गणतन्त्र विरुद्ध भ्रम फैलाउन खोजियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउन खोजिएको बताएका छन्।
सोमबार सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र विरुद्ध जति भ्रम फैलाउन खोजे पनि पछाडि नफर्किने बताए। “संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्था विरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन्,” दाहालले भने, “इतिहासको चक्कालाई पछाडि धकेल्ने कोशिश देखिएका छन्। तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किंदैन।”
उनले इतिहास पछाडि नफर्किने उनको भनाइ थियो। “यो परिवर्तनका वाहक दल, नेता, संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ,” दाहालले भने।
संविधानमा व्यवस्था भए अनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको उनले बताए। “सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो, तसर्थ यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय हो।”
प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताए।