भूकम्प प्रभावित १०७६ सुत्केरी त्रिपालमा
जाजरकोट भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी आमा, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यान समेत गएको छ। भूकम्पबाट घरवासविहीन सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्न थालेका हुन्।
अहिले स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार, भेरी नगरपालिकामा ४९ हजार ७२ जना प्रभावित भएका थिए। ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए।
पाँच वर्षमुनिका चार हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ अपांगता भएका व्यक्ति सहित नौ हजार ३८० जना भूकम्पको प्रभावबाट जोखिममा छन्। स्वास्थ्य संस्था आठ वटा पूर्ण रूपमा र आठ वटा आंशिक रूपमा भत्किएका छन्।
कुशे गाउँपालिकामा २५ हजार ८१५ जना प्रभावित भएका थिए। सात जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। पाँच वर्षमुनिका दुई हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७ दीर्घरोगी र ८८ अपांगता भएका व्यक्ति सहित चार हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा छन्। पाँच वटा स्वास्थ्य संस्था पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा भत्किएको गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत हरीशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जना प्रभावित भएका थिए। एक जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।
पाँच वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएका सहित ७४३ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। आठ वटा स्वास्थ्य संस्थामा आंशिक रूपमा क्षति भएको छ।
नलगाड नगरपालिकामा २९ हजार २०९ जना प्रभावित भएका थिए। ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए।
पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती, ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपांगता भएका व्यक्ति सहित तीन हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। एक स्वास्थ्य संस्था पूर्ण रूपमा र पाँच वटा आंशिक रूपमा भत्किएको गाउँपालिकाले जनाएको छ।
बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जना प्रभावित भएका थिए भने १० जना घाइते भएका थिए। पाँच वर्षमुनिका एक हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, ३२३ दीर्घरोगी र ४५ अपांगता सहित दुई हजार ४१७ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। पूर्ण रूपमा एक र आंशिक रूपमा चार स्वास्थ्य संस्था भत्किएका छन्।
भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जना प्रभावित भएका थिए। दुई जना घाइते भएका थिए। पाँच वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता सहित ४४६ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। दुई वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको गाउँपालिकाको तथ्यांक छ।
भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार ९५० जना प्रभावित भएका थिए। पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ जना अपांगता भएका सहित २८३ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। १५ वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएका छन्।
भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित २२ हजार २०६ जना जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी, एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्।
एक हजार ८३२ दीर्घरोगी, ८५० जना अपांगता भएका व्यक्ति पनि समस्यामा छन्। पूर्ण रूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने ५५ वटामा आंशिक क्षति भएको छ। अझै पनि भूकम्पबाट भएको क्षतिको तथ्यांक संकलन भइरहेको जनाएको छ। -रासस