‘नेपालमा कसैले सद्भाव बिथोल्ने प्रयत्न गरिरहेको हुन सक्छ’
‘हामी जसलाई हिन्दू भन्छौं त्यो सनातनबाट आएको हो। सनातनको अर्थ हो, जसको आदि पनि छैन, अन्त्य पनि छैन, कसले शुरू गरेको हो त्यो थाहा पनि छैन।’
गत असोज पहिलो साता संसद्को राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले ‘धार्मिक र पहिचान’को मुद्दा सुरक्षा चुनौती बन्न सक्ने धारणा राखेका थिए। पछिल्लो केही महीनायता देशका विभिन्न स्थानमा कतिपय समूहले नियोजित रुपमा झडपको अवस्था सिर्जना गर्न खोजेको देखियो। सौभाग्यवश, आफ्ना स्वार्थका लागि सद्भाव बिगार्न खोज्ने त्यस्ता समूहको लहैलहैमा आमसमुदाय लागेन।
नेपाली इतिहास, संस्कृति, पुरातत्त्व जस्ता विषयका अध्येता गोविन्द टण्डन अन्य देशको इतिहासको तुलना गर्दा नेपालमा धार्मिक सद्भाव बिथोलिने काम कहिल्यै नभएको बताउँछन्। “हामी नङमासु जस्तै अन्तरंग सम्बन्धमा गाँसिएर बसेका छौं,” उनले हिमालकर्मीसँग भने, “मिलेर बस्ने त नेपाली संस्कृति नै हो।”
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव रहीसकेका टण्डनका ‘नेपालमा गुठीव्यवस्था’ ‘इतिहासका थप पृष्ठहरू,’ ‘पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन,’ ‘नेपालको पहिलो नमुना जनगणना’ लगायतका पुस्तक प्रकाशित छन्। उनै टण्डनसँग गरिएको कुराकानीको सम्पादित अंशः
पछिल्लो पटक नेपालमा धार्मिक सहिष्णुतामाथि नै प्रश्न उठ्ने गरी गतिविधि भएको देखियो। केही स्थानमा कर्फ्यू नै लगाउनुपर्ने गरी प्रदर्शन पनि भए। सामाजिक सञ्जालमा पनि त्यस्तै देखिन्छ। यो हामीभित्र सुषुप्त अवस्थामा रहेको असन्तुष्टि पोखिएको हो वा हामी बहकिएका हौं?
अहिले सानो विषयमा पनि लेखिहाल्ने, बोलिहाल्ने प्रचलन बढेको छ। सबैलाई भाइरल हुनुपरेको छ। त्यसका लागि कसैलाई नकारात्मक नबोलीकन, कसैलाई छेडखानी नगरीकन नहुने रैछ। तर नेपालीको स्वभाव त्यस्तो होइन। हामी त सधैं मिलेर बसेका छौं। हामी सधैं सद्भावमय वातावरणमा बसेका छौं।
माओवादी द्वन्द्वबाट जातीय राज्यको कुरा उठेपछि अहिलेको उच्छृंखलता शुरू भएको हो। त्यस वेलासम्म नेपाल एउटा सङ्लो पोखरी थियो। सबै जना शान्तसँग मिलेर बसेका थिए। हो, समाजमा केही भेदभाव थियो, अहिले पनि छ। त्यस विषयलाई यसरी उछालियो, नेपाल नै अलग अलग खण्डमा विभाजन हुनेसम्म कल्पना गरियो। त्यसैले अहिलेको अवस्था आएको हो।
अहिले आइरहेको विद्युतीय सञ्चार (सामाजिक सञ्जाल) निकै डरलाग्दो छ। एकैछिनमा लाखौंले हेरिरहेका हुन्छन्। राम्रो विषय आउँदा त राम्रै हुन्छ तर नराम्रो विचार आउँदा आगो झोसे जस्तो हुन्छ। यस्तो समयमा हामीले अत्यन्त गम्भीरतापूर्वक यसको उपयोग गर्नुपर्छ। नेपाली नेपालीबीच टुटफुट ल्याउने काम गर्नु हुँदैन। हाम्रो कर्तव्य नै मिलाउने, जोड्ने र समग्रमा राष्ट्रिय हितका लागि लगाउने हो।
यस्तो अवस्था किन आएको होला?
