनि राज्यले न्याय नदिएको खड्काको भनाइ थियो। “द्वन्द्वकालका पीडकहरूले कुन मनोदशाले जघन्य अपराध गरे, त्यसको बयान लिन पाउँदा मात्रै न्याय पाएको महसूस हुन्छ,” उनले भनिन्।
द्वन्द्वकालका विभिन्न विषयमा छलफल हुने सम्मेलन बिहीबारसम्म चल्नेछ। सम्मलेनमा द्वन्द्वकालका पीडितका भोगाइ समेट्ने पुस्तक तथा तस्वीर पनि प्रदर्शनीमा राखिएका छन्।