उरुग्वेका भविष्य विश्लेषक र राष्ट्रपतिसँगै सेल्फी
संसार प्रविधिको उपयोगबाट भविष्यलाई वर्तमानमा ल्याएर काम गर्दै फड्को मार्दै छ, हामी चाहिं वर्षौंदेखि थाती रहेका चुनौती सम्बोधन गर्न समेत ढिला गर्दै छौं।
सांसदहरूको विश्वव्यापी सञ्जाल 'इन्टर-पार्लियामेन्टरी यूनियन' (आईपीयू) अन्तर्गतका विभिन्न समितिमध्ये एउटा हो, कमिटी अफ द फ्युचर। लोकतन्त्र, प्रविधि, प्रकृतिका क्षेत्रमा भविष्यमा आउने अवसर र चुनौतीबारे विश्वभरका संसद्लाई सचेत पार्ने र तयार बनाउने उद्देश्य लिएको यो समितिको दोस्रो विश्व सम्मेलन दक्षिण अमेरिकी मुलुक उरुग्वेमा हुन लागेको रहेछ।
मित्र मधुकर उपाध्याज्यूले ‘सहभागिताको लागि तपाईंलाई निम्तो आउन सक्छ है’ भन्नुभएको थियो, नभन्दै उरुग्वेको प्रतिनिधि सभाका सभामुख र आईपीयूका भविष्य सम्बन्धी समितिका अध्यक्षको हस्ताक्षर भएको निमन्त्रणा पत्र इमेलमा आइपुग्यो। सम्मेलनको विषय रहेछ, ‘भविष्यलाई वर्तमानमा ल्याउने: भविष्यको लोकतन्त्र, कृत्रिम बुद्धिमत्ता (एआई) र संसद्’।
इमेलमा उरुग्वे जाने-आउने विमानको टिकट, बस्ने होटल र भिसा सबै यूरोपियन युनियनको सहकार्यमा उतैको संसद्ले व्यवस्था गर्ने भनेको थियो। विषयवस्तु चाखलाग्दो भए पनि पुग्न नै झन्डै तीन दिन लाग्ने यति टाढा एक्लै जाने कि नजाने? अलि अलमलिएँ। गूगल गर्दा थाहा भयो, दक्षिण अमेरिकाको दोस्रो सानो मुलुक उरुग्वे एटलान्टिक समुद्रको किनारमा रहेछ। भूगोलमा नेपालभन्दा अलिकति मात्रै ठूलो (जम्मा क्षेत्रफल एक लाख ७६ हजार २१५ वर्ग किमी) तर जनसंख्या ३० लाख मात्र।
त्योभन्दा अरू तीन कुराले मलाई त्यहाँ जाने निधोमा पुर्यायो। पहिलो, लोकप्रिय फूटबलरहरू म्याराडोना र मेस्सी, अनि पेले र नेयमारहरूको देश अर्जेन्टिना र ब्राजिलको बीचमा पर्ने रहेछ उरुग्वे। दोस्रो, उरुग्वे संसारमै स्थिर प्रजातन्त्र भएको देश भनेर चिनिने रहेछ। र तेस्रो, यति थोरै जनसंख्या भएको देश खाद्य उत्पादनमा आत्मनिर्भर मात्र हैन, कृषि र पशु उत्पादनको निर्यातमा संसारमै नामी रहेछ।
त्यहाँ जसरी गएँ, जे देखें र सिकें तीमध्ये केही रोचक पाटो सबैसामु बाँड्न यो यात्रानुभव लेख्दै छु।
भिसा र लगेज हराउँदाको हैरानी
२३ सेप्टेम्बरमा सवा दुई बजे कतार एअरको उडानबाट यात्रा शुरू गरेर कतारको दोहा र ब्राजिलको साउपाउलो हुँदै उरुग्वेको राजधानी मोन्टेभिडियो पुग्नुपर्ने थियो। शुक्रबार राति ११.३० मा त्रिभुवन विमानस्थल पुगें। आफू भीआईपी लाउन्जमा बसेर स्वकीय सचिव वा ड्राइभरलाई 'चेक इन' गर्न पठाउने परिपाटी मलाई पटक्कै मन पर्दैन। लावालस्कर लिएर विमानस्थल जान पनि मन लाग्दैन। छोरा-बुहारीले 'डिपार्चर' गेटमा छोडेर फर्के, म सरासर चेक इनमा गएँ।