अन्य देशको इतिहासको तुलना गर्दा हामीकहाँ कहिल्यै धार्मिक सद्भाव बिथोलिने काम भएको छैन। हामी नङमासु जस्तै अन्तरंग सम्बन्धमा गाँसिएर बसेका छौं। त्यो सद्भाव बिथोल्ने प्रयत्न कसैले गरिरहेको हुन सक्छ। अहिलेको समयमा सबैको आआफ्नै स्वार्थ छ। देशभित्रकै शक्तिले मात्र यस्तो भइरहेको छ भन्ने छैन। बाहिरको शक्ति पनि चलिरहेको हुन सक्छ। उनीहरूको एउटा रिमोट कन्ट्रोल पनि हुन सक्छ।
संसारमा ‘फुटाउ र राज गर’ को अभ्यास भएको देखेभोगेकै हो। यस्तोमा भित्रिया र बाहिरिया दुवैको चलखेल हुन सक्छ। त्यसमा हामी अत्यन्त चनाखो हुनुपर्ने अवस्था छ।
के बिर्सनुभएन भने हामी सधैंभरि मिलेर बसेका थियौं। यहाँका जातजाति मिलेर बसेका थिए। त्यसरी मिलेर बस्दा कसैलाई चित्त नबुझेको हुन सक्छ। जताततै झगडा छ भने यहाँ किन नभएको भन्ने पनि भयो होला। त्यस्ताहरूबाट पनि हामी बच्नुपर्ने हुन्छ।
नेपाली समाजबारे राजनीतिक रूपमा व्याख्या गर्न थालेपछि यस्तो विभाजन आएको हो?
यसमा खासगरी विदेशीहरूको भूमिका छ। राणाकालमै नेपालबारे अध्ययन गर्न पश्चिमाहरू आउँदा नेपालमा पढेलेखेका मानिसहरू थिएनन्। जान्ने मानिस पनि थिएनन्। उनीहरूले जे देखे, त्यही लेखे। कतिपय प्रसंगमा अपव्याख्या पनि गरे। त्यसमा उनीहरूको पूर्व मान्यताले काम गरेको थियो। उनीहरू त हिन्दू र बौद्ध बेग्लाबेग्लै हुन् भन्ने सुनेर आएका थिए। यहाँ आएर बौद्ध र हिन्दू मिलेर बसेको देख्दा अपाच्य भयो। यो हुनै सक्दैन भन्ने कोणले उनीहरूले सानो छिद्र मात्र भेटाउँदा पनि ठूलो बनाएर लेखे। जस्तै- डेनियल राइटले किताब लेखे, हिस्ट्री अफ नेपाल।
त्यसमा उनलाई पाटनका एक जना बज्राचार्यले सघाए। एउटा वंशावलीका आधारमा उनले त्यो पुस्तक लेखेका हुन्। त्यस किताबमा उनले एकदमै गलत व्याख्या गरेका छन्। डेनियल राइटले लेखेको त्यही किताबलाई अरू पश्चिमाले पछ्याए। हामी नेपालीले पनि आफैंले लेखेकोभन्दा अरूले लेखेको बढी विश्वास गर्छौं जसले गर्दा सही इतिहास प्रस्ट रूपमा ल्याउन सकिएको छैन।
थोरै प्रसंग बदलौं, तपाईंले त पाशुपत क्षेत्रमै अनुसन्धान गर्नुभएको छ। अधिकांश नेपाली हिन्दू छन्। हिन्दू हुनुको अर्थ के हो?
