मलेशियन कम्पनीले एनसेलको शेयर बेच्ने
नेपालको दूरसञ्चार सेवाप्रदायक एनसेलबाट मलेशियन कम्पनी आजियाटा बाहिरिने भएको छ।
आजियाटाको सञ्चालक समितिले नेपालको लगानी बिक्री गरेर फिर्ता हुने प्रस्तावलाई अनुमोदन गरिसकेको आजियाटाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ। नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बाहिरिने निर्णयमा पुगेको हो।
नेपालको एनसेलमा आजियाटाको करीब ८० प्रतिशत शेयर लगानी छ। बाँकी २० प्रतिशत शेयर स्वामित्व नेपाली व्यवसायी सतीशलाल आचार्यको सुनिभेरा क्यापिटलको नाममा छ।
स्वीडिश कम्पनी टेलियासोनेरासँग सात वर्षअघि आजियाटा ग्रूप बर्हादले एनसेलमा भएको शेयर स्वामित्व खरीद गरेको थियो। नेपाल बाहिर भएको यस्तो किनबेचले ठूलो विवाद निम्त्याएको थियो। जसमा एनसेल अर्बौं रुपैयाँको पूँजीगत करको दायित्वमा परेको थियो।
पछिल्लो समयमा एनसेलको व्यवसाय लगातार घटिरहेको कम्पनीले जनाएको छ। आजियाटाले १२ महीनाभित्रै शेयर र सम्पत्ति बिक्रीको प्रक्रिया सकिने अनुमान गरेको जनाएको छ।