गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नरहेको बताएका छन्।
भरतपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले गणतन्त्रको विकल्प नभएको जिकिर गरे। “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,” देउवाले भने।
केही व्यक्तिले विरोध गर्दैमा गणतन्त्र कमजोर नहुने उनको भनाइ थियो। गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् त भन्ने प्रश्नमा देउवाले भने, “को अत्तालियो? हामी अत्तालिएका छैनौं।”
सत्तारूढ गठबन्धन दलको सत्ता साझेदारीका विषयमा पनि सञ्चारकर्मीले देउवालाई प्रश्न सोधेका थिए। सरकारको नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे सोधिएको प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिएनन्। सत्ता साझेदारी तथा सरकारको नेतृत्व फेरबदल कसरी हुन्छ भन्ने प्रश्नमा देउवाको जवाफ थियो, “भएपछि थाहा पाइहाल्नुहुन्छ नि।”
त्यस्तै, कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिए। सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको डा. कोइरालाको भनाइ थियो।
“मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन,” कोइरालाले भने।
संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनको भनाइ थियो। “जनताका मनमा आएका व्यवस्था परिवर्तन सम्बन्धी आशंका हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ,” कोइरालाले भने।