मेरो भिसा पासपोर्टमा थिएन। उरुग्वेको संसद्ले त्यहाँको विदेश मन्त्रालयको समन्वयमा एउटा चिठी पठाएको थियो, जसमा मेरो नाम, पद, सहभागी हुने कार्यक्रम, पासपोर्ट नम्बर, भिसा नचाहिने कारण र मलाई सरासर उरुग्वेभित्र प्रवेश गर्न दिने व्यहोरा लेखिएको थियो। कतार एअरको डेस्कले भिसा माग्ने भइहाल्यो, मैले सबै कागजपत्र देखाएँ। उनीहरूले अनलाइन नै चेक गर्न थाले, भिसा भेटेनन्। करीब एक घण्टा पर्खाएपछि हाकिमसँग कुरा गरेर बल्लतल्ल बोर्डिङ पास दिए। त्यो पनि डिप्लोमेटिक पासपोर्ट भएकाले दिएका होलान्। अध्यागमनमा भने त्यो चिठीले सहजै काम गर्यो। शायद त्यहाँका कर्मचारीलाई यस्तो कागजी चिठीका रूपमा भिसा देख्नु नौलो थिएन।
पाँच घण्टाको उडानपछि दोहा पुगियो। सानिमा व्यांकको लगनखेल शाखाले दिएको 'प्रायोरिटी पास' देखाउँदा ‘अल माहा’ लाउन्जमा चार घण्टा नि:शुल्क बस्न र खान पाइने रहेछ। त्यहाँ तीन घण्टा सहज बित्यो। त्यसपछिको यात्रा थियो दोहादेखि साउपाउलोसम्म १५ घण्टा ३५ मिनेटको। यहाँ पनि बोर्डिङको समयमा कतार एअरका कर्मचारीले पासपोर्टमा भिसा खोजे। नभेटेपछि अर्कै डेस्कमा पठाए। त्यहाँ निकै बेर उभिएपछि एक महिला सुरक्षा अधिकारीले सबै कागजपत्र हेरिन्, फोटो खिचिन् र ‘अब यसलाई सिस्टममा राखिदिन्छु अनि कसैले तिम्रो भिसा खोज्दैन’ भनिन्। ढुक्क भयो। विमानबाट घरी बाहिर हेर्दै, पढ्दै, निदाउँदै, फिल्म हेर्दै कसो कसो कटाइयो, साढे पन्ध्र घन्टाको पट्यारलाग्दो उडान।
स्थानीय समय साँझको सवा पाँच बजे साउपाउलो पुगियो। त्यहाँ १४ घण्टा लामो ट्रान्जिट थियो। यति लामो समय विमानस्थलमा त्यतिकै बस्नुभन्दा बाहिर घुम्न निस्कनुपर्यो भनेर सोधीखोजी गरें तर पाइएन। पहिलो त भाषाको समस्या भयो। त्यहाँको डेस्कले स्पेनिस मात्रै बोल्ने, एउटा प्रहरी खोजेर ‘स्पिक इङ्लिश?’ भनें, उनी त ‘स्पिक स्पेनिस’ भनेर हिंडे। साँझ छिप्पियो, कतैबाट बाहिर निस्कने उपाय लागेन। अनि फेरि लाउन्ज खोज्न थालें। सानिमा व्यांकको कार्ड प्रयोग गर्न मिल्ने दुई वटा लाउन्ज भेटिए। एउटाले दुई घण्टा मात्रै बस्न दिने, अर्कोले चाहिं राति ११ बजेदेखि बिहान ६ बजेसम्म बस्न दिने। पहिले दुई घण्टा बस्न दिनेकोमा गएर भात र भान्टा फ्राई खाएँ, अनि अर्को लाउन्जमा ११ बजे गएर एउटा कुनामा चुपचाप सुतें। बिहान लाउन्जमै खाजा खाएर मोन्टेभिडियोको लागि ‘लताम एअर’ को विमान समातें।
