११ किलोमिटर लामो नहर सफा गर्दै एक हजार किसान
कैलालीको जानकी गाउँपालिका-७ का किसानहरू नहर सफा गर्न थालेका छन्।
त्यस क्षेत्रका करीब एक हजार किसान भुर्सा सिंचाइ अन्तर्गतको ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफा गर्ने गरेका छन्।
उक्त नहरले ४८५ हेक्टर क्षेत्रफलमा सिंचाइ पुर्याउने भुर्सा कुला सिंचाइ समितिका अध्यक्ष गोपाल गिरी बताउँछन्। “११ किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दै छौं,” उनले भने, “हजारौं किसान सहभागी छौं। यति खेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।”
भुर्सा सिंचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको अध्यक्ष गिरीको गुनासो छ। “विधिवत् रूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्सा सिंचाइ कार्यक्रममा पछिल्लो समय एक पटक पनि बजेट आएको छैन,” गिरीले भने, “किसानका समस्याबारे राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन्। हजारौं किसानको खेतीपाती सिंचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैं जुटेका हौं।”
नहर अन्तर्गत १२ गाउँ पर्छन्। गाउँको भाग अनुसार उनीहरूले नहर सफा गर्ने गरेका छन्। सिंचाइ समितिका पदाधिकारी र गाउँका बडघर (गाउँको मुखिया जस्तो)ले नेतृत्व लिएर सफाइको काम गरिरहेका छन्। बडघरले गाउँ अनुसार नहरको क्षेत्रफल छुट्याइदिने गर्छन्। सफाइ कार्यक्रममा महिलाको पनि उत्तिकै सहभागिता छ।
“महिला-पुरुष भन्ने कुरा भएन, सबै मिलेर कुलो सफाइ गर्दै छौं,” स्थानीय फूलबसिया चौधरीले भनिन्, “कतैबाट सहयोग नभएपछि किसान आफैं नहर सफा गर्न लागेका छौं।”
तीनै तहका सरकारले नहरलाई बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित पनि छन्। “किसानका बारेमा सुन्ने कोही भएनन्,” स्थानीय खैरे विश्वकर्माले भने, “११ किलोमिटर कुलाले गर्ने सिंचाइ र किसानका बारेमा सोच्ने कोही भएनन्। खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन।”
बडघर किसान सबै मिलेर सिंचाइका लागि चार दिनदेखि नहर सफा गर्न थालेको भागीराम चौधरी बताउँछन्। “कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौं,” उनले भने, “कुलो सफा गरेपछि नागरिक पनि खुशी छन्। हामी अगुवा पनि खुशी भएका छौं।” -रासस