चिसो छल्न लेकबाट बेसी झरेका उपल्लो मुस्ताङका स्कूले बालबालिका र शिक्षक पोखराको न्यानोमा रमाउने कोशिश गरिरहेका छन्।
लेकका हामी केटाकेटी,
कुहिरोभित्र स्कूल छ।
चौंरीलाई चराउँदै दिन बित्छ,
पढ्नु र लेख्नु मुश्किल छ।
आभासका शब्दलाई रामेशले संगीतबद्ध गरेको यो गीतले हिमाली भूभागमा रहेका बालबालिकाले लेखपढ गर्न भोग्नुपरेको असहज परिवेशलाई वर्णन गर्छ। हिउँदमा चिसो बढेसँगै हिमाली भेगका बालबालिकालाई स्कूल जान मुश्किल हुन्छ। गाउँमै बस्न सक्ने अवस्था पनि हुँदैन।
हिउँदे चिसो छल्न यति वेला उपल्लो मुस्ताङका स्कूले बालबालिका बेसी झरेका छन्। पोखरा र आसपासका क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गरी पठनपाठनलाई निरन्तरता दिने कोशिशमा छन्।
उपल्लो मुस्ताङको दिव्य दीप माविमा कक्षा १० मा अध्ययनरत पेम्बा ल्हामोलाई पोखरा न्यानो लागिरहेको छ। डाक्टर बन्ने सपना बोकेकी पेम्बा विद्यालयले प्रदान गर्ने छात्रावासमा बसेर पढिरेहकी छन्।
पेम्बाकी आमा पनि जाडो छल्न पोखरा झरेकी छन्। आमा पनि पोखरा झरेकाले उनलाई गाउँ छोडे जस्तो महसूस भएको छैन। उनकी आमा भने पोखरा झरेको मौकामा व्यापार गर्छिन्।
पेम्बाका साथीहरू कुन्साङ आङमो, याङजी ढोका, पेमा साङमो, नान्की ल्हामो, योङदेन साङमो आफ्नो गाउँलाई सम्झिरहेका छन्। बर्सेनि पोखरा झर्ने बानी लागे पनि गाउँको यादले भने सताउँछ। “पोखरा रमाइलो त छ तर गाउँको याद आउँछ,” पेम्बा भन्छिन्।
वैशाखदेखि भदौ-असोजसम्म लेक चढ्ने विद्यार्थी र शिक्षक कात्तिकदेखि फागुनसम्म बेसी झर्छन्। अधिकांश घुम्ती विद्यालय पोखरामै छन्। त्यसैले पनि उपल्लो मुस्ताङका दुई गाउँपालिका लोमान्थाङ र लो-घेकर दामोदरकुण्डका विद्यार्थी र शिक्षक पोखरा पुगेका हुन्।
दुवै गाउँपालिकाका १६ विद्यालयका ६११ विद्यार्थी पोखरामा हुन्। केही विद्यालयले पोखरामा नै आफ्नो भवन बनाएका छन् भने केहीले पोखराकै विद्यालयसँग सहयोग लिएर पठनपाठन जारी राखेका छन्।
संघीय सरकारले २०६१ सालदेखि हिमाली क्षेत्रका बालबालिकाका लागि घुम्ती स्कूल सञ्चालन गर्दै आएको छ। हिमाली आवासीय छात्रवास सुविधा अन्तर्गत यसरी घुम्ती स्कूल सञ्चालन गर्न सरकारले तीन लाख ५० हजार रुपैयाँ दिन्छ। अपुग रकम स्कूल रहेका स्थानीय सरकारले सघाउँछन्।
लेक-बेसीको पढाइ
दिव्य दीप माविका प्रधानाध्यापक रहमत धुनियाँको घर कपिलवस्तु हो। गत चार वर्षदेखि धुनियाँ उपल्लो मुस्ताङमा छन्। “तराईको मान्छे हिमालमा पुगेछु!” आफैं चकित हुन्छन्।