साउपाउलोदेखि मोन्टेभिडियोसम्मको यात्रा भने दुई घण्टा ४५ मिनेटको रहेछ। उज्यालोमा उडेकाले हरियाली, समुद्र, ससाना थुम्का देख्न पाउँदा रमाइलो लाग्यो। आपद् त त्यति वेला पर्यो जब लगेज लिने ठाउँमा मेरो सुटकेस भेटिएन। संसद् सचिवालयबाट मलाई लिन आएका दुई कर्मचारीले यता-उता सोधखोज गरे तर भेटिएन। रिपोर्ट गरेर रित्तै हात हयात रेसिडेन्सी होटलतिर लागें। यो होटल एटलान्टिक समुद्रको एउटा हाँगो मानिने ‘रियो डे ला प्लाटा’ भन्ने विशाल नदीको किनारमा रहेछ। किनारमा कुद्ने, हिंड्ने, कसरत गर्ने, बस्ने, खेल्ने, तस्वीर खिच्ने सबै ठाउँ बनाइएको रहेछ। ठाउँ निकै सुन्दर थियो, मलाई भने सुटकेस हराउँदाको पिरलोले खाइरहेको थियो।
भोलिपल्ट बेलुका सम्मेलनको उद्घाटन छ, उरुग्वेका राष्ट्रपतिको सम्बोधन छ, आफ्नो औपचारिक पोशाक सुटकेसमा पर्यो। के लगाएर जाने भन्ने प्रश्नले भोक, निद्रा, थकान सबै गायब भयो। दुई घण्टा होटलमा आराम गरेर बजारतिर निस्किएँ। करीब २० मिनेट हिंडेपछि मोन्टेभिडियो शपिङ सेन्टरमा पुगें। भोलि २ बजेसम्म सुटकेस आएन भने यही सुट किनेर लाउँछु भन्ने सोच बनाएर एक जोडी सुट र जुत्ताको भाउ बुझेर फर्किएँ। तर धन्न भोलिपल्ट बिहान १० बजे नै सुटकेस फेला परेको र साउपाउलोबाट पठाइसकेको खबर आयो। दुई बजे होटलमा सामान आउने खबर कर्मचारीहरूले सुनाउँदा के के न भेटे जस्तो लाग्यो।
राष्ट्रपतिको सरल आतिथ्य, चोटिलो सन्देश
५० मुलुकको संसद्बाट करीब १५० जना सांसद, भविष्यका बारेमा अध्ययन अध्यापन गरिरहेका २५ अन्तर्राष्ट्रिय विज्ञ र प्राज्ञ तथा सहयोगी संस्थाका प्रतिनिधि समेत गरी हामी करीब २०० जना विदेशी एकैपटक पस्यौं उरुग्वेको संसद् भवनमा।
होटलबाट गाडी चढ्नै लाग्दा हेर्दा आफूलाई अमेरिकी बताउने व्यक्ति सँगै परे। ‘के गर्नुहुन्छ?’ भनेर सोध्दा तिनले ‘म फ्युचरिस्ट हुँ, यहाँ विज्ञका रूपमा आएको’ भने। फ्युचरिस्ट भन्ने पनि प्रोफेशन हुँदो रहेछ भन्ने मैले पहिलो पल्ट सुनें। कति मुलुकहरूमा ‘भविष्य’ को विश्लेषण, प्रविधिको प्रवर्द्धन र नियमनका लागि छुट्टै संसदीय समिति हुने रहेछन् भने केहीमा छुट्टै सरकारी निकाय हुने रहेछ।
नयाँ विषयप्रति थुप्रै जिज्ञासा लिएर सम्मेलन उद्घाटनका लागि संसद् भवन पुगें। मुख्य ढोकाबाट पस्नासाथ बीचमा एउटा टेबुलमा शीशाको कलात्मक ढक्कनले ढाकेर दुईतिर दुइटा पुस्तक राखिएको रहेछ। एउटा उरुग्वेको संविधान र अर्को संविधान लेख्दा भएको छलफल र संविधानमा भएका प्रत्येक प्रावधानको आशय अभिलेख गरिएको व्याख्यात्मक टिप्पणी रहेछ।
