निर्धक्क धककुमारी
उमेरले साढे पाँच दशक नाघे पनि जोश कम भएको छैन, निर्धक्क बिजुलीका पोलमा चढेर तार जोड्ने, मिटर राख्ने लगायत काम गर्छिन्।
टाउकामा हेलमेट, कम्मरमा सुरक्षा बेल्ट र हातमा रेन्च बोकेर २० फिट अग्लो भर्याङ लगाउँदै बिजुलीका पोल पोलमा चढ्दा उनलाई हेरेर छक्क नपर्ने मानिस कमै हुन्छन्। वरपर जमात छ भने उनी लक्ष्यित टिप्पणी पनि तत्काल आइहाल्छ।
“आबुइ! छोरी मान्छे पनि यत्रो पोल चढ्दा रहेछन्। छोरा मान्छेले मात्र बनाएको देखेको, पहिलो पटक अचम्मै देखियो,” भक्तपुरको सूर्यविनायक नगरपालिका-५, एकतामार्गमा मंसीर ५ गते दिउँसो एक हुल स्थानीय उनलाई हेरेर यसो भन्दै थिए।
नाम : धककुमारी पौडेल। उमेर : ५६ वर्ष। विगत १६ वर्षदेखि धककुमारी हरेक दिन यसैगरी निर्धक्क बिजुलीका पोलमा चढेर चुहावट नियन्त्रण गर्नेदेखि नयाँ मिटर जडान र प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्नेसम्मको काम गर्दै आएकी छन्। उनलाई हेरेर यसैगरी मानिसहरू छक्क पनि पर्छन्।
“अब त बानी परिसक्यो। खासै वास्ता लाग्दैन। मैले त्यस्तो ठूलो काम केही गरें भन्ने पनि लाग्दैन। तर मान्छेहरू एकोहोरो हेर्छन्,” ढककुमारी आफ्नो अनुभव सुनाउँछिन्।
नेपाल विद्युत् प्राधिकरण, भक्तपुर वितरण केन्द्रमा हेल्पर पदमा कार्यरत छिन् धककुमारी। उनलाई कार्यालयमै बसेर काम गर्ने छूट नभएकाे हाेइन। हेल्पर पदमा नियुक्ति लिएर फिल्डमा नजाने कर्मचारी पनि छन्। धककुमारी भने आफूले फिल्डको कामबाटै स्वतन्त्रता र आत्मविश्वास पाउने गरेको बताउँछिन्।
प्राधिकरण प्रवेश
२२ वर्षको उमेरमा उनको विवाह भएको थियो, २५ वर्ष पुग्दा त दुई जना छोराकी आमा बनिसकेकी थिइन्। श्रीमान् भक्तपुरमा पर्यटन व्यवसायमा संलग्न थिए। वेलाबखत दोलखा घरबाट भक्तपुर आउँथिन्। २०६४ सालमा भक्तपुर आएका वेला उनले सीटीईभीटीबाट बिजुलीका तार जोड्ने तालीम लिइन्। त्यही वर्ष विद्युत् प्राधिकरण ठिमीमा उनले जागीर पाइन्। उनको काम थियो- पोल चढेर घर घरमा बिजुली जडान गर्ने।
जागीर पक्का भए लगत्तै उनले दुई छोरालाई पनि भक्तपुर ल्याइन्। त्यसयता यो परिवार लोकन्थलीमा बस्दै आएको छ। जागीर थालेको केही समयपछि तत्कालीन कार्यालय प्रमुख प्यारु राणाले धककुमारीलाई सीटीईभीटीको ‘ए’ र ‘बी’ लेभलको अध्ययन गर्न पठाए।
“त्यो वेला सबैलाई सरले थप तालीमका लागि भन्नुभएको थियो। तर महिलाबाट तालीम लिने म मात्र थिएँ। धेरै मेहनत गरेर सिकेको थिएँ,” धककुमारी आज पनि त्यो क्षण सम्झँदा आफूलाई अघि बढ्न हौसला मिल्ने बताउँछिन्।
त्यति वेला उनको उमेर ३६ वर्ष भइसकेको थियो। कक्षामा आफूभन्दा झन्डै आधा उमेर कमका भाइबहिनीसँग बसेर पढ्नुपरेको उनी सुनाउँछिन्।
दुई वर्ष लगाएर उनले अध्ययन पूरा गरिन्। थप प्राविधिक ज्ञान सहित पुरानै काम गर्न फिल्डमा खटिइन्।
