नरभक्षी बाघ खोज्दा शव फेला
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको टोलीले एउटा शव फेला पारेको छ।
नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट चार वटा हात्ती सहित गएको निकुञ्जको टोलीले नरभक्षी बाघको खोजी गर्ने क्रममा शव भेटाएको हो।
गत शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका-६, राप्ती खोला र लोथर खोलाको दोभानमा चितवन जिल्लाको राप्ती नगरपालिका-१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो। पौडेललाई आक्रमण गर्ने नरभक्षी बाघ खोज्दै जाने क्रममा आइतबार साँझ मनहरी गाउँपालिका-६, राप्ती खोला र लोथर खोलाको दोभानमै अर्को पुरुषको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।
शवको कम्मरभन्दा माथिको अस्थिपञ्जर मात्रै बाँकी भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
हालसम्म शवको पहिचान हुन सकेको छैन।