संसद्ले आफ्नो काम गर्दा संविधान सम्झियोस् र संविधानको व्याख्या गर्दा त्यति वेलाको मर्म बुझोस् भनेर दुवै प्रतिवेदन त्यहाँ राखिएको बुझियो। हाम्रो संविधानको व्याख्यात्मक प्रतिवेदन पनि हेर्न पाए हुने जस्तो लाग्यो। प्रतिनिधि सभाको बैठक बस्ने सभाहलमा सबै देशको झन्डा र नाम राखेर पाहुनाको सीट सुरक्षित गरिएको रहेछ।
उरुग्वेमा उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष हुने चलन रहेछ, त्यसैले प्रोटोकलमा प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाको सभाध्यक्ष अगाडि हुने रहेछन्। यहाँको जस्तो रिबन काट्ने, पानसमा बत्ती बाल्ने वा बिरुवामा पानी हाल्ने, सुरक्षाकर्मीको भीडभाड केही देखिएन।
खास औपचारिकता विना नै कार्यक्रम शुरू भएको उद्घोष गर्दै पाहुनाहरूलाई उपराष्ट्रपति तथा अध्यक्ष बिट्रिज अर्गिमनले स्वागत गरिन्। त्यसपछि पालैपालो आईपीयूका सभापति, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका महासचिव र आईपीयू ‘फ्युचर’ समितिका सभापतिले विश्व कसरी प्राकृतिक, आर्थिक, सामाजिक चुनौतीसँग जुधिरहेको छ, यो चुनौतीमा प्रविधि, विशेषत: एआईले राम्रो/नराम्रो के प्रभाव पारेको छ, भविश्यमा विकास हुँदै गरेका प्रविधिले सांसदहरूको काममा के प्रभाव पार्छन् जस्ता विषय उठान गरे। एआईले मानव सुरक्षामा जोखिम र संसद्को काममा थप चुनौती ल्याउने, केही क्षेत्रमा यो वरदान भए पनि, कुनै क्षेत्रमा अभिषाप हुने डर भएकाले यसको सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानूनी ढाँचा र राष्ट्रिय मापदण्ड आवश्यक रहेको उनीहरूको भनाइ थियो।
त्यसपछि अध्यक्षले उरुग्वेका राष्ट्रपति लुइस ल्याकाल पोलाई सम्बोधनका लागि बोलाइन्। मञ्चमा त थिएनन् राष्ट्रपति, सबै पाहुनाले उनको अनुहार यताउति खोज्न थाले। ४५/५० वर्षे देखिने, साधारण सर्ट र पाइन्ट लगाएका फुर्तिलो व्यक्ति एउटा कुनाबाट जुरुक्क उठेर दौडिंदै सभाहलको पछाडिपट्टि आएर सहभागी सांसदहरूसँगैको एउटा कुर्सीमा बसे र सांसदले शून्य समयमा बोले जसरी माइक समातेर बोल्न थाले। यिनै रहेछन् राष्ट्रपति।
उनलाई छुट्टै विशेष सीट, विशेष सुरक्षा केही पनि नचाहिने रहेछ। बोल्दा जहिल्यै उनी श्रोता र सहभागीसँगै उभिएर वा बसेर बोल्दा रहेछन्। यो काइदा देखेर हामी सबै चकित भयौं। २६ वर्षको उमेरमा पहिलो पटक सांसद बनेका उनी चार पटक प्रत्यक्ष निर्वाचित भएपछि सन् २०१९ मा राष्ट्रपति बनेकी रहेछन्।
अरू वक्ताभन्दा छोटो बोलेका राष्ट्रपति पोले व्यावहारिक पाटो जोड्दै प्रविधिबारे बताए, “मेरा घरमा चार बच्चा छन्। प्रविधिबारे प्रत्येक दिन बहस हुन्छ र त्यस क्रममा उनीहरूको अगाडि म आफूलाई एकदम नजान्ने पाउँछु। बहस गर्दै जाँदा हामी एउटा सहमतिमा पुग्छौं। हामी आमाबुबाहरू आजकाल नयाँ पुस्ता र आफ्नै छोराछोरीले हामीलाई सुन्दैनन् भन्छौं नि, यो किन भयो थाहा छ? हिजो प्रविधि थिएन, हिंडडुल असाध्यै कम थियो।