आफ्नो निजी जीवनबारे त्यति खुल्न उनलाई मन लाग्दैन। “मलाई मेरो परिवारबारे धेरै कुरा खुलाउनु छैन। तर मैले यो काम गर्न जीवनभर छोरा र श्रीमान्बाट साथ पाएँ। अहिले त बुहारीको पनि साथ छ। नाति चार वर्षको भइसक्यो। छोराहरूले दुःख नगर्नु त भन्छन् तर इज्जत पनि गर्छन्,” उनी सुनाउँछिन्।
परिवारको हौसलाले नै यो पेशामा टिकिरहेको उनको भनाइ छ। सहकर्मीहरू पनि उनलाई अन्य कर्मचारीभन्दा आत्मविश्वासी र साहसिली ठान्छन्। कहिलेकाहीं बाहिरी मानिसको आलोचनाले भने उनको मन अमिलो हुने गर्छ।
‘छोरी मान्छे भएर पनि के पोल चढ्नु होला, अफिसमै बस्नु नि’ कहिलेकाहीं यस्तै यस्तै भनाइ सुन्नुपर्छ। यस्तो वेला उनलाई लाग्छ- काम गर्न सक्षम भएर पनि महिलालाई यस्तै आलोचनाले अघि बढ्न रोकेको होला।
आफ्नो काममा निपुण भए पुरुषभन्दा महिला कम नरहेको उनको बुझाइ छ। त्यसैले पुरुष सरह सबै काम गर्न अघि सर्छिन् उनी।
उत्कृष्ट कर्मचारी
बिजुलीको काम भएकाले व्यक्तिगत सुरक्षा पहिलो प्राथमिकता हो। त्यसैले पहिले जस्तो अहिले नाङ्गो तारमा काम गर्नु नपर्दा उनी खुशी छिन्। कुनै कुनै वेला तार जडान गर्दा उचाइका कारण समस्या भने हुन्छ। यस्तो वेला सहकर्मीको सहयोग लिन्छिन्।
“यो अप्ठ्यारो रहेछ, यो चाहिं म सक्दिनँ कि भन्ने मलाई कहिल्यै लागेन। गर्नै नसक्ने काम भए पनि एक पटक प्रयास गरेपछि मात्र छाड्ने गरेको छु,” धककुमारी भन्छिन्।
“पुरुष दाजुभाइले त सधैं गरिरहेकै काम हो यो। तर छोरी मान्छेले गर्नसाथ यो ठूलो जस्तो देखिएको मात्र हो,” आफ्नो कामलाई सहज रूपमा लिइदिन आग्रह गर्दै उनी भन्छिन्, “हामी सबैलाई यो काम सामान्य लागेकै राम्रो।”
भक्तपुर वितरण केन्द्रकी प्रशासन प्रमुख सुधा दाहाल प्राधिकरणमा हेल्पर पदमा नियुक्त भएका धेरै महिला फिल्डभन्दा कार्यालयमै बसेर काम गर्ने गरेको बताउँछिन्। “सबै महिला धककुमारी दिदीको जस्तो फिल्ड जाँदैनन्। उहाँले त साहसी भएर काम गर्नुभएको छ। कर्तव्य पूरा गर्नुभएको छ,” दाहाल प्रशंसा गर्छिन्।
यिनै गुणका कारण पनि होला, धककुमारीले अहिलेसम्म दुई पटक उत्कृष्ट कर्मचारी पुरस्कार पनि पाएकी छन्। पहिलो पटक २०६८ सालमा ठिमी वितरण केन्द्र र गत वर्ष भक्तपुर वितरण केन्द्रबाट उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भइन्।
२०६५ सालतिर देशमा १८ घन्टासम्म लोडशेडिङ भएका वेला पनि धककुमारी यसरी नै काम गर्थिन्। त्यति वेला भने आफूले परिचय लुकाएर काम गरेको उनी बताउँछिन्।
लोडशेडिङका कारण प्राधिकरणको कर्मचारी भन्नासाथ सर्वसाधारण गालीगलौजमा उत्रने गरेकाले परिचय लुकाउनुपरेको उनी सुनाउँछिन्। एक पटक त आफ्नै छिमेकीले प्याच्च भनेको सम्झिन्छिन्, “कति जनताको पैसा पचाउँछौ हौ! जनताको पैसा लिएर लोडशेडिङ गर्न लाज लाग्दैन?”
