इतिहासकार अवतारमा मोहन मैनाली
पत्रकार एवं लेखक मोहन मैनाली इतिहासकारका रूपमा देखापरेका छन्।
मैनालीले नेपाल-अंग्रेज युद्धको वृत्तान्त मुकाम रणमैदानः नेपाल अंग्रेज युद्धको बखान पुस्तक ल्याएका छन्। तत्कालीन युद्धमा नेपाली र अंग्रेज सिपाही एवं कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तलाई किताबको विषयवस्तु बनाइएको छ।
पुस्तक तयार पार्न नेपाल-अंग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने, देखी जान्ने मानिसका बयानमा भर परेको लेखक मैनालीले बताए। कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रबीच कतै कतै भेटिने, कतै कतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका चिठीका शब्द शब्दका अर्थ बुझेर लडाइँबारे अहिलेसम्म बाहिर नआएका तथ्य प्रकाशमा ल्याएको मैनालीको भनाइ छ।
खोज पत्रकारको पहिचान बनाएका मैनालीले यस पुस्तक तयार पार्न आफ्नो पत्रकारिता जीवनका अनुभवबाट हासिल गरेको धीरता र कठोर मेहनत गर्ने बानी उपयोग गरेको जनाएका छन्।
यो पुस्तक बजारमा पठाइएको प्रकाशक बुक हिलले जनाएको छ। मुकाम रणमैदानको प्रिन्ट संस्करणका साथै अडियो र ई-बूक पनि उपलब्ध छ।
यसअघि रिपोर्टिङका क्रममा गरेको यात्रा र अनुभवको वृत्तान्त समेटिएका उपल्लो थलो र मान्ठा डराएको जुग पुस्तक प्रकाशन गरेका मैनाली यही पुस्तकसँगै इतिहास विधामा प्रवेश गरेका छन्।