हामी जसलाई हिन्दू भन्छौं त्यो सनातनबाट आएको हो। सनातनको अर्थ हो, जसको आदि पनि छैन, अन्त्य पनि छैन, कसले शुरू गरेको हो त्यो थाहा पनि छैन।
यो विश्वब्रह्माण्ड र मानवको उत्पत्ति भएदेखि नै यो धर्म चलिरहेको छ। धर्म भनेको अरू केही होइन, राम्रो कुरा ग्रहण गर्नु हो। मानवता हो। सुकर्म हो।
सनातन हिन्दू धर्मलाई पछि गएर हिन्दू धर्म भनिएको हो। सिन्धु नदीको किनारमा बस्ने मानिसलाई फारसीहरूले आफ्नो भाषामा स नभएकाले हिन्दू भन्न थालेका हुन्। त्यही शब्दबाट हामी हिन्दू भएका छौं।
शब्दको हिसाबले सनातन धर्म भन्नु र हिन्दू धर्म भन्नुमा खासै अन्तर छैन। त्यही सनातन धर्मलाई आर्य धर्म पनि भनिन्छ। वैदिक धर्म पनि भनिन्छ। त्यो भनेको वेदलाई मान्ने भनेको हो। पुराण त पछि पछि आएका हुन्। त्यस वेलामा नै वैदिक सभ्यता शुरू भएको हो। मन्त्रद्रष्टा ऋषिहरूले मन्त्रहरू रचेका हुन्। श्रुति परम्पराबाट ती मन्त्र आए। तिनैलाई लिपिबद्ध गर्दा वेदहरू बनेका हुन्। संसारकै सबैभन्दा पुरानो ग्रन्थमध्येको हो- ऋग्वेद। ऋग्वेदमा मानव सभ्यताका विकासका कुरा पाउँछौं।
त्यसपछि यजुर्वेद लेखियो। यजुर्वेदको इतिहास हेर्ने हो भने अहिले हामीले गरिरहेको चिन्ता त्यति वेला पनि भएको पाउँछौं। यजुर्वेदमा शान्तिको कामना गरिएको छ। विश्वमण्डललाई शान्ति होस् भन्ने कामना गरियोस्। यसरी शान्ति भयो भने हामीले आन्तरिक र बाह्य दुवै रूपबाट शान्ति पाउँछौं भन्ने अभिलाषा थियो। त्यो चाहना अहिलेसम्म पनि छ।
सनातन हिन्दू धर्ममा जस्तो सहिष्णु धारणा अरू धर्ममा पाइँदैन। यस धर्ममा सबैलाई समान रूपमा हेरिन्छ। ‘सत्य (ईश्वर) एउटा छ त्यसलाई विभिन्न नामले पुकारिन्छ, त्यसैले किन झगडा गर्ने’ भन्ने मान्यता सनातन धर्ममा पाइन्छ। पछिबाट आएका सम्प्रदायले मात्रै तेरो र मेरो भन्ने धारणा सिर्जना गरेका हुन्।
हाम्रै मन्त्रद्रष्टा ऋषिहरूले हामीलाई धर्म र सम्प्रदायका निम्ति झगडा गरेर केही फाइदा छैन भन्ने सिकाएका छन्। त्यसैले सबैले आआफ्नो आस्था अनुसार एउटाले अर्कोलाई गाली नगरीकन जसरी आत्मसन्तुष्टि मिल्छ त्यसरी व्यवहार गर्नुपर्छ। हिन्दू छ भने असल हिन्दू होस्। क्रिश्चियन छ भने असल क्रिश्चियन होस्। मुसलमान छ भने असल मुसलमान होस्।
असल हुनु भनेको एकले अर्कालाई हिलो नछ्याप्नु हो। हरेकले शान्ति, मानवताका लागि काम गरोस्। त्यो मर्म सनातन हिन्दू धर्मले जत्तिको प्रस्ट रूपमा अरूले सिकाउँदैन। अरू सबै धर्मले भन्छन्, ‘मकहाँ आऊ मुक्ति पाउनेछौ।’ तर सनातन धर्मले त्यसो भन्दैन। तिम्रा आचार, विचार राम्रो गर, आहार शुद्ध गर, चिन्तन गर, सबैको भलो हुने काम गर भन्छ, सनातन धर्मले।