“जीविकोपार्जनका लागि बाहिर जानेहरू बाबुआमा नै हुन्थे, उनीहरूसँग सूचना र बाहिरी समाजको अवलोकनबाट प्राप्त ज्ञान हुन्थ्यो। जोसँग सूचना छ, उही शक्तिशाली हुने भएकाले त्यो समयमा बाबुआमा शक्तिशाली थिए। आज डिजिटल प्रविधि आएको छ, र युवा पुस्तासँग हाम्रोभन्दा बढी ज्ञान र सूचना छ। मोबाइल र कम्प्युटरबाटै उसले हामीले नदेखेको वर्तमान र देख्नै नसकिने भविष्य देखेको छ। त्यसैले ऊ अब हाम्रो मात्र कुरा सुनेर बस्दैन, आफ्ना कुरा सुनाउन चाहन्छ।”
“हामी युवा पुस्ताभन्दा कम जान्दछौं भनेर जान्दैनौं, आफूभन्दा शक्तिशाली युवा पुस्ता छ भनेर स्विकार्दैनौं, अनि कसरी हुन्छ संवाद र सहकार्य? अब पनि हामी प्रविधि प्रयोग गर्न हिचकिचाउने हो भने अझै कमजोर हुन्छौं, संसद् पनि कमजोर हुन्छ। हामीले सहकार्य गर्नुपर्छ प्रविधिसँग, प्रविधि बनाउने र प्रयोग गर्ने युवा पुस्तासँग। अब संसद्मा प्रविधिको विकास, प्रवर्धन र प्रयोग बढाउने वातावरण बनाउन बढी ध्यान दिनुपर्छ। प्रविधिसँग सहकार्य नगरी कस्तो प्रवर्द्धन र नियमन चाहिन्छ थाहा हुँदैन। यो सम्मेलनले विश्वभरका संसद्लाई प्रविधि प्रयोग गर्ने र गर्न सक्ने कसरी बनाउने भन्ने विषयमा निचोड दिनुपर्छ।”
राष्ट्रपतिले निकै रोचक रूपले 'एआईका कारण मानव सभ्यता र सुरक्षामा गम्भीर चुनौती आएको र संसद्ले नियमन गर्ने काम चुनौतीपूर्ण हुँदै गएको छ' भन्ने भाष्य र माहोललाई सकारात्मक दिशातर्फ मोडिदिए। उनले बोलिसक्नासाथ सम्मेलनमा सहभागी सांसदहरू उनीसँग तस्वीर खिच्न अनुरोध गर्दै घेर्न थाले।
मलाई लागेको थियो, अब सुरक्षाकर्मीले राष्ट्रपतिलाई भीडबाट निकालेर लैजान्छन् तर त्यस्तो भएन। त्यो भीडमा राष्ट्रपति आफैं अरूको मोबाइल समातेर सेल्फी खिच्न, खिचाउन पो थाले। युवा र प्रविधिमैत्री राष्ट्रप्रमुख भएकै कारण यस्तो व्यवहार सम्भव हुने हो कि जस्तो लाग्यो।
मैले पनि उनीसँग तस्वीर खिचाएँ। उनले कुन देशबाट आएको भनेर सोधें। मैले ‘नेपाल’ भन्नासाथ ‘ओहो, सुन्दर देश, हिमालयको देश’ भने। हामी हलबाट बाहिरिएको करीब बीस मिनेटपछि बल्ल राष्ट्रपतिको सेल्फी सेसन सकियो।
सांसद र भविष्यविद्हरूले देखेको प्रविधिका अवसर र चुनौती