त्यो सबै उनको वशमा थिएन। तैपनि उपभोक्ताको गुनासो सुन्नै पर्यो।
त्यस्तो समयबाट गुज्रिन परे पनि अहिले आफूलाई प्राधिकरणको कर्मचारी भनेर चिनाउँदा गर्व लाग्ने गरेको उनी बताउँछिन्। यो अवस्था ल्याएकोमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्छिन्। उनी भन्छिन्, “आज हाम्रो शिर ठाडो पारिदिने काम उहाँले नै गर्नुभएको हो। धन्यवाद दिनै पर्छ।”
बिर्सनै नसक्ने ती दुई घटना
जागीरे जीवनमा उनले अनेकौं चुनौती सामना गर्नुपर्यो। तीमध्ये दुई वटा घटना उनका लागि अविस्मरणीय छन्।
पहिलो घटना हो, २०६८ सालको। ३४ महीनादेखि ठिमीका एक व्यक्तिले बिजुली चोरेर बालेको भेटिएपछि धककुमारी सहितको टोली बिजुली काट्न घरधनीकहाँ पुगेको थियो। हातमा रेन्च लिएर अघि बढेकी उनले ती व्यक्तिको घरमा पुग्नासाथ तार च्वाट्ट पारिन्। घरधनीले त्यसो गरेको परैबाट देखे। अनि ‘तेरो घोक्रो फोरिदिन्छु’ भन्दै धककुमारीलाई लखेट्न थाले।
उनी लुक्न भनी प्राधिकरणको गाडीमुनि पसिन्। एकैछिनमा डेढ-दुई सय मानिसको भीड जम्मा भयो। त्यस दिन मुश्किलले ज्यान जोगाइन्। यो घटना भएको हिजो जस्तै लाग्छ उनलाई। त्यस दिन आफू डराईडराई घर पुगेको सुनाउँछिन्।
अर्को घटना पाँच वर्षअघिको हो। सूर्यविनायकको एउटा घरमा बिजुलीको क्षमता बढाउन उनी सहित पाँच जनाको टोली पुगेको थियो। मिटरबक्स हेर्नासाथ उनले त्यहाँ पनि वर्षौंदेखि विद्युत् चुहावट भएको थाहा पाइन्।
विद्युत् चुहावट भएको जानकारी दिंदै सरासर मिटर झिक्न मात्र के खोजेकी थिइन्, घरभेटीले ‘टाउको फोडिदिन्छु’ भन्न थाले। “रडले हानेर मारिदिन्छु भन्न थालेपछि हामी ज्यान जोगाउन भाग्यौं,” डरमिश्रित आवाजमा घटना सुनाइन्, “त्यसपछि कार्यालयका हाकिम गएर नियन्त्रणमा लिनुभएको थियो। त्यसरी पनि काम गरियो।”
यसरी अनेक उतारचढाव भोगेको जागीरे जीवनबाट उनी दुई वर्षपछि अवकाश पाउँदै छिन्। त्यस वेलासम्म आफू जुन काममा नियुक्ति लिएर आएको त्यही काम गरेर बिदा हुने उनको चाहना छ।
आजभोलि त ५६ वर्षकी आमा सकिनसकी पोल चढेर तारहरू तानेको देख्दा छोराहरूले आराम गर्न ज्यादै कर गर्न थालेका छन्। तर उमेर यतिमै रोकिने भए त अझै वर्षौं यही काम गर्न पाए हुन्थ्यो भन्छिन् धककुमारी। “मेरा हातखुट्टाले साथ दिएसम्म आफैं काम गर्छु। यो रहरले गरेको पेशा हो। मलाई आनन्द आउँछ। धेरथोर जति भए पनि आफ्नो कमाइ पनि हुन्छ। सकुन्जेल कोही पनि चूप लागेर बस्नु हुँदैन नि,” उनी भन्छिन्।
उनी प्राधिकरणमा हेल्परमा नियुक्ति लिने दिदीबहिनीलाई पनि नधकाई काम गर्न सुझाव दिन्छिन्। “धेरै ठाउँमा महिलाहरू फिल्डमा जानुपर्ने भए पनि जानुहुन्न। यसो गर्दा महिलाहरू कमजोर छन् भन्ने पर्न जान्छ। त्यसो नगर्नुहोला,” उनको सल्लाह छ।