अर्यालले ल्याइन् ‘महाकाश’
मुना धिताल अर्याल लिखित महाकाव्य महाकाश बजारमा आएको छ।
ओशोको जीवनकथामा आधारित महाकाव्यमा १६ सर्ग र एक हजार १३ श्लोक छन्। शिखरिणी, स्रग्धरा, शार्दूलविक्रीडित, मन्दाक्रान्ता लगायत १७ वटा छन्दमा लेखिएको महाकाव्य ‘मंगलाचरण’ बाट शुरू भई ‘महापरिनिर्वाणपश्चात्’ मा समाप्त भएको छ।
ओशो साहित्यको प्रेरणाबाट यो कृति सिर्जना गरेको अर्यालले उल्लेख गरेकी छन्। पुस्तकको लेखकीय भूमिकामा उनले लेखेकी छन्, ‘ओशो साहित्यको रसास्वादनमा डुब्दै गर्दा त्यो साहित्यसँग आजको साहित्यको सेतु बन्न सक्ने कुनै कृति सिर्जना गर्ने सङ्केत मभित्र दिलबाटै आयो। गुरुकृपा बर्सियो, छन्दमा गुनगुनाउँदा गुनगुनाउँदै प्रस्तुत महाकाव्य जन्मियो।’
मातृभूमि साहित्य समाज, हेटौंडाले प्रकाशन गरेको कृतिको मूल्य ७०० रुपैयाँ राखिएको छ।
अर्यालको यो दोस्रो महाकाव्य हो। यसअघि उनको आत्म सलिल महाकाव्य (२०७६ साल) प्रकाशन भएको थियो। यस्तै, २०६० सालमा उनको अनुवादमा ईश्वराम्मा पुस्तक प्रकाशित थियो।