वियोगपछि जन्मिएको जूस घर
पेटमा बच्चा हुँदा एक गिलास जूस किन्न नपाएकी रिना बरौलियाले अठोट गरिन्, राजविराजलाई जूस खान सिकाउँछु। त्यही अठोटले जन्मियो, मिथिला जूस घर जहाँ जूस पिउँदै पुस्तक पढ्न पाइन्छ।
दिल्लीको स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुष विभागमा कार्यरत रिना बरौलियाले एक दिन ‘न्याशनल स्कूल अफ ड्रामा’ मा दाइको साथीलाई भेटिन्। उनी थिए, सप्तरीको राजविराजका सुरेशकुमार मुखिया।
खासमा सुरेशको रुचि कला क्षेत्रतर्फ थियो। उनले कान्तिपुर फिल्म एकेडेमीबाट स्क्रिप्ट राइटिङमा डिप्लोमा पनि गरेका छन्।
त्यसअघि उनी होटल म्यानेजमेन्ट पढ्न काठमाडौं आएका थिए। तर, अभिभावकको दबाब झेल्न नसकेपछि उनी होटल म्यानेजमेन्टको पढाइ हापेर चार्टर्ड अकाउन्टेन्सी (सीए) पढ्न भारतको दिल्ली पुगेका थिए।
सीए पढ्न गएको भए पनि उनको मनमा त कला नै थियो। त्यही भएर न्याशनल स्कूल अफ ड्रामाको चक्कर लगाइरख्थे। घन्टौं कम्पाउन्डमा बिताउँथे, पुस्तकालय छिर्थे। त्यही वेला सुरेशलाई भेटेकी थिइन्, रिनाले। “दाइको साथी भनेर भेटेकी थिएँ, प्रेम बस्यो,” रिना हाँस्दै भन्छिन्, “सुरेशसँग प्रेममा परेर दिल्लीको आयुष विभागबाट मेरो तबादला (सरुवा) राजविराज भयो।”
राजविराज बसाइँ राम्रैसँग अघि बढिरहेको थियो। सुखमय बनिरहेको दाम्पत्य जीवनमा बच्चा पाउने खुशीले झन् उत्साहित बनेकी थिइन्। त्यही क्रममा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले जूस खान सल्लाह दिए। उनलाई पनि जूस खान खूब मन लागेको थियो। “राजविराजमा एक गिलास फ्रेश जूस कतै पाइएन,” रिना भन्छिन्, “प्याकेटको जूस थियो, त्यो स्वस्थकर थिएन।”
पहिलो सन्तानको पर्खाइमा रहेका रिना दम्पती एकाएक निराश बने। नौ महीना गर्भमा राखेको बच्चा मृत जन्मियो। त्यो पीडा भुल्न सुरेशले रिनालाई दिल्ली पठाए। तर रिनाको मनमा पौष्टिक आहार नपाएर बच्चा बाँचेन कि जस्तो लाग्यो। “मैले त गर्भवती हुँदा फ्रेश जूस खान पाइनँ, तर अरू आमाहरूले खान पाउने व्यवस्था गर्छु भन्ने अठोट गरें,” दिल्ली हिंड्नुअघि मनमनै गरेको वाचा सुनाउँछिन्।
पहिलो बच्चा गुमाएको पीडा भुल्न पनि उनी केही समय दिल्लीमै बसिन्। दिल्लीमै छोरी ध्वनिलाई जन्म दिइन्। “दिल्लीमा सबै सुविधा थियो, सहज रूपमा छोरी जन्मिई,” उनी भन्छिन्।
त्यसपछि उनलाई दिल्लीमा बसिरहन मन लागेन। छोरी बोकेर राजविराज नै फर्किइन्। परिवारमा सरसल्लाह गरिन्। अन्य स्थानीय अगुवाहरूसँग पनि सोधपुछ गरिन्। “सबैले हौसला दिएपछि मिथिला जूस घर खोलें,” रिना भन्छिन्, “मैले गर्भवती हुँदा जूस खान पाइनँ, अरू गर्भवती आमाले सजिलै खान पाऊन् भनेर जूस बेच्ने निधो गरें।”
दिल्ली विश्वविद्यालयबाट वाणिज्य संकायमा स्नातक गरेकी उनको राजविराजस्थित नेता चोकको दक्षिण कुनामा जूस घर छ। जहाँ हरेक प्रकारका फ्रेश जूस पिउन पाइन्छ। मौसम अनुसार केरा, आँप, अनार, सुन्तला, खर्बुजा लगायत फलफूलको जूस हुन्छ।
गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल नजिकै भएकाले पनि जूस खान आउनेको कमी हुँदैन। अझ चिकित्सकले बिरामीलाई जूसका लागि सुझाउने ठाउँ मिथिला जूस घर नै बनेको छ।
अहिले त ‘मर्निङ वाक’ को चलन छ। यसमा प्रायः पुरुष नै निस्किन्छन्। उनीहरूलाई चिया चाहिन्छ। रिनाले चिया पनि थपेकी छन्। “चियाका पारखीलाई पनि जूस खुवाउने लक्ष्य छ,” उनी भन्छिन्।
चिया थपेपछि गफगाफ त हुने नै भयो, होहल्ला पनि थपियो। त्यसपछि उनले उपाया निकालिन्, पुस्तक। “चर्को नबोल्नुस् भन्न सकिंदैन, रिसाउलान् कि भन्ने लाग्थ्यो,” रिना भन्छिन्, “शान्त राख्ने उपाय पुस्तक रहेछ। जूस पसलमा पुस्तक राखेदेखि होहल्ला हुँदैन, सबै शान्त भएर बस्छन्।”
पुस्तक राखेपछि ग्राहक शान्त त भएका छन् तर पढ्ने चाहिं कमै हुन्छन्। तैपनि जूस र चिया पिउँदा चर्को स्वरमा नबोल्ने, मोबाइलमा व्यस्त नहुने गरेको उनी सुनाउँछिन्। उनको लक्ष्य पुस्तक पढ्ने बानी बसाल्ने पनि छ। “राजविराजका बासिन्दालाई फ्रेश जूस खाने बानी लगाउन सफल हुँदै छौं,” रिना भन्छिन्, “एक दिन पुस्तक पढ्ने पनि हुनेछन्।”
स्थानीय बासिन्दा पनि मिथिला जूस घरमा रमाउने गरेका छन्। एक पटक आएपछि आइरहने गरेका छन्। त्यस्तै, उपभोक्तामध्ये एक हुन्, अनस खान। उनी मिथिला जूस घर पुग्दा आनन्द आउने गरेको बताउँछन्। “जूस घरमा पुग्दा शान्ति र आनन्द मिल्छ,” नियमित आइराख्ने अनस भन्छन्, “घरभन्दा शान्त हुन्छ। किनकि, न वाईफाई छ न त म्युजिक।”
जूस घर सञ्चालन गर्न शुरूआतमा चार लाख रुपैयाँ जति खर्च भएको सुरेश बताउँछन्। जूस घरलाई अभियानका रूपमा लिएको उनी सुनाउँछन्। मदिरा, बिअर तथा ‘कोल्ड ड्रिंक’ लाई मात्रै पेयपदार्थ ठान्ने राजविराजवासीले बिस्तारै जूस पनि पिउन थालेको उनको अनुभव छ। जन्मदिन, विवाह उत्सवमा मदिराजन्य पेयपदार्थ उपभोग गर्नेहरू पनि अहिले जूस लिने गरेको उनी बताउँछन्। “यो मदिराबाट टाढा राख्ने अभियान पनि हो,” सुरेश भन्छन्।
जूस घर सञ्चालन गर्दा स्थानीय व्यापारी रिसाएका थिए। प्याकेटको जूसको विरोध गरेको अर्थमा लिएका थिए। अहिले भने रिनाले सबैसँग राम्रो व्यावसायिक सम्बन्ध बनाइसकेकी छन्। राजविराजका होटलसँग सहकार्य गरेर ‘मेन्यु’ मा जूस पनि थप्ने पहल गरिरहेकी छन्।
राम्रो आम्दानी छ, सबैले प्रशंसा गर्छन्। तैपनि एउटा कुरा भने रिनालाई खट्किइरहेको छ, कामदार पाइँदैन। किनकि धेरैले यसलाई व्यवसायका रूपमा लिएका छैनन्। अर्कातिर, युवा जति विदेश गइरहेकाले पनि कामदार पाउन मुश्किल भएको उनी सुनाउँछिन्। “इस शहरमें भगवान मिल जाएंगे लेकिन कामदार नहीं मिलेंगे,” उनी भन्छिन।
मिथिला जूस घर शुरू भएको तीन वर्ष भइसकेको छ। यसलाई सफल व्यवसायका रूपमा उभ्याउने उनको ध्येय छ। “शुरूआतमा त मलाई पनि चल्दैन कि जस्तो लागेको थियो,” रिनाको अनुभव छ, “राम्रो गर्ने अठोट हुनुपर्छ, त्यो अठोटले सफल बनाउँछ।”