यसको अर्थ हिन्दू धर्म नै महान् भन्न खोजेको होइन। संसारमा सयौं मत-मतान्तर छन्। तीमध्ये सनातन धर्मको विशेषता हेर्ने हो भने यो अरूभन्दा फरक छ। यो धर्मको एउटा मात्रै ग्रन्थ छैन। हजारौं ग्रन्थ छन्। वेद, उपवेद, पुराण, उपपुराण छन्। ती विभिन्न ग्रन्थमा अनेकौं देवीदेवताको चर्चा छ। कुनैमा कसैलाई त कुनैमा अर्कोलाई ठूलो भनेको छ। त्यसैले ती ग्रन्थ पढ्नेहरू अलमलिन्छन्। समुद्र जस्तो छ सनातन धर्मको ग्रन्थ। त्यो समुद्र जस्तोबाट हामीले के लिने त? हामीले असल कुरा लिने हो।
अन्य धर्मको भने एउटै मात्र ग्रन्थ हुने गर्छ। उनीहरूको एउटै ग्रन्थ, ईश्वर हुँदा पनि आफूमा मारामार भएको देखिन्छ। तर सनातन धर्ममा हजारौं ग्रन्थ, हजारौं ईश्वर हुँदा पनि मिलेर समन्वय, सद्भावको जुन भाव छ, त्यो अरूमा पाउन गाह्रो छ। जस्तो- पाञ्चायनको रूप भनेर गणेश, विष्णु, शिव, देवी र सूर्यलाई मानेका हुन्छौं। फेरि बौद्ध धर्मलाई अलग ठानेका छौं भने त्यो गलत हो। बुद्धलाई नवौं अवतारका रूपमा स्विकारेका छौं।
त्यसैले हामी निकै अभिन्न अंग बनेर बसेका छौं। मिलेर बस्ने त नेपाली संस्कृति नै हो। त्यसको एउटा उदाहरण हुन्, भगवान् पशुपतिनाथ। शैवहरूले शिवका रूपमा पुज्ने पशुपतिनाथलाई बौद्धहरूले कात्तिक शुक्ल चतुर्दशीका दिन छाया दर्शन गर्ने भनेर ईश्वरका रूपमा दर्शन गर्छन्। एउटै देवतालाई आफ्नो आफ्नो रूपमा हेर्न सक्ने भनेको संसारकै लागि सन्देश हो।
त्यस्तै, चाँगु नारायणमा गरुड नारायणको मन्दिर छ। त्यो वैष्णव सम्प्रदाय अन्तर्गतको मूर्ति हो, सम्प्रदायको कोणबाट हेर्दा। तर त्यो सनातन धर्मकै निरन्तरता हो। नेपालमा शैव र वैष्णव भन्ने कचिंगल छैन। त्यो गरुड नारायणलाई बौद्धहरूले पनि हरिहर नारायण लोकेश्वर भनेर पुज्छन्। त्यही मूर्तिलाई हिन्दूले आफ्नो ईश्वर भनेर पुज्छन्। बौद्धले आफ्नो भनेर।
मानिसले धर्म र सम्प्रदाय नबुझ्दा अहिले समस्या आइरहेछ। अर्कातर्फ धर्ममा पनि विभिन्न साम्प्रदायिक धार बढे। सम्प्रदायले मेरो ठीक, अरू बेठीक, मेरो भगवान् तेरोभन्दा अलग भन्छ। यो निकै खतरनाक छ।
हामी साम्प्रदायिक भावनाबाट मुक्त हुनुपर्छ। साम्प्रदायिकता हुँदै हुँदैन, छँदै छैन भन्न सकिंदैन। तर सम्प्रदायबाट लिनुपर्ने यो र बच्नुपर्ने यो भनेर छुट्याउन सक्नुपर्छ। यस्तोमा सचेत हुन सकियो भने अहिले आइरहेको वैचारिक विचलनबाट जोगिन सक्छौं।
भारतमा साम्प्रदायिक दंगा हुँदा पनि यता प्रभाव नपर्ने गरेको इतिहास छ। नेपालीले मान्ने हिन्दू धर्म भारतले मान्ने गरेको भन्दा फरक भएकाले हो?