दोस्रो र तेस्रो दिन सम्मेलनमा निकै गहन प्रस्तुति र सघन छलफल भए। प्रविधिको उपयोगमा विश्वका संसद्हरू विभिन्न अवस्थामा रहेछन्। कुनै संसद्ले सूचना प्रवाह, प्रतिवेदन लेखन, नागरिक र सरकारसँगको संवाददेखि संसद्का लागि आवश्यक अनुसन्धान र कानून निर्माणको प्रक्रिया साथै सरकारको नियमन र निरीक्षणमा समेत प्रविधिको नियमित उपयोग गरेका रहेछन्, कुनैले भर्चुअल बैठकलाई नै संसद् बैठकको मान्यता दिने पनि रहेछन् भने कुनै चाहिं भर्खरै डिजिटल प्रविधिसँग परिचित हुँदै रहेछन्। ५० वटा देशको अध्ययनले संसद्ले गरिरहेका करीब २०० वटा काम एआई सम्बन्धी प्रविधिको प्रयोगबाट हुने गरेको देखाएको रहेछ।
नेपालको संसद्ले कस्तो काममा डिजिटल प्रविधि प्रयोग गरेको छ भन्नेबारे मेरो छोटो प्रस्तुति थियो। भर्खरै प्रविधि भित्र्याउँदै गरेको हाम्रो संसद्मा डिजिटल प्रविधि मुख्य रूपमा संसद् सचिवालयले सांसदलाई सूचना प्रवाह गर्न, बोलेका कुरा अभिलेखीकरण गर्न, बनिरहेका कानूनमा नागरिकको सुझाव लिन प्रयोग गरिएको र यसको प्रयोग बढ्दै गएको बताएँ।
इन्टरनेट सम्बन्धी भौतिक पूर्वाधार र डिजिटल प्रविधिको पहुँच नै असमान रहेको, प्रविधि प्रयोग गर्ने दक्षता/क्षमतामा लगानीको आवश्यकता र संसद्को कामकारबाही डिजिटल प्रविधिबाट गर्न पूर्वाधार र कानूनको आवश्यकतादेखि प्रविधिको दुरुपयोग र त्यसमा पनि सामाजिक सञ्जालका असामाजिक कार्यले थपेका चुनौती जस्ता सवाल प्राय: सबै देशका प्रतिनिधिबाट उठे।
भविष्यविद् र सांसदहरूको प्रस्तुतिबाट आएको निचोड हो- हाम्रो पुस्ता एक ऐतिहासिक मोडमा छ, चाहे ती नागरिक हुन् वा नागरिकको प्रतिनिधित्व गर्ने संसद्। एकातिर डिजिटल प्रविधि र एआईको द्रुत विकास छ, अर्कातिर विभिन्न राजनीतिक, सामाजिक र वातावरणीय अवस्था, मूल्यमान्यतामा आइरहेको परिवर्तन छन्।
यसले हाम्रो पुस्तालाई इतिहासको सबैभन्दा रोचक र चुनौतीपूर्ण अवस्थामा पुर्याएको छ। एआई प्रविधि अझ विकसित हुँदै र समाजमा सघन रूपमा भिज्दै जाँदा हामी सकारात्मक आविष्कारहरूको अवसर उपयोग गर्छौं, यसका साथै यसको विकासले लोकतन्त्र र समाजमा निम्त्याउने खतराको पनि सामना गर्नुपर्छ।
एआईले लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरूलाई कस्ता चुनौती दिन्छ भन्नेबारे भर्खरै बुझ्न थालिएको छ। अदृश्य निगरानी, तथ्यांकको गोपनीयता र एआई सञ्चालित 'डिपफेक' ले सत्य, न्याय, मौलिक अधिकार र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउन सक्छ। त्यसैले संसद्मा नवप्रवर्तन र मानव अधिकार दुवैको सन्तुलन र सम्मान गर्ने सूक्ष्म एवम् बहुआयामिक दृष्टिकोण र क्षमता आवश्यक छ।
