युवकलाई बेपत्ताको बनाएको आरोप लागेका दुई प्रहरी जेल चलान
रसुवाका एक युवकलाई बेपत्ता बनाएको आरोप लागेका दुई जना प्रहरीलाई धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारूलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको हो। उनीहरूले पक्राउ गरेका एक युवकलाई जिल्ला ल्याउने क्रममा बाटोमै बेपत्ता बनाएको आरोप लागेको थियो।
कुटपिटको घटनामा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका-१, थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय, धुन्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भीरबाट बेपत्ता बनाएको छिरिङको परिवारले आरोप लगाएको थियो।
उनीहरू विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। अदालतले उनीहरूलाई जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश दिएको थियो। धरौटी राख्न नसकेपछि दुवै जनालाई जेल चलान गरिएको हो।
यही घटनामा गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ र स्थानीय बासिन्दा दावा ग्याल्जेन तमाङ विरुद्ध पनि मुद्दा परेको थियो। वडाध्यक्ष उर्केन पाँच लाख र दावा तीन लाख धरौटी बुझाएर छुटेका छन्। “दुई जना धरौटी बुझाएर छुटेका छन्, दुई जना प्रहरीले धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन्,” स्रेस्तेदार मुना अधिकारी ढकालले भनिन्।
जिल्ला अदालतमा पेश भएकाे अनुसन्धान प्रतिवेदन अनुसार गत कात्तिक ५ गते गाउँमा झैझगडा भएको थियो। गाउँमा विवाद नमिलेपछि पासाङलाई कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो। तर उनलाई बाटोमै बेपत्ता पारिएको थियो।
त्यसपछि परिवारजनको जाहेरीका आधारमा कात्तिक १५ गते चारै जनालाई पक्राउ गरेर जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिइएको थियो। यसमा अनुसन्धान गरी प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत मंसीर ६ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भुवनसिंह थापाको इजलासले मंसीर ८ गते पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेश दिएको थियो। वडाध्यक्ष उर्केन र दावाले त्यही दिन धरौटी बुझाएका थिए भने आरोपित प्रहरीले धरौटी बुझाउन सकेका थिएनन्।
आइतबार दुवै जना प्रहरी जवानले धरौटी बुझाउन निवेदन दिएको स्रेस्तेदार ढकालले बताइन्। निवेदन दिएसँगै दुवै जनाको प्रक्रिया अघि बढाइएको उनले बताइन्।