बिरामीको मृत्युपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि आक्रमण
बुटवलको दीपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथि आक्रमण भएको छ।
अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न छलफल भइरहेका वेला मेडिकल सुपरिटेन्डेन्ट बस्यालमाथि आक्रमण भएको हो। अस्पतालले घाइते डा.बस्यालको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको बताएको छ।
गएराति गुल्मीको सत्यवती गाउँपालिकाकी ३२ वर्षीया भवानी रास्कोटीको उपचारको क्रममा मृत्यु भएको थियो। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आफन्तजनको आरोप छ।
त्यसपछि उत्पन्न तनाव समाधान गर्न छलफल भइरहेका वेला बिरामीका आफन्तले डा.बस्यालमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ। सहमति नजिक पुग्ने वेला डाक्टरमाथि हातपात भएको अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीले बताए।
“अस्पताल प्रशासनसँग सहमति भइसकेपछि आफन्तले शव बुझ्ने कुरा हुँदै थियो,” अस्पतालका प्रशासन प्रमुख क्षेत्रीले भने, “त्यही समयमा डाक्टरसा’बमाथि आक्रमण भएको हो।”
मंसीर ११ मा शल्यक्रिया मार्फत बच्चा जन्माएकी भवानीको मंसीर १२ गते हृदयाघातबाट मृत्यु भएको प्रशासन प्रमुख क्षेत्रीको भनाइ छ। उनको शव अहिले अस्पतालमै छ।
मृतकका आफन्तले अस्पतालको प्रशासनिक भवनका झ्यालढोका लगायत सामान तोडफोड गरेका छन्। अस्पतालमा अहिले प्रहरी खटिएका छन्।
तनावका कारण अस्पतालमा नयाँ बिरामीलाई भर्ना गरिएको छैन। आज बिहान २ बजेबाट अस्पताल आउने बिरामीलाई गेटबाटै फर्काइएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको बताए।