एउटा त हामी कुनामा बस्यौं, अनकन्टारमा, हिमाली भागमा। उनीहरू मैदानी भागमा बसे। त्यो मैदानी भागमा सधैं विदेशी आक्रमण भइरह्यो। साँच्चै भन्ने हो भने भारत एकबद्ध भएर बसेको पौराणिक कालमा मात्रै हो। ३२५ ईपूदेखि नै भारतलाई टुक्र्याउने काम शुरू भयो। त्यसयता विभिन्न समुदायले भारतमा आक्रमण गरे। हुणहरू चीनबाट आए। सातौं शताब्दीमा मुसलमानले आक्रमण गरे। ८०० वर्षसम्म त्यो सिलसिला चल्यो।
त्यसैबीचमा १८औं शताब्दीको शुरूमा फ्रेन्च र ब्रिटिशहरू आए। उनीहरूले २०० वर्षसम्म शासन गरे। त्यो शासनको मुख्य उद्देश्य भारतलाई सूर्य नअस्ताउने देशको हिस्सा बनाउने थियो। त्यसका लागि उनीहरूले त्यहाँको शिक्षादीक्षा दिए। उनीहरूको शिक्षादीक्षा आफू जस्तै बनाउने खालको थियो। त्यो शिक्षादीक्षाले पश्चिमाको बानी भारतीयमा पनि विकास भयो।
नेपाल भने कहिले पनि कसैको उपनिवेश भएन। त्यसैले दक्षिणको धर्मबाट प्रभावित पनि छैन। त्यसैले पृथ्वीनारायण शाहको समयसम्म पनि नेपाललाई असल हिन्दूस्ताना भनिन्थ्यो। सनातन हिन्दू धर्मको एउटा विशेषता छ जुन अरूमा छैन। त्यो हो- आफूलाई हुने दुःख अरूलाई पनि हुन्छ त्यसैले अरूलाई दुःख दिनु हुँदैन भन्ने धारणा।
त्यस्तै, अर्को धारणा पनि छ- आइलाग्नेमाथि जाइलाग्नुपर्छ। तिमी आफू गएर झिकी कपट नगर तर अरू कसैले आक्रमण गर्छ भने चूप लागेर नबस। त्यो चेतनाकै कारण हामी संसारभर वीर भनेर कहलिएका पनि छौं।
कतिपयले स्वीकार गरे/नगरे पनि नेपालको विशेषता के हो भने हामीले सनातन धर्म अपनाएका छौं। त्यसको मियो चाहिं राजसंस्था थियो। राजसंस्था हुँदासम्म ‘एकजना छन् जसले हेरिरहेछन्, उनले हामीलाई देखेका छन्, मिलाउँछन्, झगडा गर्न हुन्न’ भन्ने भावनाले एकतामा बाँधेको थियो। अहिले यो कुरा कतिपयलाई अपाच्य लाग्ला तर इतिहासलाई परिदृश्यमा राखेर हेर्ने हो भने यो कुरा भन्नैपर्ने हुन्छ।
हामीले कुनै अंशलाई छोड्यौं भने त्यसले गलत अर्थ लाग्न सक्छ। त्यसैले राजा भनेको एकत्वको केन्द्र थियो। यो आधुनिक कालको कुरा मात्र होइन। लिच्छविकालदेखि नै राजाको यही भूमिका थियो। राजा पनि सधैं हिन्दू मात्र थिएनन्। उनै राजा बौद्ध बनेका छन्। उनै राजाले बुद्धको मूर्ति बनाइरहेको पाइन्छ।
अघि तपाईंले प्रसंग पनि ल्याउनुभयो। गंगाको मैदानमा तेस्रो शताब्दीदेखि बाहिरबाट आक्रमण हुन थाल्यो। त्यसैले रक्षात्मक अवस्थामा पुग्दा गंगाको मैदानको वा आजको भारतको हिन्दू अभ्यास हाम्रोभन्दा कट्टर बनेको हो भनेर बुझ्न मिल्छ?
त्यहाँ आठौं शताब्दीदेखि नै हिन्दूसँग सम्बन्धित विधि, विधान भत्किने क्रम शुरू भइसकेको हो। पहिला भारतमा ६६१ जति राज्य थिए। तीमध्ये कतिपय हिन्दू र कतिपय मुस्लिम थिए। त्यसैले त्यहाँ हिन्दू अभ्यास राम्रोसँग बढ्न पाएन। जसले गर्दा त्यहाँ नभएका कतिपय पुस्तक हामीकहाँ छन्।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उनीहरूले धर्मनिरपेक्षता अपनाए। त्यसपछि कंग्रेसको सरकार भयो। कंग्रेस सरकार भनेको ब्रिटिशकै लिगेसी थियो। अब यहाँ हामीले शासन गर्न सक्दैनौं, त्यसैले स्थानीयको सहारा लिनुपर्छ भनेरै भारतीय राष्ट्रिय कंग्रेसको स्थापना भएको थियो। ब्रिटिश लिगेसी भएकाले उनीहरूले त्यही बाटो पछ्याए। भारतीय कंग्रेसहरूमा हिन्दूत्व, हिन्दूभाव हराउँदै गएको थियो।
