भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने भएको छ।
मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले भूकम्प प्रभावितलाई अस्थायी आवासको व्यवस्था गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको सिफारिशमा सुरक्षाकर्मी पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
अब भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अस्थायी आवास निर्माण गर्नेछन्। जिल्लामा अपुग भएमा प्रमुख जिल्ला अधिकारीको सिफारिशमा थप जनशक्ति पठाउने पनि सरकारले निर्णय गरेको छ।
जाजरकोट भूकम्पबाट १२ जिल्लामा २६ हजार ५२८ निजी घरमा पूर्ण रूपमा र ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ। विद्यालय, स्वास्थ्य संस्था लगायत सरकारी निकायका भवनमा पनि क्षति पुगेको छ।