विकासको क्षेत्रमा पनि प्रविधिले अवसर र जोखिम ल्याउन सक्छ। मानवले आफ्नै दिमाग र हातले गर्ने काम प्रविधिको प्रयोगबाट छिटो र प्रभावकारी रूपमा गर्छ, कृषि तथा उद्योग क्षेत्रको उत्पादन, बजार व्यवस्थापन, विपद्को पूर्व सूचना र राहत उद्धारमा एआईको प्रयोगले सकारात्मक परिणाम आउन थालिसकेको छ। तर यसैको कारण कतिले रोजगारी गुमाउन पनि थालेका छन्। सीमा सुरक्षा, द्वन्द्व वा हतियार व्यवस्थापनमा यान्त्रिक मानवको प्रयोग गर्दा हुन सक्ने मानवीय क्षतिको परिकल्पनासम्म पनि गर्न सकिन्न। कुन क्षेत्रमा कस्तो प्रविधि प्रयोग गर्ने वा रोक लगाउनेबारे अहिले नै भन्न सकिन्न, प्रयोग गरेर सिक्दै जाने हो।
भविष्यको आकलन र समस्या सम्बोधनमा सांसदको भूमिका
वर्तमानमा ‘भविष्यमा प्रवेश’ गर्ने क्षमता बढाउन केही संसद् भविष्यको आकलन गर्ने र भविष्यसँग उचित व्यवहार गर्न प्राविधिक र राजनीतिक नेतृत्व विकास गरिरहेछन्, केही भर्खरै संयन्त्र बनाउँदै छन् भने केहीलाई संसद्मा प्रविधिको प्रयोग नै नौलो छ। द्रुत, अन्तर्क्रियात्मक र कहिलेकाहीं विघटनकारी परिवर्तनहरूले संसारलाई चकित बनाउँदै छन्, यी आश्चर्यजनक परिवर्तनको पूर्वानुमान गर्न राजनीतिक नेतृत्व सक्षम हुनुपर्छ।
एआईको विकासलाई राम्रोसँग बुझ्न, सम्भावित खतरा पत्ता लगाउन, अग्रगामी र सक्रिय स्थानीय एवम् अन्तर्राष्ट्रिय अभ्यास तथा नियमहरू सिफारिश गर्न ज्ञान निर्माणका लागि संसद्ले केन्द्रबिन्दु र सहजकर्ताको काम गर्न सक्छन्।
संसद्हरूले आफ्नो भूमिका निर्वाह गर्न, उनीहरूले आफ्नो काममा भविष्यउन्मुख विधि र दृष्टिकोणहरूलाई एकीकृत गर्न आफ्नो समझ, ज्ञान र क्षमता निर्माण गर्न आवश्यक छ। यो क्षमताको प्रश्न हो, तर राजनीतिक चेतना र इच्छाशक्तिको प्रश्न पनि हो। अब संसदहरूले भविष्य-साक्षरता उन्मुख कार्यतर्फ रूपान्तरण थाल्न सबै अवसर हेर्नुपर्छ।
नेपालतिर फर्कंदा
नेपालले दुई वटा शिक्षा लिन आवश्यक देख्छु। पहिलो, प्राविधिक, वातावरणीय, राजनीतिक, सामाजिक हरेक क्षेत्रमा संसार एकदम छिटो परिवर्तन भइरहेको छ। कानून बनाउने र राज्य सञ्चालन गर्ने निकायहरूले अहिलेको चुनौती मात्रै हेरेर पुग्दैन। भविष्यमा के हुँदै छ सबै अहिले नै थाहा त हुन्न, तर वर्तमानका संकेत हेरेर अनि प्रविधिको प्रयोग गरेर भविष्य कता जाँदै छ भन्ने अनुमान गर्न सकिने रहेछ। भोलिको अवस्थालाई कानूनले कसरी सम्बोधन गर्ने भन्नेबारे अहिले नै आकलन र विश्लेषण गर्ने अनि नवप्रवर्तन र मानव अधिकारलाई सन्तुलित गर्न आवश्यक मापदण्ड र नियमनकारी संयन्त्र बनाउने काम संसद्को रहेछ।