सन् २०१४ मा भाजपाको विजयसँगै मोदीको उदय भयो। उनीहरूलाई यही मौका हो भन्ने भयो। तर यो मौका अपनाउनुपर्छ भन्ने धारणाले उग्रदक्षिणपन्थी प्रवृत्ति पनि देखापर्यो।
कतिपय सन्दर्भमा उनीहरूभन्दा हामी भिन्न छौं। जस्तो- उनीहरूमा षड्दर्शन छ। हामीकहाँ त्यो पढ्ने मात्रै हो, उनीहरूकहाँ त्यसको अभ्यास नै छ। त्यस्तै उनीहरूकहाँ अनेकौं सम्प्रदाय छन्। हामीकहाँ त्यस्तो केही छैन। लिच्छविकालमा केही सम्प्रदाय थिए तर ती लामो समय रहेनन्। हामीले ईश्वरलाई कहिल्यै भिन्नै तरीकाले हेर्दै हेरेनौं। फेरि हामीकहाँ प्रकृतिपूजक पनि छन्। आदिवासी समुदाय प्रकृतिपूजक हुन्।
त्यस्तै, बाहुन-क्षेत्री पनि वरपीपललाई पूजा गर्छन्। प्रकृतिको पूजा प्राचीन सभ्यताभित्रकै अंग हो। प्रकृतिपूजकको बीचमा पनि बस्नुपर्ने, आफ्नो परम्परा पनि अवलम्बन गर्नुपर्ने भएकाले यहाँ मेलमिलाप बढायो। त्यस्तै, यहाँका स्थानीय विशेषता छन्। ती पनि अनेकौं छन्, जस्तो- देवी-देउराली भनिन्छ। त्यसबारे त कुनै पनि शास्त्रमा लेखिएको छैन। यी सबैले उताको जस्तो कट्टरता हाम्रोमा भएन। त्यो नहुनु हाम्रो सौभाग्य हो। त्यसैले हामी सबै मिलेर अहिलेसम्म बसेका छौं।
अर्कातर्फ, हिजोको राज्यव्यवस्थाले पनि मन्दिरको परम्परालाई आफूबाट भिन्दै राख्यो। त्यहाँ छुनै दिएन। जस्तो- देवस्व र राजस्व हुन्छ। देवस्व भनेको देवीदेवताका गुठीको आम्दानी हो। त्यसलाई राज्यले हिजो पनि छोएन। देवस्व भनेको मन्दिरको व्यवस्थापन गर्ने राम्रो उपाय थियो। त्यसैभित्र गुठी परम्परा थियो। त्यो गुठीले राम्रोसँग मन्दिरको रेखदेख गर्थ्यो। उदाहरणका लागि पशुपतिनाथ लिऔं। पशुपतिनाथ निर्माणमा विभिन्न किसिमका मानिस मिलेर काम गरेका छन्। त्यसको छाना प्रजापतिहरूले लगाएका हुन्। कुचो लगाउने कुचीकार छन्। बाहिरपट्टि अरू जातका छन्।
त्यस्तै, पूजा गर्नेमा पनि एउटा ब्रह्माचार्य, एउटा ब्राह्मण, एउटा भट्ट, एउटा तान्त्रिक छन्। यी सबैलाई मिलाएर जसरी राखिएको छ, त्यो अभ्यास अन्य देशमा पाइँदैन। अरू देशमा जसले स्थापना गरेको हो त्यो मन्दिरमा अरू आउन रोक लगाउँछन्। हाम्रोमा त्यस्तो अभ्यास छैन। त्यसैले गुठी व्यवस्था हामीलाई मिलाएर लैजाने राम्रो व्यवस्था हो। यो पनि हाम्रो एउटा सम्पदा हो। यसलाई हामीले जोगाउनेतिर लाग्यौं भने समाजलाई जोडिराख्ने संस्कृति पनि बलियो हुन्थ्यो।
त्यसैले भारतमा जस्तो कट्टरता हामीकहाँ छैन। अहिले नै भारतीय मिडियामा आएको धार्मिकताकै कुरा सुन्दा पनि हामी अलमलिन्छौं। कुन सही हो भनेर छुट्याउन सकिंदैन। उनीहरूकहाँ भाँडभैलो भइसक्यो। हामीकहाँ त्यस्तो छैन। हो, समस्या आउँछ। त्यो समस्यालाई आफ्नै घरभित्र राखेर टुंग्याउनुपर्छ। त्यसैलाई उछाल्ने र बढाउनेतिर हामी जान हुँदैन।
सारमा भन्ने हो भने हाम्रो नेपालमा पहिलेदेखि रहेका प्रकृतिपूजा, बोन आदिसँग मिलेर जाँदा हाम्रो सनातनी अभ्यास अझ लचिलो हुन पुगेको हो भन्न मिल्छ?
