अढाई अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
कोशी प्रदेशको विशेष नगदे बाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ।
पूर्वी नाका काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु.दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
झापा, इलाम, पाँचथर, धनकुटा लगायत कोशी प्रदेशका जिल्लामा चियाको खेती हुँदै आएको छ। पछिल्लो समय नेपालको जैविक चियाको माग भारत सहित यूरोपेली बजारमा बढिरहेको व्यवसायी बताउँछन्।
यस्तै, अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ। प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महीनामा रु.एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको थियो।
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ लगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैंचीको खेती हुँदै आएको छ। औषधि र मसलाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ।
आव २०८०/८१ को त्रैमासिक अवधिमा रु.२२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी भएको छ। निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ।
किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरीद गर्दै आएका छन्। उक्त अदुवा झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ।
अम्रिसो भने कुचो बनाउन प्रयोग गरिन्छ। नेपाली अम्रिसोको भारत तथा बाङ्लादेशमा ठूलो माग छ। तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ। चालू आवको त्रैमासिक अवधिमा रु.२९ करोड ४० हजार मूल्य बराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिए।
अन्य बाली उत्पादन नहुने पहाडका पाखोबारी र कान्लामा अम्रिसोको खेती हुन्छ। फूल छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन्। अम्रिसोको घाँस गाईबस्तुलाई खुवाइन्छ।
पूर्वी नाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ। मसलाका रूपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ। प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिमा रु.७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ। सोही अवधिमा रु.१७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ।
नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दाल समेत रहेको छ। सोही अवधिमा रु.आठ करोड चार लाख १९ हजार मूल्य बराबरको ५८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ। -रासस