संसार ‘भविष्य’ लाई वर्तमानमा ल्याएर आफ्नो काम गर्दै छ, हामी चाहिं भविष्य र वर्तमानभन्दा पनि वर्षौदेखि थाती रहेका चुनौती नै सम्बोधन गर्न ढिला गर्दै छौं। उदाहरणका लागि, हाम्रो देशमा ईसेवा, हाम्रो बजार, फूडमान्डु जस्ता विद्युतीय माध्यमले सेवा र व्या पार शुरू गरेको एक दशक नाघिसकेको छ। कोभिड महामारीपछि विद्युतीय माध्यमबाट हुने व्यवसाय र सेवा प्रवाहको क्षेत्र व्यापक विस्तार भयो। बल्ल हामी विद्युतीय व्यापारको व्यवस्थापन गर्ने कानूनबारे संसद्मा छलफल गर्दै छौं। जहाँ नवप्रवर्तनका सम्भावना केलाउने र सहजीकरण गर्नेभन्दा बढी नियमन र नियन्त्रणमुखी प्रावधान राख्न खोज्दै छौं। किनकि मेरो अनुभवमा हामीले कानून बनाउँदा हुने छलफल अवसर र सम्भावनाभन्दा चुनौतीमा बढी केन्द्रित हुन्छन्।
प्रविधिले ल्याउने सम्भावनाको उपयोगभन्दा चुनौतीमा केन्द्रित निर्णय गर्ने परम्पराको अर्को उदाहरण हो, नेपाल सरकारले भर्खरै गरेको ‘टिकटक’ प्रतिबन्ध। पक्कै पनि प्रविधि भित्रिंदा अवसर र चुनौती दुवै लिएर आउँछ, टिकटक जस्ता प्रविधिको पनि प्रयोग र दुरुपयोग दुवै भएका छन्। तर यस्ता कुनै पनि प्रविधिको प्रयोगलाई कसरी सकारात्मक परिणाम ल्याउने बनाउने र चुनौती कसरी सम्बोधन गर्ने दुवै पक्षमा सन्तुलित छलफल र कानून बनाउने आवश्यकता हामीले बुझेनौं भने नवप्रवर्तन त मुर्झाउँछ नै, प्रविधि र समाजले हाम्रो कानूनलाई आउटडेट गर्दै अगाडि बढ्छ र नयाँ बाटो खोज्छ। अनि हामी कानून नबन्दै ‘आउटडेटेड’ हुने कि विगत र वर्तमानबाट सिकेर भविष्यमा समेत उपयोगी कानून बनाउने? रोजाइ हाम्रो हातमा छ।
दोस्रो सिकाइ हाम्रा विधिविधान र संयन्त्र सम्बन्धी हो। हाम्रा संसदीय विधिविधान र परम्परागत संयन्त्रहरू प्रतिक्रियात्मक छन्, त्यसैले डिजिटल प्रविधि र एआईको द्रुत प्रगति र जोखिमहरू व्यवस्थापन गर्न सुसज्जित छैनन्। संसदले आगामी दिनमा प्रभावकारिताका लागि पनि प्रविधिको उपयोग बढाउनैपर्छ। त्यसका लागि नयाँ नयाँ प्रविधिप्रति दीर्घकालीन दृष्टि राख्न, जोखिमहरूको व्यवस्थापन गर्न उपायहरू खोज्न र पूर्वाधारहरूमा सकारात्मक एवम् न्यायोचित रूपले परिवर्तन गर्न आवश्यक छ। यस्तो परिवर्तन डिजिटल प्रविधि र एआईले हाम्रो समाजका लागि ल्याउने लाभदायी परिणाम सुनिश्चित गर्न र घातक क्रियाकलाप रोक्न आवश्यक छ।
समग्रमा, उरुग्वे यात्रा मेरो लागि रोमाञ्चक र निकै सिकाइयुक्त रह्यो। जसले आफूले कम जानेको छु, र मैले सिक्नपर्ने धेरै छ भन्ने थाहा पाउँदैन, उसले सिक्ने अवसर गुमाउँछ र ‘आउटडेटेड’ हुन्छ भन्छन्। उरुग्वेको यो सम्मेलनले यो भनाइ चरितार्थ गरेको छ। प्रविधिप्रतिको दृष्टिकोण फराकिलो पार्न यसको प्रयोग गर्नैपर्छ र उरुग्वेका राष्ट्रपतिले भने जस्तै युवाहरूबाट सिक्नैपर्छ।
(राष्ट्रिय सभा सदस्य पौड्याल पूर्व परराष्ट्र मन्त्री हुन्।)