अभिभावकले बालबालिकालाई निजी विद्यालयमा पठाउन थालेपछि गाउँका सामुदायिक विद्यालयका शिक्षकले एक-दुई जना विद्यार्थीलाई पढाउनु परिरहेको छ।
खोटाङको रावाबेंसी गाउँपालिका-२, खार्पा रुभुङको पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत डेनिस राई गाउँमा त साथीभाइसँग खेल्छन्, विद्यालयमा भने एक्लो महसूस गर्छन्। अझ कक्षाकोठामा त एक्लै हुन्छन्।
कक्षा ४ मा पढ्ने उनी कहिलेकाहीं विद्यालय जान गाह्रो मान्ने गरेको अभिभावक बताउँछन्। किनकि उनी कक्षा ४ का एक्ला विद्यार्थी हुन्।
उनी पनि पछि मात्रै भर्ना भएका हुन्। आफन्तको घरमा बसिरहेकाले पञ्चकन्यामा आएको प्रधानाध्यापक पुष्पराज राई बताउँछन्। “डेनिस नआएको भए त कक्षा ४ मा कोही हुँदैनथे,” प्रधानाध्यापक राई भन्छन्।
खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी।
यस विद्यालयको कक्षा २ मा पनि एक जना विद्यार्थी मात्र छन्, तिलक अछामी। अन्य कक्षामा पनि धेरै विद्यार्थी छैनन्। पाँच दशक पुरानो विद्यालय भए पनि अहिले विद्यार्थी नहुँदा पठनपाठन गर्न कठिनाइ भएको प्रधानाध्यापक पुष्पराज राई बताउँछन्।
प्रधानाध्यापक राईका अनुसार विद्यालयमा १५ विद्यार्थी मात्र छन्। कक्षा १ मा ६, कक्षा २ मा एक, कक्षा ३ मा चार, कक्षा ४ मा एक र कक्षा ५ मा तीन विद्यार्थी अध्ययनरत छन्।
यो समस्या पञ्चकन्याको मात्रै होइन, रावाबेंसी गाउँपालिका-४, धारापानीस्थित विद्योद्वय आधारभूत विद्यालयको पनि हो। यस विद्यालयले पनि विद्यार्थी अभाव झेलिरहेको छ। यहाँ पनि कक्षा ४ मा एक विद्यार्थी मात्रै छन्।
त्यस्तै, अन्य कक्षामा विद्यार्थीको संख्या कमै रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष तिमिल्सिना बताउँछन्। विद्योद्वयमा प्रारम्भिक बालविकास केन्द्रमा पाँच, कक्षा १ मा तीन, कक्षा २ मा पाँच, कक्षा ३ मा दुई, कक्षा ४ मा एक र कक्षा ५ मा तीन विद्यार्थी अध्ययनरत रहेको तिमिल्सिना बताउँछन्।
खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयमा पठनपाठन गरिरहेका विद्यार्थी र शिक्षक।
रावाबेंसी गाउँपालिका-३, लामीडाँडा खोटेस्थित कालिका आधारभूत विद्यालयको हालत पनि उस्तै छ। कक्षा १ मा पाँच, कक्षा २ मा दुई र कक्षा ३ मा चार विद्यार्थी मात्रै छन्।
त्यस्तै, रावाबेंसी गाउँपालिका-२, खार्पास्थित कालिका आधारभूत विद्यालय पनि विद्यार्थी अभाव झेलिरहेको छ। कक्षा १ मा ६, कक्षा २ मा दुई, कक्षा ३ मा तीन, कक्षा ४ मा चार र कक्षा ५ मा तीन विद्यार्थी मात्रै छन्।
उनीहरू पनि नियमित विद्यालय आउँदैनन्। कहिले कक्षामा विद्यार्थी नै हुँदैनन्। केही दिनअघि विद्यालय पुग्दा कक्षाकोठामा सम्झना मगर मात्रै थिइन्। कक्षा ४ मा चार विद्यार्थी भए पनि प्रायः नआउने गरेको शिक्षकहरू बताउँछन्।