शुरूआतमा धुनियाँका लागि हिमाली परिवेश सहज थिएन। हरियाली र समथर ठाउँमा बसेका धुनियाँलाई मुस्ताङ हावापानीमा भिज्न एक वर्ष लाग्यो। जाडो शुरू भएसँगै माथि अक्सिजनको कमी हुन्छ। विद्यार्थी र शिक्षक दुवैलाई असहज हुने भएकाले बेसी झर्नुपरेको धुनियाँ सुनाउँछन्।
विद्यालयको आफ्नै भवन बन्ने क्रममा छ। अहिलेलाई विजयपुरमा नै रहेको भवानी कालिका विद्यालयसँग सहयोग मागेर दुई चरणमा गरी दैनिक पढाइ भइरहेको छ। जसमा बिहान ५:३० देखि ९:३० बजेसम्म कक्षा १ देखि ७ का र बिहान १० देखि अपराह्न ४ बजेसम्म कक्षा ८ देखि १० सम्म पठनपाठन भइरहेको विद्यालयका शिक्षक त्रिलोचन सापकोटा बताउँछन्।
झुमा र लामाको पढाइ
पोखराको भकुन्डेमा रहेको पाल एवं नाम्ग्याल गुम्बा माविमा कात्तिकयता विद्यार्थीको आवाज गुन्जिन थालेको छ। कक्षाकोठा वरिपरि पनि विद्यार्थीको गुनगुन सुनिंदै छ।
गर्मी याममा सुनसान रहने विद्यालयमा अहिले चहलपहल बढेको हो। उपल्लो मुस्ताङका विद्यार्थी बेसी झरेसँगै यो विद्यालयमा पनि पठनपाठन चलेको छ। यसरी घुम्ती विद्यालय सञ्चालन हुँदा बालबालिकालाई सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङवाङ छुल्ठिम बताउँछन्।
आफ्नै भवनमा कक्षा सञ्चालन गर्न १२६ विद्यार्थी र शिक्षक अहिले मुस्ताङबाट पोखरा झरेका छन्। गुम्बा विद्यालय भएकाले अरू विद्यालयमा हुने पढाइका अतिरिक्त बौद्ध धर्मबारे कक्षा सञ्चालन हुन्छ। झुमा र लामा बन्न बालबालिका भर्ना हुन्छन्। अहिले नर्सरीदेखि कक्षा ११ सम्मको पढाइ भइरहेको समितिका सचिव निमा गोन्पो गुरुङ बताउँछन्।
दीपा गुरुङ थापा मगर यो विद्यालयमा नेपाली विषय बढाउँछिन्। पोखरा घर भएकी मगरलाई उपल्लो मुस्ताङको परिवेशमा घुलमिल हुन समय लाग्यो। मौसम चिसो भएका कारण असहजता भए पनि त्यहाँको वातावरणमा विद्यार्थीलाई पढाउँदा रोमाञ्चित हुने गरेको उनी सुनाउँछिन्।
गुम्बा विद्यालय भएका कारण उपल्लो मुस्ताङका मात्र नभएर नेपालभरका बालबालिका यहाँ अध्ययन गर्छन्। रुकुमकी १५ वर्षीया हिरा खड्का अहिले कक्षा ४ मा पढ्छिन्। फेवा ताल छेउ रहेको विद्यालयको कक्षाकोठाबाट उनी ताललाई चियाउँछिन्। हिरालाई उपल्लो मुस्ताङभन्दा पोखरा न्यानो भएकाले रमाइलो लागेको छ।
त्यस्तै, कक्षा ९ मा अध्ययनरत १७ वर्षीया छयाङ ल्हामो गुरुङको घर भने उपल्लो मुस्ताङ नै हो। झुमाका लागि अध्ययन गर्न उनी गुम्बा विद्यालय भर्ना भएको सात वर्ष भइसक्यो। उपल्लो मुस्ताङभन्दा पोखराको विद्यालयमा बढी सुविधा र सहजता भएकाले यतै ठीक लाग्ने गरेको उनी सुनाउँछिन्।
लेक-बेसी गर्दै अध्ययन गरिरहेका विद्यार्थी र अध्यापन गराइरहेका शिक्षकका लागि भने सहज छैन। तैपनि असहजतालाई सहजतामा बदल्दै लेकका विद्यार्थी बेसीमा रमाउन खोजिरहेका छन्।