हो, किनभने हामीकहाँ विभिन्न सभ्यता मिसियो। एउटा, पुरानो सभ्यता छँदै थियो। अर्को, किरात सभ्यता। भन्न त मंगोल भनिन्छ, त्यो मिल्दैन। मंगोल सभ्यता १२औं शताब्दीपछि चीनबाट आएको हो। किरात सभ्यताका विभिन्न हाँगा हामीकहाँ पहिलेदेखि नै थिए।
हामीसँग रहेको यो विशेषता कायम राख्न सके असाध्यै राम्रो हुन्थ्यो। त्यसका लागि हामीले प्रयत्न गर्नुपर्छ। फेरि हामीभित्र रहेको विकृति पनि हटाउनुपर्छ। जस्तो- जातपात, छुवाछूत त्यो हटाउनुपर्छ। कसरी सबैलाई समभावले हेर्ने? कसरी सद्भाव कायम राख्ने? यसमा हामीले काम गर्नुपर्छ।
कुनै पनि हिसाबले भेदभाव ठीक होइन। सबैभन्दा पहिला हामी नेपाली हौं। त्यसैले सबैभन्दा पहिला हामी यो राष्ट्रका लागि एक हुनुपर्छ। त्यसपछि बल्ल धर्म, सम्प्रदाय आउँछ। हाम्रो धर्म भनेको दया, माया, करुणा, सत्य, इमानदारी, सच्चरित्र हो। यो नै धर्म हो।
धर्म भनेको मन्दिरमा गएर फूलपाती चढाउने, नैवेद्य चढाउने मात्र होइन। त्यो एक चरण अवश्य हो। जसरी एउटा विद्यार्थीले विद्यालयमा नगई क,ख,ग,घ, लेख्न सिक्दैन। त्यसैगरी, पूजाआजाबाट धर्मको ज्ञान लिने हो। त्यसबाट मात्र हामीले सिक्छौं। हाम्रो शास्त्रले भन्छ- धर्मो रक्षति रक्षतः। धर्मको रक्षा गरे त्यसले रक्षा गर्छ। धर्म भनेको असल कुरा।
कहिलेकाहीं साधु, सन्तले नै टुटाउने, फुटाउने कुरा गर्छन्। त्यस्तो गर्नै हुँदैन। साधुसन्तले त जस्तोसुकै परिस्थितिमा पनि मिलाउने हो।
नेपाललाई हिमवत् खण्ड पनि भन्ने गरिन्छ। के नेपाल आफैंमा बेग्लै विशिष्ट सभ्यता हो?
एकदमै। हामी हिमाली सभ्यता पनि भन्न सक्छौं। हिमालयको काखमा बसेका मुलुकको आफ्नै सभ्यता छ। यहाँका मानिसको मेहनती स्वभाव छ। अनेकौं दुःखकष्ट गर्ने भएकाले उनीहरू मेहनती भएका छन्। त्यसमध्ये हामी हिमवत् खण्डमा पर्यौं। यो हिमवत् खण्डभित्र पनि हामी भगवान् शिवलाई हिमालको अधीश, त्यसका प्रमुख मान्छौं। पार्वतीलाई त्यही हिमालकी छोरी भन्छौं।
नेपालमा बसेका जति पनि हिमाली संस्कृतिका मानिस छन् उनीहरूले कुनै न कुनै हिसाबले शिव र पार्वतीलाई मानेका छन्। चाहे पारुहाङ र सुम्निमा भनेर होस् वा अरू कुनै नाममा। त्यसभित्र पनि ओमकार मान्नेहरू छन्। अहिलेको परिभाषामा ओमकार मान्नेलाई हिन्दू भनेको छ। त्यसमा हिन्दूको पनि प्रभाव छ। जस्तै, हाम्रो महायान मन्त्र ‘ॐ मणिपद्मे हुँ’ छ। ॐ विना कुनै पनि मन्त्र नबन्ने रहेछ।
त्यसैले हामीलाई ॐ, हिमाली संस्कृति, प्रकृतिपूजा, हिमवत् खण्डले सबैले जोडेका छन्। हामीकहाँ जुन प्रकारको अपनत्व र मेलमिलाप छ त्यो अन्यत्र छैन। हामीकहाँ त अन्य सम्प्रदायकालाई कुनै वेला बोलाएर पनि ल्याइएको छ। जस्तो- मल्लकालको इतिहास हेर्ने हो भने मुस्लिमहरूलाई कश्मीरदेखि ल्याएर राखेको पाइन्छ। इन्द्रचोकको घर नै कश्मीरीहरूलाई दिइएको पाइन्छ। हुँदाहुँदा इन्द्रचोकमा इराक चोक छ। इराकदेखिका आउँथे। हामीमा ‘यिनीहरू म्लेच्छ हुन्’ भन्ने सोच भएको भए त उनीहरू आउँदैनथे।
अहिले जे छ त्यसमा अवसर सबैले पाउनुपर्छ। सबैले बराबर अवसर पाए भने आआफ्नो प्रतिभा देखाउन पाउनेछन्। हामी अनेकौं समस्यामा जेलिनुको कारण हाम्रो आर्थिक व्यवस्था पनि हो। जबसम्म आर्थिक व्यवस्था सुमधुर हुँदैन, राम्रो हुँदैन विभिन्न किसिमका झैझगडा हुन्छन्।
लिच्छविकालमा हामी स्वर्ण युगमा थियौं। त्यति वेला झैझगडा थिएन। सबै जना मिलेर बस्थे। अहिले त हामी निकै अगाडि बढेका छौं। विगतको इतिहास सम्झेर पनि हामीले वर्तमानमा प्रगति गर्नुपर्ने हो। प्रगतिका लागि त उत्पादनशीलता चाहिन्छ। त्यसप्रति राजनीतिज्ञदेखि हामी सबै मौन छौं।
धर्म, अर्थ, काम र मोक्षलाई हाम्रो शास्त्रले पुरुषार्थ मानेको छ। त्यो अहिले पनि सान्दर्भिक छ। धर्मपूर्वक अर्थ, धर्मपूर्वक काम गरे पनि मोक्ष पाइन्छ। मोक्ष भनेको मरेपछि पाइने होइन। दुःख, अशिक्षाबाट मुक्ति पाउने हो। हामीले त्यो सोचले शिक्षा दियौं भने नेपालसुहाउँदो शिक्षा हुन्छ।
अहिले सबैभन्दा ठूलो समस्या भनेको हामीले आफू अनुसारको शिक्षा पाइरहेका छैनौं। यो त लर्ड म्याकलेले बनाएको शिक्षा हो। हामीले यसमा सुधार गरेर मिलेर बस्न सिकाउने हो। केटाकेटीदेखि नै नसिकाउने हो भने हामीले जोड दिनुपर्छ। जीवनसँग जोडिएको शिक्षा दिनुपर्यो।
अहिले सूचना त छ तर हामीले ज्ञान, विद्या दिन सकिरहेका छैनौं। विश्वमा त छँदै छ, हामीकहाँ पनि छ। जसको कारणले गर्दा हाम्रो यात्रा अलमलिइरहेको छ।
अन्तिममा, तपाईंको मनको कुनामा कतै, कुनै दिन धार्मिक दंगा आउँछ कि भन्ने चिन्ता हुन्छ कि हुँदैन?
त्यस्तो हिजो नदेखिएको होइन। पहिला पनि कुनै नेताले उचालेर हुन्थ्यो। अहिले विश्व नै एउटा गाउँ भएको छ। सबै नजिकिएका छन्। त्यसमाथि सोसल मिडियाहरू छन्। त्यहाँ जसले जे लेखे पनि भएको छ। त्यसलाई रोक्ने कोही छैन। यस्तो अवस्थामा एउटा शंका जाग्छ, यसले केही न केही विद्रूप ल्याउने त होइन?
हो, मलाई वाक्स्वतन्त्रता छ। मैले बोल्न पाउनुपर्छ। तर त्यसको अर्थ स्वच्छन्दता त होइन। जे मन लाग्यो बोल्न भएन। सबैभन्दा पहिला त संविधान मान्नुपर्यो। संविधान मान्दिनँ जेसुकै होस् भने त अराजकता हुन्छ। संविधानमा सुधार गर्नुपर्ने छ भने छलफल गरेर गर्नुपर्ने निकायले गर्नुपर्यो।
तर अहिले जे पनि बोल्ने अभ्यास बढ्दो छ। वाक्स्वतन्त्रताका नाममा जसले जे मनमा आयो त्यही बोल्ने गर्दा देशको हित हुँदैन।
यो पनि पढ्नुहोस् : हामी सनातनी कि हिन्दू?