क्यानभासमा जात-व्यवस्था र यौनिकता
दलित समुदायका ३८ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जात-व्यवस्था र यौनिकतालाई क्यानभासमा उतारेका छन्।
नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) समुदायको आन्दोलनमा मात्र नभएर दलित आन्दोलनभित्र समेत जात, लिङ्ग र यौनिकताका विषयमा पर्याप्त बहस हुन सकेको छैन। त्यसैले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा भोग्नुपरेको विभेद विरुद्ध सिर्जनात्मक प्रस्तुति दिन लागिएको जनाएको छ।
दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको कला र क्षमताको उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको सामरी उत्थान सेवाकी कार्यकारी निर्देशक विमला गायकले बताइन्। “दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको अधिकारका लागि सङ्गठित पहल गर्न पनि प्रेरणा दिनेछ,” कार्यकारी निर्देशक गायकले भनिन्।
प्रदर्शनीले जात-व्यवस्थाका कारण दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिमाथिको ऐतिहासिक विभेद र बहिष्करणका अर्थ-राजनीतिक प्रश्नहरूलाई पनि खोतल्ने आयोजकको अपेक्षा छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ मा ‘लिङ्गका आधारमा कुनै पनि व्यक्तिलाई भेदभाव नगरी हरेक व्यक्तिलाई घोषणापत्रमा उल्लिखित सबै अधिकार र स्वतन्त्रता प्राप्त हुनेछ’ भनी उल्लेख छ। नेपालको संविधानले पनि ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक अधिकार’ लाई संवैधानिक रूपमा सुरक्षित गर्ने प्रयास गरेको छ।
तथापि, आजसम्म दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका पक्षमा राज्य र समाज अनुदार भएकै कारण जात र यौनिकताका आधारमा बहिष्करणमा परेका घटना बाहिर आउने गरेको उनीहरूको भनाइ छ।
यसै वर्ष यूएन वुमनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसामा आधारित भएर गरेको अध्ययन प्रतिवेदनका अनुसार यौनिक अल्पसङ्ख्यक दलित व्यक्तिले समुदायभित्र र बाहिर भेदभाव र हिंसा खेप्ने गरेको उल्लेख छ। साथै उनीहरूमाथि अरू समुदायका व्यक्तिभन्दा गम्भीर किसिमका हिंसा हुने सम्भावना रहेको अध्ययनले देखाएको छ।
सामरी उत्थान सेवाले पनि गत भदौमा सातै प्रदेशका २५ जना दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिबीच गरेको एक अध्ययनमा ४४ प्रतिशतले आफू परिवारसँग छुट्टिएर शहरी क्षेत्रमा बसोबास गर्दै आएको बताएका थिए। उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नुपरेको बताए।
त्यस्तै, ४८ प्रतिशतले जातकै आधारमा गैरदलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिबाट समेत हिंसा भोगेको बताएका थिए। त्यसैले यस्ता विभेद, बहिष्कार र हिंसाका विरुद्ध सङ्गठित रूपमा लाग्नु आवश्यक भएको गायक बताउँछिन्।
त्यसैले दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कलाकारले कोरेका चित्रकलाको प्रदर्शनी लागिएको सामरी उत्थान सेवाले जनाएको छ। सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘जात-व्यवस्था र यौनिकता’ शीर्षकमा प्रदर्शन हुन लागेको हो।
यही मंसीर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको प्रदर्शनीकक्षमा चित्रकला प्रदर्शन हुने आयोजक सामरी उत्थान सेवाले जनाएको छ। यसका लागि दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) ३८ जना कलाकारले चित्रकला तयार पारेका छन्।