रावाबेंसी गाउँपालिकामा २८ वटा सामुदायिक विद्यालय छन्। जसमध्ये सात वटा मावि र २१ वटा आधारभूत विद्यालय छन्। आधारभूत तहका विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको शिक्षा शाखा प्रमुख तिमिल्सिना बताउँछन्।
अभिभावकले निजी विद्यालयमा पठाउने, बसाइँसराइ लगायत कारणले सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको शिक्षक बताउँछन्। “केहीले शहर बजारमा लगेर बालबच्चा पढाइरहेका छन्, बाँकी बालबच्चा यहीं छन्,” पञ्चकन्याका प्रधानाध्यापक राई भन्छन्, “गाउँमा बच्चा नभएकाले पनि विद्यार्थीको अभाव भएको हो।”
पञ्चकन्या आधारभूत विद्यालयमा पक्की भवन छन्। सुविधासम्पन्न धारा तथा शौचालय छन्। विद्यालय नजिक सडक पनि पुगेको छ। तैपनि विद्यालय विद्यार्थीविहीन हुँदै गएका छन्।
अभिभावकको आर्थिक अवस्थामा सुधार आएसँगै बालबालिकालाई शहरतिरै लग्न थालेकाले गाउँका विद्यालयमा विद्यार्थी कम भएको शिक्षा शाखा प्रमुख तिमिल्सिना बताउँछन्। “वैदेशिक रोजगारीका कारण आर्थिक अवस्था मजबूत बनाएर बालबच्चा सदरमुकाम वा शहरबजार लैजाने, गाउँको दुःखकष्ट भन्दा सुविधा खोज्दै बसाइँ सर्ने गरेका छन्,” उनी भन्छन्, “अर्कातिर, सामुदायिक विद्यालयले अपेक्षित गुणस्तर कायम गर्न सकेनन्, सामुदायिक विद्यालयप्रतिको घट्दो विश्वास, अंग्रेजीका लागि निजी विद्यालय पढाउने लगायत कारणले पनि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन्।”
रावाबेंसी गाउँपालिका-२, खार्पास्थित कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी।
विद्यार्थी कम हुँदा पनि विद्यालय गाभ्न सकिएको छैन। भौगोलिक विकटता र एक गाउँबाट अर्को गाउँमा पढ्न जान कठिनाइ हुने भएकाले गाभ्ने अवस्था नभएको पञ्चकन्याका प्रधानाध्यापक राई बताउँछन्। यो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी छ। त्यस्तै, गाउँपालिकाले एक जना शिक्षक राखिदिएको छ। एक जना कर्मचारी पनि छन्।
जीर्ण भवनमै पठनपाठन
रावाबेंसी गाउँपालिका-२, खार्पास्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीले जीर्ण भवनमा पठनपाठन गर्दै आएका छन्। २०२७ सालमा स्थापना गरिएको विद्यालयमा अहिलेसम्म पक्की भवन बनेको छैन।
पुरानो भवनका कक्षाकोठा पनि साँघुरा छन्। शिक्षकलाई अगाडि-पछाडि गर्नै मुश्किल हुने गरेको छ। टालटुल गरिएका कोठाका भित्ता चर्किएका छन्। भवन निर्माणका लागि पटक पटक गाउँपालिका पुगे पनि बजेट प्राप्त नभएको प्रधानाध्यापक चेतनाथ पोखरेल बताउँछन्।
जनप्रतिनिधिले वास्ता नगर्दा नयाँ भवन बनाउन नसकिएको उनी बताउँछन्। “एउटा भवनसम्म पाएका छैनौं। विद्यालयलाई विद्यालय ठानिएन,” प्रधानाध्यापक पोखरेल भन्छन्, “पठनपाठन गर्न अप्ठ्यारो भइरहेको छ।”